१६ चैत्र २०८०, शुक्रबार

दिगो शान्ति नै आर्थिक समुन्नतीको आधार : राष्ट्रपति



बौनिया । सेती लोकमार्ग निर्माण र बर्दगोरिया धार्मिक क्षेत्रमा पर्यटन विकासको लागि आयोजना गरिएको ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव—२०७३’ शुक्रवारबाट सुरु भएको छ ।
महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन सन्देशमार्फत उद्घाटन गरिन् । शुक्रवार अचानक मौसम खराब भएका कारण राष्ट्रपति चढेको हेलिकोप्टर धनगढी आउन नसकेपछि टेलिफोन सन्देशमार्फत उद्घाटन गरिएको थियो ।
बौनिया बजार व्यवस्थापन समितिको आयोजना ‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार, बर्दगोरिया धार्मिक क्षेत्र विकास पर्यटनको मूल आधार’ नारासहित सुरु भएको महोत्सव उद्घाटन सन्देशमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक समुन्नतिका मूल आधार दिगो शान्ति स्थायित्व भएको बताइन् ।
राष्ट्रपति भण्डारीले दिगो शान्ति र स्थायित्वका लागि जनता स्वयम् नै जागरुक र सक्रिय हुनु आह्वान गरिन् । राष्ट्रपतिले दिगो शान्ति र सद्भावबिना मुलुकको आर्थिक, सामाजिक विकासले गति लिन नसक्न दोहोर्‍याइन् । उनले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, जातीय स्नेह र सद्भाव अझैं सुदृढ गर्न आव्हान गरिन् ।
राष्ट्रपति भण्डारीले निर्माणाधीन सेती लोकमार्ग चीन र भारतबीचको महत्त्वपूर्ण व्यापारिक कडी हुनसक्ने बताइन् । उनले कैलाली जिल्लामा कृषि पर्यटनको प्रचुर सम्भावना रहेको बताइन् । राष्ट्रपतिले बर्दगोरिया, हनुमानगढी, मनहरी र ग्वालीन क्षेत्रको विकासबाट धार्मिक पर्यटनको विकासमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
महोत्सव उद्घाटन समारोहमा सुदूरपश्चिमको पञ्चेबाजा, हुड्के नाच, देउडा नाच, थारू तथा मगर समुदायको सांस्कृतिक झाँकी, मारुनी नाच लगायत प्रदर्शन गरिएको थियो । त्यस्तै, नोबेल एकेडेमी बौनिया लगायका विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए ।
महोत्सव आगामी २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
महोत्सव आयोजक समिति संयोजक रुपक सुनारको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला विकास समिति कैलालीका पूर्व सभापति नारायणदत्त मिश्र, नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य झपट रावल, पूर्व सांसद शेरबहादुर कुँवर, कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कर्ण कुँवर लयायतले मन्तव्य व्यक्त गरेका थिए ।
संयोजक सुनारले महोत्सवमा दैनिक १५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने बताए । महोत्सव अवधिभरी दुई करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजककोअ अनुमान रहेको छ ।
बर्दगोरिया धार्मिक क्षेत्रको विकासका साथै सेती लोकमार्गको छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले सो महोत्सव सञ्चालन हुँदै आएको छ । महोत्सव २०६७ सालबाट सुरु भएको थियो ।
सेती लोकमार्ग भारत र चीनलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको सडक मानिएको छ । भारतको सिमाना खक्रौलादेखि चीनको सिमाना ताक्लाकोटसम्म बन्ने सेती लोकमार्गको लम्बाई दुई सय ८४ किलोमिटर रहेको छ । यो सडक बौनियाको धार्मिक क्षेत्र वर्दगोरिया हुँदै जान्छ ।
सो लोकमार्ग २०६६ सालमा सिमाकंन गरिए पनि हाल सो लोकमार्गको निर्माण कार्य सुस्त छ ।
महोत्सवको मुख्य प्रवद्र्धक जिल्ला विकास समिति, कैलाली रहेको छ । त्यस्तै, दोदोधरा र कोटातुल्सीपुर गाउँ विकास समितका कार्यालय, जयमहाकाली र महालक्ष्मी ग्रामीण विद्युत् सहकारी संस्था प्रवद्र्धक छन् ।
त्यस्तै, जनचेतना, लालीगुँरास, दानुफाँटा, रानीजरुवा सामुदायिक वन उपभोक्ता समितिको मुख्य प्रायोजन रहेको छ । भने महोत्सवको सहआयोजक साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्ज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार