२३ बैशाख २०८१, आईतवार

घोषणामा सीमित ध्वनी प्रदूषण निषेध क्षेत्र



धनगढी । केही महिनाअघि हर्न निषेधित घोषणा गरिएका अत्तरिया र धनगढीका केही क्षेत्रमा सो घोषणा थोरै पनि लागू हुन सकेको छैन ।
साँघुरो बाटो, सवारी साधनको चाप र हर्न निषेधित क्षेत्रबारे जानकारी नहुँदा प्राय: सवारी चालकले हर्न बजाउने गरेका छन् ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले असार १ गतेदेखि कैलालीको अत्तरिया र धनगढीको केही क्षेत्रलाई हर्न निषेधित क्षेत्र तोकेको छ । हर्न निषेधित क्षेत्र तोकेको एक महिनाबढि भइसक्दा पनि प्रभावकारी रूपमा लागू हुनसकेको छैन ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अत्तरिया बजारमा हर्न निषेधित तोकेको एक हप्तापछि धनगढीमा पनि हर्न निषेधित क्षेत्र तोकेको थियो ।
धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित क्षेत्र तोकिएको छ ।
त्यस्तै, गोदावरी नगरपालिकाको अत्तरिया चौकभन्दा पूर्वमा सशस्त्र प्रहरी बलको पेट्रोल पम्प, पश्चिममा गोदावरी पुल, उत्तरमा दक्षिणकाली पेट्रोल पम्प र दक्षिणमा पाठक पेट्रोल पम्पसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र तोकिएको छ ।
‘हर्न निषेधित क्षेत्र तोक्नु राम्रो हो’ स्थानीय राम विकले भने– ‘यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने हो भने ध्वनी प्रदुर्षणबाट मानिसले भोग्नु परेको धेरै समस्या समाधान हुने थियो ।’ उनले यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न ट्राफिकले सचेतनाका कार्यक्रम अघि बढाउनु पर्ने बताए ।
स्थानीय उमेश सापकोटाले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बिना योजनानै हर्न निषेधित क्षेत्र तोकेको दाबी गरे । ‘धनगढी र अत्तरियामा सवारी साधनको संख्या दिनप्रति दिन बढ्दै गएको छ, तर सडकको स्तरोन्नती हुन सकेको छैन’ उनले सवारीको चापले गर्दा हर्न निषेधित क्षेत्रमा हर्न नबजाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने बताए ।
स्थानीयहरू सडकको स्तरोन्नती गरेर मात्र हर्न निषेधित क्षेत्रमा हर्न बजाउनेलाई कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिए ।
हर्न निषेधित क्षेत्रमा आजभोली सवारी चालकले हर्न बजाउने मात्रै हैन, हर्न निषेधित क्षेत्र घोषणाबारे आफूलाई जानकारी नभएको गुनासो गर्ने गरेका छन् । पर्याप्त मात्रामा प्रचारप्रसार र सचेतना फैलाउन नसक्दा हर्न निषेधित क्षेत्र घोषणा घोषणामा मात्रै सीमित रहेको उनीहरूको गुनासो छ ।
‘हर्न निषेधित क्षेत्र नतोक्नु भन्दा अघिको तुलनामा अहिले धेरै सुधार आएको छ’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रमेश थापाले भने, ‘हर्न निषेधित क्षेत्रमा हर्न बजाउनेलाई अहिले हामीले सचेत गराईरहेका छौं ।’ उनका अनुसार क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले एक महिनाको अवधिमा झण्डै तीन हजार व्यक्तिलाई सचेत गराइसकेको छ ।
‘अहिलेनै हामीले कारबाही प्रक्रिया अघि बढाउने सोचमा छैनौ’ उनले भने, ‘साँघुरो सडकको व्यवस्थापन भएमा हामीले कारबाही प्रक्रिया अघि बढाउँछौं । अहिले हामीले सवारी चालकलाई सचेत गराइरहेका छौं ।’
उनले सडक साँघुरो, सवारी साधनको संख्या बढ्दै जानु र ट्राफिक प्रहरीमा जनशक्ति अभाव हुनुले व्यवहारिक रूपमा लागू हुन नसकेको बताए । ध्वनी प्रदुर्षणलाई न्यूनीकरण गर्ने उद्देश्यले हर्न निषेधित क्षेत्र तोकिएकाले सवारी चालकहरूले सचेत भएमा यसको व्यवहारिक रूपमा कार्यान्वयन भएको महशुष हुने ट्राफिक प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार