१५ चैत्र २०८०, बिहीबार

मेरो इमान्दारिता र लगनशिलता नै जितको आधार हो



पुख्र्यौली घर दार्चुला भई हाल धनगढी–३, चटकपुुरमा बसोबास गर्दै आएका रमेश धामी (३५) दुई दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०५८ सालमा अखिल (क्रान्तिकारी) हुँदै २०५९ सालमा माओवादीको भूमिगत राजनीतिमा होमिएका उहाँ धनगढीको नगर इञ्चार्ज, जिल्ला कमिटी सदस्य तथा हाल माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य हुनुहुन्छ । राजनीति जनताका लागि हुनुपर्छ र नेता सुविधाभोगी हुनुहुँदैन भन्ने उहाँसंग पत्रकार टंक कुँवरले लिएको अन्तर्वार्ताको सारसंक्षेप:

रमेश धामी
बाम गठबन्धन प्रदेश सभा सदस्य उम्मेदवार
कैलाली क्षेत्र नम्बर ५ (ख)

– बाम गठबन्धनले प्रदेश सभा सदस्य बनाएको छ, कसरी लिनुभएको छ ?
धेरै साथीहरू आकांक्षी हुँदाहुँदै पनि मैले उम्मेदवारी पाए । त्यसलाई सकारात्मक रूपमा लिँदै मेरो पार्टीप्रति र जनताप्रतिको इमान्दारिताको फल मिलेको महसुस गरे । मैले अब जितेर देश र जनताका लागि काम गर्ने अवसरको रूपमा लिएको छु ।

– तपाईंको जित्ने आधार के हो ?
म निरन्तर जनता माझ छु । म जहिल्यै पनि हरेक घरधुरीमा गएर सुखदु:खमा समावेश भई उनीहरूसँगै विकास निर्माण, टोलसुधारमा हातेमालो गर्दै आएको छु । यही मेरो जित्ने आधार हो । अनि तपाईंलाई थाहा नै छ, यसपटक हाम्रो पार्टी र एमाले मिलेर संयुक्त रूपमा चुनावी मैदानमा उत्रेकाले हाम्रो जनमत अन्य पार्टी भन्दा दोब्बर छ । त्यसैमा मलाई स्थानीयले पार्टीको मात्र नभएर व्यावहारिक भोट पनि हाल्ने भएकाले मेरो जित सुनिश्चित छ ।

– तपाईंको कुन पार्टीसंग प्रतिस्पर्धा हुन्छ ?
मेरो प्रतिस्पर्धामा त कोही देख्दैन म । तैपनि काँग्रेससंग प्रतिस्पर्धा हुन्छ होला ।

– तपाईंले हिजोका दिनमा धेरै काम गरे भन्नुभयो, मतदाताको बुझाइ कस्तो छ ?
मैले राजनीति जीवन यसै क्षेत्रबाट सुरुवात गरी अहिलेसम्म पनि यही क्षेत्र मै क्रियाशिल छु । यस क्षेत्रका ढल, अतिक्रमण, डुबान, बाटोघाटो, शिक्षादिक्षा लगायतका समस्या बारे मलाई राम्ररी ज्ञान छ । उल्लेखित समस्या समाधान गर्न म जनता र सरोकारवाला निकाय माझ निरन्तररूपमा लाग्दै आएको छु । जनताले पनि रमेश धामी विकासप्रेमी र जोशजागर भएको युवा हो केही गर्न सक्छ जिताउनुपर्छ भनेर लागिपरेका छन् ।

– तपाईंले जित्नु भयो भने कस्ता कस्ता कामलाई प्राथमिकता दिनुहुनेछ ?
मैले जिते अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाई त्यही अनुरूप विकास निर्माणका कामलाई प्राथमिकता दिनेछु । धनगढी सुदूरपश्चिम (हालको ७ नम्बर प्रदेश) को हब भएकोले स्वच्छ, हराभरा धनगढी बनाउने छु । यहाँका खोलानाला अतिक्रमणले बर्सेनि डुबान हुने गरेको छ भने अर्कोतिर नगरको सौन्दर्यतामा कमी आएको छ । त्यसलाई हटाएर धनगढीलाई नेपालकै नमुना शहर बनाउनेछु । धनगढीमा रहेको सेती अञ्चल अस्पताललाई सुविधासम्पन्न, सर्वसुलभरूपमा गुणस्तरीय शिक्षा, धार्मीक पर्यटनमा जोड दिई बर्सेनि आन्तरिक र बाह्रय पर्यटकको हब बनाउनेछु ।
साथै, भारतसंग जोडिएको गौरीफण्टा नाकालाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय भन्सार नाका बनाउन मेरो प्रमुख पहलकदमी हुनेछ । उता चीन जानआउन पनि धनगढी हुँदै बझाङ र दार्चुलाको नाका छोटो र सुरक्षित भएकोले त्यहाँका नाकालाई खुलाएर धनगढीका साथै ७ नम्बर प्रदेशलाई दक्षिण एसियाकै व्यापारिक क्षेत्र बनाउनेछु । म हरेक कुराको अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु । धनगढीलाई अन्नभण्डारका साथै जडीबुटी र धार्मीक पर्यटनको उच्च सम्भावना भएको क्षेत्र पनि हो । मैले कृषि क्षेत्रलाई आधुनिकरण गरी आत्मनिर्भर बनाउनेछु । किसानलाई सर्बसुलभरुपमा मल, बिउबिजन उपलब्ध गराउने मेरो पहिलो प्राथमिकता हुनेछ भने किसानलाई हर औजार तथा वस्तुमा सहुलियत दिई उनीहरूको जीवनस्तर उकास्नेछु । साथै धनगढी क्षेत्रलाई रासायनिक मल भन्दा पनि प्रांगारिक मल प्रयोगमा प्रोत्साहन गरी अर्गानिक क्षेत्र बनाउन पहल गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार