१० श्रावण २०८१, बिहीबार

‘मुलुकको समृद्धिका लागि जागरुक युवा वर्ग आवश्यक’



धनगढी  ।  ‘नेपालको आर्थिक विकास र समृद्धिका लागि जागरुक युवाको अहम् भूमिका छ । युवा वर्गको इच्छा, आकाङ्क्षा, हौसला र जागरुकताले नै राष्ट्र निर्माण हुन्छ’ वरिष्ठ कूटनीतिज्ञ रमेशनाथ पाण्डेले भने– ‘राष्ट्रलाई विकास गर्ने वा विनाश गर्ने भन्ने युवाकै हातमा हुन्छ ।’
पूर्व परराष्ट्रमन्त्री समेत रहेका वरिष्ठ कूटनीतिज्ञ पाण्डे शनिवार धनगढी जेसिजले धनगढीमा आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए । धनगढी जेसीजले कूटनीतिज्ञ पाण्डेद्वारा लिखित ‘कूटनीति तथा राजनीति’ विषयक् पुस्तकको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । ‘इतिहासमा जे जति पनि राम्रा नराम्रा परिवर्तन भएका छन्, ती सबै युवाहरूबाटै भएका छन् ।
‘तपाईभन्दा अघिल्ला पुस्ताले गरेका सबै काम नराम्रा मात्रै थिए भन्ने होइन, उनीहरूले गरेका राम्रा कामलाई आत्मसात गरेर अझ सुधार गर्नेतिर लाग्नुस्’ उनले युवाहरूलाई सल्लाह दिए– ‘यदि तपाईहरू राष्ट्रलाई आर्थिक समृद्धितर्फ अघि बढान चाहनुहुन्छ भने अघिल्ला पुस्ताले गरेका गल्तीलाई हटाएर अघि बढ्नुस् ।’
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा प्रवेश गरिसक्दा पनि अझैं राजनीतिक मुद्दाको टुंगो लाग्न नसकेको उनले चर्चा गरे । ‘नेपालमा संसदीय व्यवस्था, निर्दलीय व्यवस्था, एक दलीय, बहुदलीय सबै खाले राजनीतिक प्रणाली लागू भए, तर अझै पनि टुंगो लाग्न सकेको छैन’ उनलको निष्कर्ष छ– ‘दोष शासन पद्धतिको होइन, नेतृत्व नै जवाफदेही नहुनु हो ।’ उनले नेतृत्वमा रहेकाहरू जनता तथा राष्ट्रप्रति जवाफदेही हुनुको साटो आफू अनुकूल काम गर्ने प्रवृत्तिका कारण राष्ट्र कमजोर बन्दै गएको चर्चा गरे ।
वरिष्ठ कूटनीतिज्ञ पाण्डेले नेपालको भूराजनीतिक अवस्था र चुनौती र सम्भावनाबारे विश्लेषण गरे । ‘हाम्रा दुई विशाल छिमेकी भारत र चीनबीच मित्रता र सहयोग बढेको छ । ‘भारत र चीन दुवैबीच विश्वशक्ति प्राप्त गर्ने होडबाजी छ’ उनको विश्लेषण छ– ‘यी दुई विशाल राष्ट्रबीचको प्रतिस्पर्धाले नेपाललाई चुनौती र अवसर दुवै छ । उनले नेपालले चीनसँग मिलेर गए पनि अथवा बिछोड भए पनि दुवै अवस्थामा जोखिम रहेको बताए ।
कार्यक्रममा शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्तले पुस्तकको टिप्पणी गर्दै २००७ सालको जनक्रान्तिदेखि २०६४ सालमा भएको गणतन्त्र घोषणासम्मका राजनीतिक परिवर्तनको घटनाक्रम र सन्दर्भलाई विस्तृत रूपमा विश्लेषण गरिएको बताए ।
कार्यक्रममा प्राध्यापक डिल्लीराज जोशीले २०१७ पहिलेको नेपालको बदलिदों राजनीतिक घटनाक्रमहरूको साक्षी समेत रहेका लेखक पाण्डेले प्रजातन्त्र प्राप्तिपछिको नेपालको बदलिँदो राजनीति र बदलिएको सामाजिक परिवेशको चर्चा समेटिको बताए ।
उनले प्रविधिको विकास, सामाजिक सञ्जालप्रतिको युवाको असीम मोह लगायतका कारण पुस्तक पढ्ने बानी कम हुँदै गएको गुनासो गरे ।
पुस्तकले इतिहास, राष्ट्रको समस्या, अवस्था लगायतका बारेमा ज्ञान दिने भएकाले युवाहरूलाई पुस्तक नियमित पढ्न आग्रह गरे ।
कार्यक्रममा समाजसेवी सत्यराज पनेरूले देशमा अझै पनि राजनीतिक अस्थिरता कायम रहेको बताए ।
धनगढी जेसिज अध्यक्ष टेकराज पनेरूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लोकेन्द्र पनेरूले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव श्याम पाठकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार