१६ चैत्र २०८०, शुक्रबार

मतदाताबाट प्राप्त उत्साह र समर्थनले जीत सुनिश्चित गरेको छ



डिल्लीराज पन्त कैलालीमा स्थापित राजनीतिककर्मीको नाम हो । ००७ सात सालको जनक्रान्तिदेखि नै राजनीतिक रूपमा सक्रिय तथा निष्ठा र त्यागको राजनीतिका पर्याय झैं बनेका चेतराज पन्त र आमा हरिप्रिया पन्तको कोखबाट २०१२ सालमा जन्मिएका पन्त २०२८ सालमा नेविसंघमा आवद्ध भएर काँग्रेसको राजनीतिमा होमिए । पञ्चायत विरुद्ध सक्रिय भएका कारण २०३१ सालमा ६ महिना जेल जीवन बिताएका उनले जेलबाटै हाइस्कूल उत्तीर्ण गरेका थिए । ०३६ सालमा नेविसंघ कैलालीका संस्थापक अध्यक्ष रहेका उनी हरेक प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहे । स्नातक तह उत्तीर्ण पन्तले नेपाल रेडक्रस सोसाईटी, कैलाली उद्योग वाणिज्य संघ, कैलाली जनपुस्तकालय, त्रिनगर माध्यमिक विद्यालय, हृदय निवारण संघ, डोटेली समाज लगायतका सामाजिक संघसंस्थामा रहेर योगदान पुर्‍याएका प्रदेश सभा सदस्य ख का उम्मेदवार पन्तसँग गरिएको कुराकानीको सारसंक्षेप :

डिल्लीराज पन्त
प्रदेश सभा सदस्य उम्मेदवार
कैलाली क्षेत्र नम्बर ५ (ख)

– चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले अपेक्षा गरेको भन्दा निकै उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको छौं । हामी चुनावी प्रचारप्रसारका क्रममा जुन ठाउँमा पुग्यौं, त्यहाँका आदरणीय मतदाताले हृदयदेखि नै स्वागत गर्नुभएको देखेर मेरो व्यक्तिगत रूपमा पनि उत्साह कैयौं गुणा बढेको छ । यसले नै मलाई बिहान सबेरैदेखि राति ढिलोसम्म पनि घरदैलोमा पुग्न हौसला थपेको छ । वास्तवमा भन्नुहुन्छ भने यस क्षेत्रका मतदाताले चुनावी प्रचारप्रसारका क्रममा नै हामीप्रति देखाउनु भएको आत्मीय समर्थनले हाम्रो जित त सुनिश्चित गरेको छ नै, ऋणि पनि बनाएको छ ।

 तपाईका प्रमुख चुनावी एजेण्डा के के छन् ?
म पार्टीबाट पहिलो पटक चुनाव लडिरहेको छु । यो मेरा लागि जीवनकै सबैभन्दा स्मरणीय अवसर हो । किनकि चुनावी प्रचारप्रसारका क्रममा मैले आम जनताका पिरमर्का, समस्या बुझ्ने अवसर पाएको छु । मतदाताले विकास निर्माणका थुप्रै मुद्दा उठाउनु भएको छ । वर्षायाममा डुबान हुने समस्या छ । ऐलानीपर्ती जग्गामा बसोबास गर्ने भूमिहीनहरूको समस्या छ । त्यस्तै, किसानले समयमा मलखाद, वीऊविजन नपाउने समस्या, सिचाईंको अभावको मुद्दा छ । अव्यवस्थित बसोबास अर्को प्रमुख समस्या छ । मुक्त कमैया, सुकुम्बासीको व्यवस्थित र प्रभावकारी बसोबासको सवाल छ । यी सबैको समाधान मेरा योजना र प्रतिवद्धता हुन् । त्यस्तै, गौरिफन्टा नाकाको स्तरोन्नती, शहरको आधुनिकीकरण, रोजगारी सिर्जना, स्तरीय स्वास्थ्य सेवा, प्राविधिक शिक्षालय आदि पनि मेरा प्रमुख प्राथमिकता हुन् ।

 अरू दल वा उम्मेदवारले पनि यिनै मुद्दा उठाउँछन्, के भन्नुहुन्छ ?
हो, अरू दल वा उम्मेदवारले पनि यस्तै मुद्दा उठाएका होलान् । तर, मुख्य कुरा के हो भने धनगढी उपमहानगरपालिकामा काँग्रेसको सरकार छ । त्यस्तै, प्रदेश सभामा पनि काँग्रेसको बहुमतको सरकार बन्ने प्रवल सम्भावना छ । केन्द्रमा हाम्रो सरकार बन्दैछ । यसरी तीनै तहमा काँग्रेसको सरकार बन्दा हामीलाई जनताका सबै आकांक्षा र माग तथा समस्याको सम्बोधन गर्न सहज हुन्छ । त्यस्तै, तीब्र आर्थिक समृद्धिको यस क्षेत्रका जनताको आकांक्षालाई साकार पार्न पनि सम्भव हुन्छ । त्यसैले अरू दल वा उम्मेदवारले के भन्छन् भन्नेको खासै अर्थ हुँदैन । अर्को कुरा नेपाली जनताले कहिल्यै पनि कम्युनिष्ट वा अरू कुनै किसिमको तानाशाही, एकतन्त्रीय शासनलाई स्वीकार गरेनन् । जहानिया राणाशान होस् वा पञ्चायती व्यवस्था अथवा राजाको निरंकुशता अथवा माओवादीको युद्ध होस्, नेपाली जनताले स्वीकार गरेनन् । त्यसैले नै नेपालमा ००७ सालमा प्रजातन्त्र स्थापना भयो र पटकपटक नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । हेर्नोस्, संविधान सभाबाट संविधान जारी नेपाली काँग्रेसको नेतृत्वका कारण मात्रै सम्भव भयो । अब यसको पूर्ण कार्यान्वयन र लोकतन्त्रको रक्षा तथा तीब्र आर्थिक समृद्धिको यात्रा पनि काँग्रेस नेतृत्वबाट मात्रै सम्भव छ भन्ने नेपाली जनताले राम्ररी बुझ्नु भएको मैले पाएको छु ।

– जनताले तपाईं र काँग्रेसलाई किन मत दिने ?
नेपाली काग्रेसको नीति र सिद्धान्त, लोकतन्त्रप्रतिको अटुट निष्ठा, जनता माझ हामीले प्रस्तुत गरेको प्रतिवद्धता तथा यस क्षेत्रमा शैक्षिक, सामाजिक, स्वास्थ्य लगायतका क्षेत्रमा हामीले गरेको योगदानप्रति जनताको विश्वास नै हाम्रो जीतको आधार हो । धनगढी, कैलाली र समग्र सुदूरपश्चिममा जेजति पनि विकास भएको छ, सबै काँग्रेसका कारण भएको छ भन्नेमा विपक्षीहरूले पनि स्वीकार गरेको तथ्य हो । २२ पुल भन्नुस् वा मेडिकल कलेज, अथवा विमानस्थलको स्तरोन्नती वा सुदूरपश्चिममा सडक सञ्जाल र विद्युतीकरण वा सुख्खा बन्दरगाह निर्माण, अत्तरिया–मोहना छ लेन सडक, कैलाली र पहाडी जिल्ला जोडने सडकहरू, हुलाकी राजमार्ग, गाउँगाउँमा विद्यालय र स्वास्थ्य संस्थाको विस्तार यी सबै काँग्रेसका कारण नै भएका हुन् । वास्तवमा धनगढी, कैलाली तथा समग्र सुदूरपश्चिमको अहिलेसम्मको विकासका लागि एमाले वा माओवादीले सिन्को पनि भाचेको छैन भन्दा आरोप मात्रै हुँदैन । यो सबै यस क्षेत्रका जनताले राम्ररी बुझ्नु भएको छ । त्यसैले पनि हामी ढुक्क छौं, हाम्रो जित सुनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार