१३ बैशाख २०८१, बिहीबार

टीकापुर महोत्सव सुरु



विमानस्थल र भन्सार कार्यालय स्तरोन्नती हुन्छ : उपप्रम महरा


टीकापुर । टीकापुर महोत्सव—२०७३ बिहीबारबाट सुरु भएको छ । महोत्सवको एक भव्य कार्यक्रमबिच उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे ।
सो अवसरमा उपप्रधानमन्त्री महराले चालू आर्थिक वर्षभित्रै टीकापुर विमानस्थल र सत्ती भन्सार कार्यालयको स्तरोन्नती कार्य पूरा गरिने बताए । उनले टीकापुर र रोल्पाको बड्डाचौर विमानस्थलको स्तरोन्नती कार्य सुरु गर्न पर्यटन मन्त्रालयले पहल गरिसकेको बताए । त्यस्तै, भन्सार विभागले सत्तीलाई मूल भन्सार बनाउन पनि प्रक्रिया अघि बढाइसकेको बताए । उनले कैलाश–सेती लोकमार्ग निर्माणका लागि आगामी वर्ष पर्याप्त बजेट विनियोजन गरिने बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरालाई महोत्सव आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष परशुराम चपाईले सात बुँदे ज्ञापनपत्र प्रस्तुत गरेका थिए ।
ज्ञापनपत्रमा बर्दिया–टीकापुर जोड्न कर्णाली सनकट्टीमा पुल र पक्की बाटो निर्माण गर्न माग गरिएको छ । त्यस्तै, सत्तीलाई मूल भन्सार बनाउनु
पर्ने, टीकापुर विमानस्थल सञ्चालन, सत्तीमा क्वारेटाइन चेकपोष्ट स्थापना, चिसापानी–मंगलसेन सडक कालोपत्रे गर्न पनि माग गरिएको छ ।
महोत्सव उद्घाटन समारोहमा सुरुमै सम्बोधन गरेका उपप्रधानमन्त्री महराले सत्ती छोटी भन्सार कार्यालय भवन र ब्यारिएरको उद्घाटन पनि गरेका थिए ।
उद्घाटन समारोहमा पूर्वराज्यमन्त्री सुशीला स्वाँर, राष्ट्रिय विकास परिषद्का सदस्य डाक्टर रणबहादुर रावल,
नेपाली काँग्रेसका क्षेत्रीय सभापति भूवनेश्वर अधिकारी, नेकपा एमाले नेता प्रेम साउँद, राप्रपाका दिनेश शाह, राष्ट्रिय जनमोर्चाका दयाराम सञ्ज्याल, नयाँशक्ति नेपालका हरि तिमिल्सिना, टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरू नवराज रावल, आनन्द हमाल, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा खेलाडी सीमा चौधरी, शिक्षाविद् जीतेन्द्र उपाध्याय, गीतकार सुभाष गौतम, सुरक्षा अधिकारी विश्व अधिकारी, कृषक हरिलाल चौधरीलाई सम्मान गरियो ।
टीकापुर उद्योग वाणिज्य सङ्घका महासचिव रामबहादुर भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र शाहले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार