६ बैशाख २०८१, बिहीबार

कुष्ठरोग निवारण अझैं हुनसकेन



धनगढी । कैलालीमा पछिल्ला वर्षहरूमा कुष्ठरोगीको सङ्ख्या कमी हुँदै गए पनि निर्मुल भने हुन सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लामा बिरामीको सङ्ख्या घट्दै गएको छ ।
कार्यालयले बिहीबार धनगढीमा आयोजना गरेको सञ्चारकर्मीसंगको अन्तक्र्रियामा सहायक कुष्ठरोग सुपरभाइजर दीपेन्द्र जोशीले कैलालीमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४७ जना नयाँ कुष्ठरोगी फेला परेका बताए ।
उनका अनुसार जिल्लामा कुल बिरामीमध्ये ५० प्रतिशत धेरै ब्याक्टेरिया भएको मल्टी बेसिलरी (एमबी) कुष्ठरोग बिरामी, ४७ प्रतिशत महिला र तीन प्रतिशत बालबालिका फेला परेको बताए ।
तथ्याङ्कअनुसार जिल्लामा मल्टी बेसिलरी (एमबी) रोगका बिरामी २४, महिला २० र बालबालिका तीन नयाँ कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् ।
कार्यालयले दिएको जानकारीअनुसार एमबी, महिला र बालबालिकामा यो रोग समस्या बन्दै गएको बताए ।
जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०६९/७० मा एक सय ६०, २०७०/७१ मा एक सय ७८, र आर्थिक वर्ष २०७१/७२ मा दुई सय ६४ जना नयाँ कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष ०७२/७३ मा ९४ नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष ०६९/७०, ७०/७१, ७१/७२ र ७२/७३ क्रमशः: ७६, ६९, एक सय ३२ र ४० महिला कुष्ठरोगबाट ग्रसित थिए भने १५, आठ, सात र दुई बालकमा यो रोग देखा परेको थियो ।
सरकारले प्रति हजारमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लामा कुष्ठरोगको बढी जोखिम रहेको मानेको
छ । सुदूरपश्चिमका नौ वटै जिल्लामध्ये कैलालीमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगीका बिरामी रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कैलालीले दिएको जानकारी अनुसार जिल्लामा आर्थिक वर्ष ०६९/७० मा प्रति हजारमा एक दशमलव ७८, ०७०/७१ मा एक दशमलव सात, ०७१/७२ मा एक दशमलव तीन र ०७२/७३ मा एक दशमलव ३९ प्रतिशत कुष्ठरोगी रहेका छन् ।
जिल्लामा नयाँ बिरामी पत्ता लगाउने दर प्रति एक लाखमा पाँच जना रहेका छन् । कार्यालयले कुष्ठरोगीका बिरामी दर लक्ष्य अनुरूप घटाउन नसकेको सुपरभाईजर जोशीले बताए ।
कार्यक्रममा कुष्ठरोगको लक्षण, अवस्थाको बारेमा जानकारी गराउँदै एनएलआरका डा. कृष्णप्रसाद ढकालले तराईको दांगबाहेक अन्य जिल्लामा कुष्ठरोगको जोखिमनै रहेको बताए । उनले नेपालभरी तीन हजारभन्दा बढी कुष्ठरोगीका बिरामी अझै रहेको बताए ।
उनले सुदूरपश्चिमको सबैभन्दा बढी कैलाली, दोस्रोमा कञ्चनपुर र अछाममा कुष्ठरोगको समस्या रहेकाले निवारणका लागि नेपाल सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताए ।
कार्यक्रम वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चापागाईको अध्यक्षतामा भएको थियो । उनले कुष्ठरोगीप्रति अझैं पनि समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएका कारण रोग लुकाउने प्रवृत्ति यथावत रहेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार