१२ बैशाख २०८१, बुधबार

बालकद्वारा विद्यार्थीलाई सहयोग



धनगढी ।  धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा कक्षा ५ का छात्र मिनेन्द्र यादवले तारानगरमा रहेको आमाको माया छात्रवासका २५ जना विद्यार्थीलाई सहयोग गरेका छन् ।
आफ्नो विद्यालयको विज्ञान प्रदर्शनीमा द्वितीय भएर प्राप्त गरेको तीन हजार रुपैयाू पुरस्कारमा रकम थप गरेर उनले छात्रावासका २५ जना विद्यार्थीलाई स्वीटर र टोपी प्रदान गरे ।
उनले पुरस्कार रकममा हजुरआमा र आमाबुवाले दिएको खाजा खर्चबाट जोगाएको रकम समेत मिलाएर सो सहयोग गरेको बताए ।
उनले आफूले बुवाबाट सो छात्रावासमा अनाथ र असहाय बालबालिका बस्ने र पढ्ने गरेको थाहा पाएपछि सहयोग गर्ने भावना जागेको बताए । विद्यालयका प्राचार्य धर्मदेव भट्टले छात्र मिनेन्द्रको यो सहयोगले सामाजिक उत्तरदायित्वप्रतिको भावना प्रदर्शन गरेको बताए । प्राचार्य भट्टका अनुसार छात्र मिनेन्द्र पढाइमा अब्बल छन् ।
सहयोग सामग्री वितरण कार्यक्रममा मिनेन्द्रका बुवा पूर्णशंकर यादवको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार