११ बैशाख २०८१, मंगलवार

म हावादारी कुरा गर्दिन, जे गर्न सक्छु त्यो मात्रै बोल्छु



‘म कहिल्यै पनि हावादारी कुरा गर्दिन, जे काम गर्न सक्छु, त्यो मात्रै बोल्ने गर्छु’ दिनहुँ बिहान करिब तीन घन्टा समाजका विभिन्न पक्षसँग घनिभूत छलफल तथा अन्तरक्रियामा व्यस्त रहँदै र अबेर रातिसम्म दर्जनौ चुनावी सभा, घरदैलोमा सहभागी बन्ने गरेकी डाक्टर आरजु राणा देउवाको स्पष्ट र सरल रूपमा धाराप्रवाह भाषण सुन्न हरेक सभामा भीड लाग्ने गरेको छ । प्राय: सभामा युवादेखि बृद्ध उमेरका महिलो बाक्लो भीड लाग्ने गरेको छ । उहाँको बोलीमा अभूतपूर्व दृढता र विश्वास झल्किन्छ । निकै विश्वासका साथ नेपाली काँग्रेसका राजनीतिक एजेण्डा, राजनीतिक परिस्थितिको विश्लेषण गर्नुहुन्छ । र, उत्तिकै विश्वासका साथ निर्वाचन क्षेत्र, जिल्ला र समग्र सुदूरपश्चिमको आर्थिक समृद्धिका योजनाहरू प्रस्तुत गर्नुहुन्छ । ‘मैले अरूहरू झैं हावादारी कुरा गर्न सक्दिन’ उहाँ भन्नुहुन्छ– तपाईंहरूलाई थाहा छ नि तपाईंको शेरबहादुर देउवा कति रिसाउनु हुन्छ भनेर, अझ म त उहाँको श्रीमति पनि हो, यदि मैले हावादारी कुरा गरे भने मैले उहाँबाट दोब्बर हप्काई खेप्नुपर्छ ।

डाक्टर आरजु राणा देउवा
नेपाली काँग्रेस प्रतिनिधि सभा सदस्य उम्मेदवार
कैलाली क्षेत्र नम्बर ५

मनोविज्ञानमा पिएचडी गर्नुभएकी डाक्टर आरजुले लामो समय अध्यापन गर्नुभएको छ । लामो समयदेखि संघसंस्थामार्फत स्वास्थ्य, मातृशिशु स्वास्थ्य, विकास, महिला अधिकारका क्षेत्रमा क्रियाशील हुनुुहुन्छ । २५ वर्षअघि काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासंग विहे गर्नुभएकी उहाँ अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ । उहाँले यो क्षेत्रबाट उम्मेदवारी पाउने चर्चा चलेयता अहिलेसम्म यो क्षेत्र देशभरी नै चासोको विषय बनेको छ । चुनावी सरगर्मी बढ्दै जाँदा उहाँको प्रस्तुति र व्यक्तित्वप्रति मतदाताको आकर्षण पनि झ्यांगिदै जान थाल्यो । अनि उहाँमाथि अराजनीतिक शब्द आक्रमण शुरु भयो । प्रतिद्वन्द्वीबाट उहाँलाई ‘टुरिष्ट उम्मेदवार’ भनियो । यो शब्दबाट पीडा महसुस गर्नु भएकी डाक्टर आरजुको प्रतिक्रिया थियो– मैले विहे गरेर सुदूरपश्चिम आएको २५ वर्ष भयो । हाम्रो समाजमा महिलाले जहाँ विहे गरेर गयो, त्यही घर मानिन्छ । मलाई टुरिस्ट भन्नेहरू हो, तपाईका घरमा पनि बाहिरबाट विहे गरेर आमा, बुहारी आउनु भएका होला, त्यसैले आफ्ना घरका आमाबुहारीलाई टुरिष्ट नभन्नु होला । उहाँको अभिव्यक्तिमा ‘टुरिष्ट’ शब्दले भित्रैसम्म पीडा दिएका झल्किन्छ । उहाँले धेरै पटक दोहोर्‍याउनु भएको छ– म सुदूरपश्चिमकी बुहारी, आफ्नो घर नआएर कहाँ जाने । मलाई टुरिष्ट भन्नेहरूलाई लाग्दो होला– यो पढेलेखेकी छ, जान्नेबुझ्ने छ, यसलाई यस्तो भन्दा आनन्द आउँछ होला, तर हेर्नोस् मलाई पनि दुख्छ । महिनावारी हुँदा सबै महिलालाई समान पीडा हुन्छ । बच्चा जन्माउँदा सबै आमालाई हुने पीडा एउटै हो । कुनै पनि चुनावी सभामा उहाँ प्राय: कैलाली लगायत सुदूरपश्चिमको समग्र विकासका योजनाबारे चर्चा गर्नुहुन्छ । सुदूरपश्चिमको विकासका लागि काँग्रेसले गरेका कामको फेरिहस्त प्रस्तुत गर्नुहुन्छ । हाल सञ्चालनमा रहेका महाकाली नदीको पुल निर्माण, अत्तरिया–मोहना छ लेन सडक, गौरीफन्टा सिमानाकाको स्तरोन्नती, सेती अञ्चल अस्पताललाई तीन सय सैय्याको अस्पतालमा रूपान्तरण, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, गेटा मेडिकल कलेज, रानी जमरा कुलरिया बहुउद्देश्यीय सिंचाईं आयोजना, धनगढी विमानस्थलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना, खुटिया–दिपायल द्रुत मार्ग योजनाबारे चर्चा गर्नुहुन्छ । ‘सुदूरपश्चिमको विकासका लागि जेजति पनि भएको छ, सबै काँग्रेसका कारण नै भएको हो’ उहाँले पटकपटक एमाले र माओवादीलाई प्रश्न गरिसक्नुभयो– तपाईंहरूले सुदूरपश्चिमको विकासका लागि गरेको एउटा पनि काम देखाउनुहोस् । अझ कतिपय सभामा त उहाँले चुनौति नै दिनुभयो– सुदूरपश्चिमको आर्थिक विकासका लागि एमाले वा माओवादीले एउटा इट्टा थपेको छ भने देखाउनुहोस् ।
बिहान पूजापाठ उहाँको दैनिकचर्याको एउटा अंग हो । हरेक दिन बिहानदेखि अबेर रातिसम्म चुनावी कार्यक्रममा सहभागी भइरहँदा उहाँको अनुहारमा कत्ति पनि थकान देखिन्न । बरु उहाँ महिलालाई कुनै पनि कोणबाट कमजोर नठान्न बारम्बार चुनौति दिनुहुन्छ । भन्नुहुन्छ– ‘मेरै कुरा गर्नुहुन्छ भने म भारतमा विश्वविद्यालयमा अध्ययन गर्दा सबैभन्दा उत्कृष्ट अंकका साथ उत्तीर्ण भए, म पुरुषभन्दा दश गुणा बढी राम्रो काम गर्न सक्छु ।
महिलाको विशेषता र क्षमताबारे उहाँ बडो सरल ढंगले व्याख्या र प्रस्तुत गर्नुहुन्छ । ‘हामी महिला कुनै पनि काम अधुरो छोड्दैनौ, बच्चालाई नुहाउदा होस् बीचैमा छाड्दैनौ, खाना पकाउँदा काँचो राख्दैनौ’ उहाँको बोलीमा दृढता झल्किन्छ– महिलालाई अवसर दिनुहोस्, हामी इमान्दारिपूर्वक आफूले बोलेको कुरा पुरा गर्छौ ।
डाक्टर आरजुका कुनै पनि अभिव्यक्तिमा अरूप्रति व्यक्तिगत आलोचना भेटिन्न । सरल भाषण उहाँको विशेषता झैं बनेको छ । मुलुकको पेचिलो राजनीतिको चिरफार गर्ने क्रममा पनि उहाँ उदाहरणसहित लोकतान्त्रिक पद्धति र कम्युनिष्ट व्यवस्थाबीचको तुलना गर्नुहुन्छ । कुनै वेला एउटै मुलुक रहेको कोरिया झण्डै ५० वर्षअघि दक्षिण कोरिया र उत्तर कोरियाका रूपमा विभाजन भएपछि अहिले ती दुई देशबीचको आर्थिक अवस्थाको बारेमा चर्चा गरेर लोकतन्त्र र कम्युनिष्ट व्यवस्थाको परिणामका बारेमा चर्चा गर्नुहुन्छ । आफ्नो भाषणमा बढिजसो आर्थिक, सामाजिक विकासका खाका प्रस्तुत गर्न रुचाउने उहाँ कहिलेकाहीँ नितान्त व्यक्तिगत अनुभूति प्रस्तुत गर्न हौसिनुहुन्छ । ‘हाम्रा मन्त्रीले व्या (विहे) गर्‍याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्’ एउटा कार्यक्रममा उहाँे आफूले २५ वर्षअघि काँग्रेस नेता शेरबहादुर देउवासंग विहे गरेपछि पहिलो पटक घर (डडेल्धुरा) पुगेको अनुभूति सुनाउनु भयो । त्यतिबेला आफूसँग टाढाबाट लौरो टेकेर भेट्न आएका बृद्ध महिलाहरूले व्यक्त गरेको उद्गार स्मरण गर्दै उहाँेले भन्नुभयो– उहाँहरूको कुरा सुनेर मैले अनुभूत गरे, ओ हो र कति निश्छल, कति निष्कपट र कति सरल सुदूरपश्चिमेलीहरू ।
त्यतिबेलाको उहाँको अनुभूति छ– उहाँहरूले मन्त्रीको श्रीमति हेर्न तथा पढेलेखेका महिला हेर्नका लागि आएको भन्नुुभयो, मलाई कस्तोकस्तो लाग्यो । सुदूरपश्चिमबासी कति सरल, निश्छल हुँदा रहेछन् भन्ने लाग्यो । तर, सँगसँगै सोचे– ओ हो म त चार सय वर्ष अगाडिको समाजमा आइपुगेछु । ‘केही ठाउँमा बल्ल बाटो र विजुली पुगेको रहेछ,। बाटोघाटो छैन । रोजगारीका अवसर छैनन् । साक्षरताका दर दयनीय छ । उपचार नपाएर विरामी छट्पटाउनु पर्ने अवस्था छ । जताततै गरिबी छ’ त्यो सबै देखेर आफूले त्यतिबेला सुदूरपश्चिमका लागि केही गर्नुपर्छ भन्ने अठोट गरेको बताउनुभयो । र, त्यसपछि उहाँले रुडुक संस्थामार्फत सुदूरपश्चिमका विभिन्न जिल्लामा मातृशिशु स्वास्थ्य लगायतका कामलाई अगाडि बढाएको बताउनुहुन्छ ।
डाक्टर आरजुले पटकपटक महिलाको सशक्तिकरणको चर्चा गर्नुभएको छ । बालबालिकाका बारेमा कुरा गर्नुभएको छ । धनगढी फूलबारीमा अधिकांस थारू महिला सहभागी एउटा कार्यक्रममा उहाँले भन्नुभयो– २० वर्षअघि म यहाँ आउदा प्राय: रोगी जस्ता, च्यात्तिएका, मैला लुगा लगाएको महिला देख्थे, अहिले आउँदा प्राय: सबै कोरिबाटी सफा लुगा लगाएर राम्री भएर आउनु भएको छ, निकै खुसी लाग्छ ।
मतदानको मिति नजिकिदै छ । सँगसँगै उम्मेदवारहरूले आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न हरसम्भव प्रयास पनि भइरहेका छन् । उम्मेदवारहरूले एकअर्कालाई आक्षेप लगाउने क्रम पनि बढेको छ । अरूलाई गलत सावित गरेर आफू चोखो बन्ने प्रयास पनि बनिरहेका छन् । आरोपप्रत्यारोपबाट सकेसम्म टाढै बस्न रुचाउने र आफ्नो पार्टी नेपाली काँग्रेसले गरेका राम्रा कामको मात्रै प्राय: चर्चा गर्न रुचाउने डाक्टर आरजुले आफूविरुद्ध कसैले पर्चा छरेको प्रति पनि शान्तपूर्वक प्रतिक्रिया दिनुभयो– मेरा विरुद्ध कहिले टुरिष्ट भने, कहिले के भने, केही सीप नलागेपछि अहिले बेनामी पर्चा छरेका छन् । उहाँले आफ्ना विरोधीहरूलाई सल्लाह दिनुभयो– यत्रो मिहिनेत गरेर पर्चा बनाउनुभयो । न भाषा मिलेको छ, न शैली । बरु मलाई भनेको भए मैले नै मेराबारे के लेख्नु पर्छ भनेर राम्ररी ड्राफ्ट गरिदिन्थे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार