१३ बैशाख २०८१, बिहीबार

सामाजिक न्यायसहितको आर्थिक समृद्धि मेरो लक्ष्य



रानाथारू संस्कृतिमा विद्यावारिधी गर्ने क्रममा रहेकी जीवनकुमारी राना युवा वस्थादेखि नै राजनीतिक रूपमा सक्रिय हुनुहुन्छ । आठ कक्षामा अध्ययन गर्दै गरेको अवस्थामा २०४८ सालमा नेविसंघमार्फत राजनीतिमा प्रवेश गरेकी ४० वर्षीया राना लामो समयसम्म रानाथारू समुदायको उत्थानका क्षेत्रमा निरन्तर सामाजिक रूपमा क्रियाशील रहनुभयो । नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा सदस्य क का उम्मेदवार जीवन रानाथारू समुदायबाट स्नाकोत्तर गर्ने पहिलो महिला हुनुहुन्छ । २०५८ देखि २०६२ सम्म रेडियो नेपाल सुर्खेतमा रानाथारू भाषाको समाचार वाचिका रहनुभएका उहाँले २०६२ देखि २०७३ सम्म धनगढी उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्नुभएको थियो । महिला संघ, नेपाल तरुण दल, नेपाल शिक्षक संघ, रानाथारू समाज, नेफिन, नेपाल रेडक्रस सोसाईटी लगायतका संस्थामा आवद्ध रहेर योगदान पुर्‍याउनु भएकी प्रदेश सभा सदस्य उम्मेदवार जीवन रानासँग फोनमार्फत गरिएको कुराकानीको सारसंक्षेप :

जीवन रानाथारू
नेपाली काँग्रेस प्रदेश सभा सदस्य उम्मेदवार
कैलाली क्षेत्र नम्बर ५ (क)

– चुनावी प्रचारप्रसारमा निकै व्यस्त हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
साच्चै भन्नुहुन्छ भने मैले जनताबाट यतिबढी समर्थन, मायास्नेह पाउला भन्ने कल्पना नै गरेको थिइन् । म लगायत हाम्रो टीम चुनावी अभियानका क्रममा सबै ठाउँमा पुगेका छौं । सबै मतदाताहरूलाई भेटेका छौं । सबैबाट सकारात्मक र उत्साजनक प्रतिक्रिया पाएका छौं । हामी जहाँ जान्छौं भव्य स्वागत पाइरहेका छौं । व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म झन् उत्साहित छु । काँग्रेसले रानाथारू जस्तो हरेक दृष्टिबाट पछाडि पारिएको समुदायको महिलालाई प्रत्यक्ष उम्मेदवार बनाएकोमा रानाथारू मात्रै होइन, सबै जातजाति, समुदायले निकै सकारात्मक रूपमा लिएका रहेछन् । वास्तवमा भन्नुहुन्छ भने– ‘जनताले काँग्रेसले मात्रै आदिवासी जनजाति, दलित, महिला, पछाडि पारिएका वर्ग र समुदायको अधिकारको रक्षा तथा नेतृत्वमा स्थापित गर्ने काम गर्दो रहेछ भन्ने आम मतदाताले मनन् गर्नुभएको मैले पाएकी छु ।

 चुनावी प्रचारप्रसारका क्रममा जनताका मुख्य माग र समस्या के रहेको पाउनुभयो ?
म मेरो पार्टी काँग्रेसलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, कि मलाई उम्मेदवार बनाएर मेरो क्षेत्रका जनताका समस्या, पिरमर्का, विकासका अवरोधहरू तथा सम्भावनाबारे यतिबढि जान्ने अवसर प्रदान गर्‍यो । दिनहुँ जनतामाझ गइरहदा मैले जनताको आकांक्षा र माग बमोजिमको विकासका लागि होमिने अठोट गरेकी छु । नदीकटान, डुबान, मलखादको अभाव, अव्यवस्थित बसोबास, स्वास्थ्य सेवाको विस्तार, यातायातको सुगमता, ऐलानीपर्ती जमिनमा बसोबास गर्ने भूमिहीन सुकुम्बासीको समस्या, मुक्त कमैयाहरूको प्रभावकारी बसोबास र रोजगारीको सुनिश्चितता, रोजगारीको सिर्जना आदि जनताका माग हुन् । मेरो अठोट छ– हामी यी सबै समस्याको समाधान गरेर प्रदेश सभा क क्षेत्रको समग्र विकासका लागि समर्पित हुनेछौं । र, यी सबैभन्दा पहिले हामीले रानाथारू समुदायलाई सूचीकृत गर्नेछौं ।

– तपाईंका चुनावी एजेण्डा र प्रतिवद्धताप्रति जनता विश्वस्त भएको ठान्नुहुन्छ ?
मैले अघि पनि भने कि काँग्रेसप्रति मेरो क्षेत्रका आम जनता निकै विश्वस्त छन् । किनकि सबैले के बुझ्नु भएको छ भने– काँग्रेसले कहिल्यै पनि चुनाव जित्न कै लागि कोरा गफ गर्दैन । सात दशक लामो इतिहास भएको काँग्रेसले नै नेपालमा प्रजातन्त्र, लोकतन्त्रको स्थापना गरेको हो भन्ने विपक्षीहरू पनि स्वीकार गर्दछन् । काँग्रेसका कारण नै नेपालका शान्ति र स्थिरता आउन सकेको हो भन्ने सबैले मनन् गरेका छन् । बाम गठबन्धनका नाममा मुलुकमा कस्तो शासन ल्याउन खोज्दैछन् भन्ने पनि बुझेका छन् । त्यसैले काँग्रेसप्रति आम नेपाली जनताले हरेक पटक विश्वास गरेका छन् । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने, म लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशील छु । कसैले पनि जीवनले कुनै गलत काम गरेको आरोप लगाउन सक्दैनन् । मैले गरेको सामाजिक सेवा, निष्ठाको राजनीति र आर्थिक सृमद्धिका लागि लिएको संकल्पले मलाई जनताले निकै विश्वास गरेको मैले अनुभव गरेकी छु । म पछाडि पारिएको रानाथारू समुदायकी व्यक्ति पनि हुँ । त्यसैले सामाजिक न्याय सहितको आर्थिक समृद्धि मेरो लक्ष्य हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार