३० भाद्र २०८१, आईतवार

सेती अञ्चल अस्पतालमा विद्युत आपूर्ति अवरुद्ध



धनगढी । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा विद्युत शुक्रबारदेखि आपूर्ति अवरुद्ध भएको छ । प्रदेश नम्बर ७ को एक मात्र रेफरल अस्पतालका रूपमा रहेको अञ्चल अस्पतालमा शुक्रबारदेखि विद्युत आपूर्ति अवरुद्ध हँुदा अस्पतालबाट प्रवाह भइरहेका सेवाहरू प्रभावित भएका छन् ।

फाइल तस्बिर

अस्पतालमा विद्युत आपूर्ति गर्ने ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत आपूर्ति अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ ।
विद्युत आपूर्ति बन्द हुँदा अस्पतालमा एक्स–रे, ल्याव तथा अपरेशन कक्ष प्रभावित भएका छन् । त्यस्तै, अस्पतालमा उपचार गराइरहेका विरामी तथा कुरुवाले सास्ती बेहोर्नु परेको छ ।
प्रदेश नम्बर ७ को अपेक्षाकृत रूपमा आधुनिक उपचार सेवासुविधा भएको मानिएको सेती अञ्चल अस्पतालमा प्रदेशका प्राय: सबै जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
बिरामीका कुरुवाहरूले विद्युत आपूर्ति बन्द हुँदा प्रचण्ड गर्मीको मौसममा अस्पतालभित्र बस्न समेत कठिनाई हुने गरेको बताए । अन्य समयमा पनि अस्पतालमा बत्ति आउने जाने भइरहने हुँदा सास्ती भोग्नु परेको बिरामी तथा तिनका कुरुवाहरूको अनुभव छ । बिरामी तथा तिनका कुरुवाहरूले विद्युत आपूर्ति छिटो पुन: सुचारु गराउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।
विद्युत सेवा अवरुद्ध भएपछि अस्पतालले जेनरेटरले काम चलाइरहेको छ । तर, जेनरेटरले धान्न नसक्ने भएकाले धेरैजसो सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । विद्युत आपूर्ति अवरुद्ध हँुदा विशेषगरी ल्याव टेस्ट, आईसियु, इसीजी, एक्सरे लगायतका सेवा प्रभावित भएकाले कतिपय बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्था सिर्जना भएको अस्पतालका ईमरजेन्सी वार्ड ईञ्चार्ज कृष्ण बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार