१३ बैशाख २०८१, बिहीबार

स्थानीय निकाय कार्यालयमा सिसिटिभी जडान हुँदै



धनगढी । जिल्ला विकास समितिको कार्यालय कैलालीले आफ्नो कार्यालयमा सिसिटिभी जडान गरेको छ । कर्मचारीको काम र कर्तव्यलाई मर्यादित बनाउन कार्यालयले सबै कार्यकक्षमा सिसिटिभी जडान गरेको जनाएके छ ।
यसै गरी धनगढी उपमहानगरपालिका कार्यालयले पनि आफ्नो कार्यालय भवनमा सिसिटिभी जडान गरेको छ । उपमहानगरपालिका कार्यालयको सेवा प्रवाहमा सुधारका लागि सिसिटिभी जडान गरेको जनाएको छ ।
सरकारले जारी गरेको सिसिटिभी निर्देशिका अनुसार कुनै पनि सरकारी वा निजी सङ्घ/संस्थाले सिसिटिभी जडान गर्दा स्थानीय प्रशासनसंग अनुमति लिनुपर्ने प्रावधान छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सरकारी तथा गैरसरकारी कार्यालयमा सिसिटिभी जडानका लागि गत (पुस) महिनामा सार्वजनिक रूपमा सूचना जारी गरिसकेको बताए ।
प्रजिअ रिजालले सूचना जारी गरे पनि हालसम्म अत्तरियास्थित एनसिसि बैङ्क बाहेक कुनै पनि सङ्घ/संस्था, सरकारी निकाय आदिले अनुमति नलिएको बताए ।
निर्देशिकामा सिसिटिभीबाट खिचिएका तस्बिरहरू गोप्य रूपमा राख्नुपर्ने, भिडियोहरुलाई परिमार्जित गरी व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नपाईने, सिसिटिभीबाट खिचिएका तस्बिर वा भिडियोहरुलाई प्रहरीले माग गरे बमोजिम तीन महिनासम्मको लागि सुरक्षित राख्नुपर्ने प्रावधान छ । निर्देशिकामा बैङ्क, वित्तीय संस्था, सुनचाँदी व्यवसाय, साइवर क्याफे जस्ता व्यापारिक कारोबार हुने स्थानमा सम्बन्धित सङ्घ/संस्थाहरूले अनिवार्य रूपमा सिसिटिभी जडान गर्नुपर्ने प्रावधान भए पनि कैलालीमा सञ्चालन भएका साईवर क्याफेहरूले चासो राखेका छैनन् ।
निर्देशिकामा जडान गरिने सिसिटिभीको प्रकृति, गुणस्तर, सङ्ख्या, जडान गर्ने स्थान, मोनिटर गर्ने स्थान, मोनिटरिङ कार्यमा परिचालन हुने कर्मचारीहरूको विवरण समेत जिलला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने जनाईएको छ ।
प्रथम पटक सूचना जारी गर्दा अत्तरियामा रहेको एनसिसि बैङ्क बाहेक अन्य कुनै सरकारी संस्था वा गैरसरकारी संस्थाहरूले सिसिटिभी जडान अनुमति पत्र लिएका छैनन् प्रजिअ रिजालले भने अब केही दिनमा दोस्रो सूचना जारी गर्ने तयारीमा छौँ । उनले दोस्रो सूचना जारी पश्चात् पनि कुनै सङ्घ/संस्था, सरकारी कार्यालय, व्यापारीहरुले अनुमतिपत्र लिने प्रक्रियामा नआएमा अनुगमन गर्ने र कडाईका साथ कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
सिसिटिभी शौचालय, चेन्जिङ रुम, मोनिटर गर्ने स्थान, होटलको बेड रुम आदि संवेदनशील स्थानमा राख्न नपाईने रहेको भए पनि धनगढीका अधिकांश होटलहरुले बेड रुममानै सिसिटिभी जडान गरेका छन् ।
यस्तै व्यापारिक सुरक्षा परियोजनका लागि सिसिटिभी जडान गर्न जिल्ला प्रशासन कार्यालयमा प्रयोजन खुलाई अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार