१० श्रावण २०८१, बिहीबार

धनगढी प्रिमियर लिग: बिराटनगर फाइनलमा प्रवेश, इलिमिनेटरमा धनगढी विजयी



धनगढी । विराटनगर किंग्स धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा पुगेको छ । बुधवार रूपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । यस वर्षको डिपिएलमा सबैभन्दा कम स्कोरमा समेटिएको रूपन्देहीले फाइनलमा पुग्नका लागि बिहीबारको खेल जित्नु पर्ने भएको छ ।
टस जितेर ब्याटिङ गरेको बिराटनगर किंग्सले दिएको एक सय २९ रनको लक्ष्य पछ्याउने क्रममा रूपन्देही ९९ रनमा अलआउट भएको थियो । रूपन्देहीमाथि २९ रनको विजय प्राप्त गर्ने क्रममा बिराटनगरका बलरहरूले कसिलो तथा अनुशासित बलिङ गरेका थिए । बिराटनगरका सुशील कँडेलले चार ओभरमा एक मेडन ओभर राख्दै १५ रन मात्रै खर्चेर चार विकेट लिए ।
त्यस्तै, सन्दीप लामिछानेले चार ओभरमा ११ रन दिएर दुई विकेट लिएका थिए भने दीपेन्द्र ऐरीले चार ओभरमा एक मेडन ओभर सहित जम्मा ७ रन दिएर एक तथा पवन सर्राफले दुई ओभरमा आठ रन दिएर एक विकेट लिएका थिए ।
यसअघि शरद भेषवाकरको कप्तानीमा रहेको बिराटनगरले २० ओभरमा नौ विकेट गुमाएर एक सय २८ रन बनायो । बिराटनगरले पहिलो ओभरमै एक विकेट गुमाए पनि त्यसपछि सम्हालिएर खेल्यो । बिराटनगरका आरिफ शेखले दुई छक्का र तीन चौका हिर्काउँदै ३६ रन बनाए । कप्तान शरदले २२ बलमा दुई छक्का सहित २४ रन बनाए । त्यस्तै, पवन सर्राफले १५ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए ।
बलिङतर्फ रूपन्देहीका कप्तान शक्ति गौचनले तीन र दीपेश श्रेष्ठले २ विकेट लिए ।
जवाफमा रूपन्देही २० ओभरमा सबै विकेट गुमाएर ९९ रनमा समेटियो । रूपन्देहीका लागि आठौँ नम्बरमा ब्याटिङ गर्न आएका विक्रम सोवले १६ बलमा एक छक्का र दुई चौकासहित २३ तथा चौथो नम्बरका पुष्प थापाले २४ बलमा एक छक्का र तीन चौका हिर्काउँदै २२ रन बनाए । तर बाँकी खेलाडीले दोहोरो अङ्क समेत बनाउन नसकेपछि लिग चरणका लगातार चार खेल जितेको रूपन्देही पराजित हुनुपर्‍यो ।
बुधवार नै भएको इलिमिनेटरमा पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहले काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले दिएको एक सय २४ रनको लक्ष्य धनगढी टिम चौराहले १० बल बाँकी छँदै चार विकेट क्षतिमा पुरा गर्‍यो । जीतसंगै धनगढी टिम चौराहा क्वालिफायरमा प्रवेश गरेको छ । अब फाइनलमा पुग्नका लागि धनगढीले रूपन्देही च्यालेन्जरलाई पराजित गर्नुपर्ने छ ।
इलिमिनेटरमा टस काठमाडौँले जितेर ब्याटिङको निर्णय गर्‍यो । वसन्त रेग्मीको नेतृत्वमा रहेको काठमाडौँ गोल्डेन्सले २० ओभरमा छ विकेट क्षतिमा एक सय २३ रन बनाएको थियो । काठमाडौँका सुमित महर्जन र रोहित पौडेलले ३१/३१ रन बनाएका थिए भने नरेश बुढाऐरले २९ रन तथा सुवेन्दु पाण्डेले ११ रन जोडे । टिम चौराहाका अमर रौतेला र ललित राजवंशीले दुई/दुई विकेट लिएका थिए ।
जवाफमा आरिफ शेखले १९ औँ ओभरको दोस्रो बलमा विजयी चौका हिर्काए । धनगढी टिम चौराहलाई सहज जित दिलाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डलले ४९ बलमा पाँच चौका र एक छक्कासहित ४४ रनको महत्त्वपूर्ण पारी खेले । त्यस्तै, आरिफले ११ बलमा दुई चौका र दुई छक्का सहित अविजित २२ रन बनाए । पृथु बास्तोलाले पनि दुई चौका र एक छक्का हान्दै २२ रन बनाए ।
डिपिएलको फाइनलमा प्रवेशका लागि आज (बिहीबार) धनगढी र रूपन्देहीबीच खेल हुने छ ।
धनगढी क्रिकेट एकेडमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा गत चैत्र २७ गतेबाट सञ्चालन भइरहेको डिपिएलमा देशभरिका छ सहरका छ टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार