५ जेष्ठ २०८१, शनिबार

असुरक्षित छन्, चिकित्सकहरू



धनगढी । फागुन ६ गते आइतबार डोटी जिल्ला अस्पतालका डाक्टर जीतेन्द्र सिंहमाथि हातपात भयो । हातपातका कारण उनको टाउको, नाक, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । माथिल्लो एउटा दाँत भाँचिएको छ । डाक्टर सिंहले विरामीलाई ‘एकछिन पर्खन’ आग्रह गरेको तर, बिरामीले नै पटकपटक अभद्र व्यवहार गरेको बताए ।
२०७३ जेठ २३ गते बैतडी जिल्ला अस्पतालका डाक्टर गुणराज अवस्थीमाथि एम्बुलेन्स नदिएको आरोप लगाउँदै दुव्र्यवहार (कालोमोसो दलियो) भयो ।

डाक्टर जीतेन्द्र सिंह

२०७३ फागुन २९ गते सेती अञ्चल अस्पताल धनगढीको ईर्मेजेन्सीमा राति तोडफोड भयो । विरामीको उपचार गर्नमा ध्यान नदिएको भन्दै अस्पतालमा आएका कुरुवाहरूले तोडफोड गरेका थिए ।
माथि उल्लेखित केही अस्पताल तथा चिकित्सकमाथि भएको अभद्र व्यवहारको प्रतिनिधित्व घटनामात्र हुन् । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सकहरू विरामी तथा विरामी कुरुवाहरूबाट असुरक्षित बन्दै गएका छन् । कतिपय बिरामी, उनका कुरुवा तथा आफन्तको अभद्र व्यवहारका कारण उनीहरू त्रसित बन्दै गएका छन् ।
अरूको उपचार गर्दै आएका डोटी जिल्ला अस्पतालका डाक्टर सिंह अहिले आफै उपचार गराइरहेका छन् । डोटी जिल्लाको केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी दरबन्दी रहेका मेडिकल अधिकृतडाक्टर सिंह जिल्ला अस्पतालमा एक महिनाका लागि काजमा आएका थिए ।
‘दिउँसो साढे २ बजेतिर भिडियो एक्स–रे भइरहेको थियो । लाइनमा थुप्रै थिए । एक जना बिरामीको पालो १४–१५ जनापछि थियो । ती बिरामी सुरुदेखि नै कोठाभित्र छिरेर किचकिच गरिरहेका थिए । धेरै पटक बाहिर बस्नुस् भन्दा पनि मानिरहेका थिइनन् । निरन्तर कराई मात्र रहेका थिए’ अनुमोदन दैनिकसँगको टेलिफोन कुराकानीमा डाक्टर सिंहले भने– मैले ३–४ चोटी ‘बाहिर गएर बस्नुस् पालो आएपछि बोलाउँला’ भने तर पनि मानेनन् । त्यसपछि उनको भिडियो एक्सरे गर्ने पालो आयो । त्यति बेलासम्म हामीसँग उनको बोल्ने तरिका ठिक थिएन । थर्काएर ‘राम्रोसँग गर’ भन्न थाले । मैले उनलाई ‘म मेडिकल अधिकृत हो, भिडियो एक्सरे कै विषय पढेको विज्ञ डाक्टर होइन्’ भनिरहेको थिएँ’ ।
डाक्टर सिंहले ती विरामीलाई आफूमाथि शंका लाग्छ भने अन्यत्र जान पनि सुझाव दिएको बताए । विरामीको एक्सरे गरेपछि पनि उनीहरूले गुनासोको पोको ल्याएको डाक्टर सिंहले बताए । उनका अनुसार विरामीलाई उनले पैसा फिर्ता गरेर ओपिडिमा गएको र ओपिडिमै विरामीका आफन्तले किचकिच गरेर हातपात गरेका थिए ।
अस्पतालमा अभद्र व्यवहार गर्नेहरूलाई आममाफी मगाई छोड्ने प्रवृतिले चिकित्सकमाथि दुव्र्यवहार बढ्दै गएको सम्बन्धित चिकित्सकहरूको गुनासो छ । डाक्टर सिंहलाई आक्रमण गर्ने विजयसिंह बिष्ट, टेकबहादुर विष्ट लगायतलाई प्रहरीले पक्राउ गरेको भए पनि माफीमा छोड्न एउटा राजनीतिक दलले दवाव दिएको बताइन्छ ।
एक वर्षअघि डाक्टर अवस्थीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै केही दिन आकस्मिक सेवाहरू बन्द गरिए । तर राजनीतिक दबावपछि आक्रमणकारी छुटे । सेती अञ्चल अस्पतालमा भएको तोडफोडमा क्षति भएको संरचनालाई मर्मत गर्ने भनेर छोडियो ।
नेपालको संविधानले स्वास्थ्य सेवा प्रवाहमा बाँधा अड्चन पुर्‍याउने जो कोहीलाई पनि कारबाहीको व्यवस्था गरेको छ तर, व्यवहारिक रूपमा भने दोषीलाई उन्मुक्ति दिने परिपार्टी बढ्दै गएको छ ।
बैतडी जिल्ला अस्पतालका डा. अवस्थीले ७ नम्बर प्रदेशका सबै अञ्चल अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कार्यरत चिकित्सकहरू असुरक्षित रहेको बताए । ‘हामी दुर्गममा बसेर पनि आम सर्वसाधारण जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न चाहन्छौं’ डा. अवस्थीले भने ‘तर, हामीमाथि हुने दुव्र्यवहारले हाम्रो मनोवल घटाउँदै लगेको छ ।’ उनले चिकित्सकमाथि दुव्र्यवहार गर्ने, धम्की दिने लगायतका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै ‘घटनाको सत्यतथ्य छानविन गरी जो दोषी देखिन्छ (चिकित्सको गल्ती छ भने चिकित्सकलाई, स्थानीय सरकार दोषी छ भने स्थानीय सरकार, अभिभावक वा विरामी दोषी छन् भने उनीहरूलाई) कारबाही गर्न जरुरी छ ।
‘अहिले अस्पताल र चिकित्सकलाई हेर्ने दृष्टिकोणनै परिवर्तन भएको छ’ चिकित्सक संघ कैलालीका अध्यक्ष डा. प्रमोद जोशीले भने ‘अहिले अराजकता बढेको छ । स्वास्थ्य सेवालाई आर्दशको हिसावले हेर्न छोडिएको छ ।’ उनले एक जना चिकित्सकले दुई सय भन्दा बढी विरामीसँग प्रत्यक्ष संलग्न हुनुपर्ने बाँध्यता रहेको बताउँदै ‘सीमित स्रोत साधन र जनशक्तिले गम्भीर र सामान्य विरामी हेर्नुपर्ने हुन्छ त्यतिखेर विरामीहरू आक्रासित हुने गरेका छन् ।’
उनले चिकित्सकहरूलाई सुरक्षाको कुनै आधारहरू नभएको बताए । उनले चिकित्सकलाई सुरक्षाको अनुभूति गराउन कडा कानुन आवश्यक रहेको बताए ।

 

सुरक्षाको माग गर्दै डाक्टरहरू राजधानीतर्फ
सुरक्षाको माग गर्दै डोटी जिल्लामा कार्यरत तीन जना डाक्टर बुधबार राजधानीतर्फ गएका छन् । नेपाल चिकित्सक संघले सुरक्षा नभएको भन्दै डोटी जिल्लामा कार्यरत सबै डाक्टरलाई काठमाडौं बोलाएपछि उनीहरू पनि त्यतातिर गएको बताइएको छ ।
गत आइतबार घाइते भएका केदार अखेडा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीतेन्द्र सिंह, लक्ष्मीनगर स्वास्थ्य केन्द्रका डाक्टर राजकुमार विक र शैलेश्वरी अस्पतालका डाक्टर सुरज रिजाल राजधानी गएको डोटी जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले बताए ।
उनले केही दिनमा आफू पनि काठमाडौं जाने तयारीमा रहेको बताए । आज (बिहीबार) स्वास्थ्यका केही काम सकेर राजधानी जाने उनले बताए ।
बिरामीको उपचारमा खटिएका डाक्टरमाथि सांघातिक हमला हुन थालेको भन्दै संघले सबै डाक्टरलाई काठमाडौं केन्द्रीय कार्यालयमा बोलाएको जनाइएको छ ।
‘चिकित्सकीय मर्यादा पालना गर्दागर्दै चिकित्सकमाथि नै सांघातिक हमला गरी गम्भीर घाइते बनाइएको घटनाका सम्बन्धमा समेत कपोलकल्पित आरोप लगाउँदै उल्टै चिकित्सकलाई बदनाम गर्ने, भौतिक कारबाही गर्छौं भन्दै मानसिक तनाव दिने गरिएको छ’ संघका महासचिव डाक्टर लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– डोटी जिल्लामा रहनु भएका सम्पूर्ण चिकित्सकुले यस प्रकारको त्रासदीपूर्ण वातावरणमा स्वास्थ्य सेवा निर्वाध रूपमा प्रवाह गर्न नसक्ने विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण चिकित्सकलाई संघको केन्द्रीय कार्यालयमा आउन अनुरोध गरिन्छ ।
बिरामीको उपचारमा खटिएका डाक्टर जीतेन्द्रकुमार सिंहमाथि आइतबार कुटपिट भएको थियो । उनको हात, ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ भने दाँतसमेत भाँचिएको छ । उक्त घटनाको विरोधमा जिल्लाका डाक्टरले मंगलबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ । संघले जिल्लालाई भयरहित नबनाएको खण्डमा चिकित्सकुको सुरक्षाका लागि देशैभरि विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

 

अस्पतालमा न्यून सुरक्षा
७ नम्बर प्रदेशमा एक उपक्षेत्रीय अस्पताल, दुई अञ्चल अस्पताल र १२ वटा जिल्ला अस्पताल रहेका छन् । तर, अधिकांसको सुरक्षा अवस्था दयनीय रहेको सम्बन्धित अस्पतालका प्रमुखहरूले गुनासो गरेका छन् ।
‘अस्पतालमा दुर्घटना, आत्महत्या लगायतका घटना हेर्नलाई एक जना हवल्दार खटाइएको छ’ बैतडी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अवस्थीले भने– ‘अस्पतालमा कुनै विरामीका आफन्तले अभद्र व्यवहार गरेमा हवल्दारलाई पनि अप्ठ्यारो हुने गरेको छ ।’ उनले अस्पताल धेरै संवेदनशील भएकाले सुरक्षा निकायहरू पनि गम्भीर हुनुपर्ने बताए ।
धनगढीस्थित सेती अञ्चल अस्पतालमा अहिले दुई जना प्रहरी हवल्दार राखिएको छ । उनीहरूले अस्पताल भित्रका गतिविधिहरू जिल्ला, क्षेत्रमा जानकारी गराउने काम रहेको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।
‘अस्पतालमा आकस्मिक सुरक्षा आवश्यक भए हामीले जिल्लाबाट टोली खटाउने गरेका छौं’ प्रहरी प्रमुख घिमिरेले भने– ‘अस्पतालभित्र सुरक्षाका लागि खटाउन हामीसंग जनशक्ति छैन् ।’
डोटी जिल्ला अस्पतालका डाक्टर सिंहले प्रहरी र स्थानीयको सहयोगका कारण नै आफू जोगिन सफल भएको अनुभव सुनाए ।
बझाङ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप रेग्मीले अस्पतालमा काम गर्ने चिकित्सकहरूलाई सुरक्षाको अनुभूति गराउन जरुरी रहेको बताए । ‘अस्पतालमा विभिन्न प्रकारका मानिसहरू आउँछन्’ उनले भने– ‘कोही जाँडरक्सी खाएर आउँछन्, त कोही अभद्र व्यवहार गर्नेहरू हुन्छन् । कतिलाई हामीले सम्हाल्न सक्छौं, तर केहीबाट हामीले दुव्र्यवहार सहनुपरेको छ ।’
कतिपय चिकित्सक आक्रमण घटनामा स्वयं चिकित्सकहरूको पनि लापरबाही हुने गरेको विरामीहरूको गुनासो छ । चिकित्सकहरूले समयमै उपचार नगर्ने, अस्पतालमा आएका विरामीहरूको हेलचेक्राई गर्ने लगायतका कारणले पनि चिकित्सकहरूमाथि आक्रमण हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार