६ कार्तिक २०८१, मंगलवार

हात्तीपाइले नियन्त्रण अभियान अझैं चुनौतिपूर्ण



धनगढी । हात्तीपाइले रोग नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम अझैं चुनौतिपूर्ण रहेको पाइएको छ । प्रदेश नम्बर ७ मा लगातार पाँच वर्षसम्म हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम रहेकोमा तराईका जिल्लामा उपलब्धी अझैं निराशाजनक रहेको तथ्यांकले देखाएको छ ।
७ नम्बर प्रदेशको नौ वटै जिल्लामा सरकारले सन् २०१३ देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो । औषधि खुवाउने कार्यक्रम पाँचौ चरण पुरा गरी छैठौं चरणमा प्रवेश गरिरहेको अवस्थामा प्रदेश नम्बर ७ का तराईका जिल्लामा कार्यक्रमको उपलब्धी निराशाजनक देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दिपायलले जनाएको छ ।
सरकारले सन् २०२० सम्म हात्तीपाईले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट सो रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।
सरकारले सन् २०१८ भित्र हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने लक्ष्य सहित विविध कार्यक्रम गरिरहेको छ । देशका ३० वटा जिल्लामा अहिले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागको टोलीले कात्तिकको तेस्रो साता ७ नम्बर प्रदेशको नौ वटै जिल्लामा रगत परीक्षण गर्दा कैलाली र कञ्चनपुरमा संक्रमण दर दुई प्रतिशतभन्दा बढी देखिएको बताइएको छ ।
७ नम्बर प्रदेशको डडेल्धुरा, अछाम, डोटी, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हात्तीपाइलेको संक्रमण दर दुई प्रतिशतभन्दा कम देखिए पनि कैलाली र कञ्चनपुरमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
परीक्षणले कञ्चनपुरमा सन् २०१३ को तथ्यांकअनुसार हात्तीपाइलेको संक्रमण दर २० प्रतिशत थियो भने भर्खरै गरिएको सर्वेक्षणले संक्रमण दरमा सुधार भएको देखाएको छ । कञ्चनपुरमा अहिले दुई दशमलव आठ संक्रमण दर रहेको छ ।
कैलालीमा भने सन् २०१३ को तुलनामा संक्रमण दर वृद्धि भएको देखाएको छ । सन् २०१३ मा कैलालीमा छ दशमलव संक्रमण दर रहेकोमा भर्खरै गरिएको अध्ययन अनुसार छ दशमलव ३३ प्रतिशत संक्रमण दर रहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १०, ११ र १२ (साविकको पहलमानपुर गाविस) र लम्की नगरपालिकाको वडा नम्बर ६, ८ र १० (साविकको चुहा गाविस) का छ सय जनाको रक्त परीक्षण गर्दा ३८ जना अर्थात् ६ दशमलव ३३ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, कञ्चनपुरको बेलौरी र कृष्णपुर नगरपालिकाका छ सय चार जनामध्ये ११ जनामा संक्रमण रहेको पाइएको थियो । यो संक्रमण दर दुई दशमलव आठ प्रतिशत हुन्छ ।
टोलीमा रहेका कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले प्रभावित दुई जिल्लामा अझै दुई पटकसम्म र अन्य जिल्लामा यो पटक हात्तीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
भेक्टर कन्ट्रोल सुपरभाईजर भट्टका अनुसार सन् २०१३ र हाल गरिएको अध्ययन शैली फरक रहेको हुँदा कैलाली जिल्लामा कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिएको बताए ।
हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफ्नै उपस्थितिमा खुवाइएको थियो । विगतका वर्षमा हात्तीपाइलेको औषधि घरघरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण यस्तो अवस्था आएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले बताए । हात्तीपाइलेको औषधि खाँदा हुनसक्ने असरबारे स्वास्थ्यकर्मीले राम्रोसँग बुझाउन नसकेको उनले बताए ।
बरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंका अनुसार हात्तीपाइलेको औषधि खाँदा मान्छेको मृत्युसम्म भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत प्रचारका कारण औषधि लिने, तर नखाने समस्या रहेको छ । हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र वाकवाकी लाग्ने प्रतिअसर देखिन सक्छ ।
पाँच वर्ष लगातार औषधि खुवाउँदा पनि कैलालीमा ६ प्रतिशतभन्दा बढी हात्तीपाइले पोजेटिभ देखिएपछि हात्तीपाइले औषधि खुवाउने कार्यक्रम प्रभावकारितामाथि प्रश्न उठेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार