१५ चैत्र २०८०, बिहीबार

कैलालीमा लागू पदार्थको ओसारपसारमा वृद्धि



धनगढी । नेपाल प्रहरीले गत २१ गते धनगढी–१९, अमेरिकाघाट भन्ने ठाउँबाट नौ किलोग्राम चरेशसहित दुई जनालाई पक्राउ गर्‍यो । नेपाल र भारतको सीमामा पर्ने सो स्थानबाट सीमा प्रहरी चौकी बहुलियाका प्रहरी नायव निरीक्षक नेतृत्वको टोलीले बाजुरा दहकोट–२ का विवेक बोहरा र मानकोट–८ का दिनेश रोकायालाई नौ किलो चरेश बोकेर भारततर्फ जान लागेको वेला पक्राउ गरेको थियो ।
पुस १० गते क्षेत्रीय प्रहरी अनुसन्धान (आरआईटी) को एक टोलीले धनगढी–१०, घुईयाँघाटमा पाँच ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ पर्‍यो । आरआइटीको टोलीले लामो समयदेखि सूक्ष्म रूपमा अनुसन्धान गरी गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो ।
आरआईटी टोलीले पुस १० गते नै कैलालीको चिसापानीमा सात पोका ब्राउनसुगर सहित दुई जना र अर्को स्थानबाट १० पोका ब्राउनसुगर सहित पाँच जनालाई पक्राउ गर्‍यो ।
कैलालीमा पछिल्ला केही समययता लागू पदार्थ ओसारपसारमा भइरहेको वृद्धिका यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खुला सिमानाका कारण पनि लागू पदार्थ ओसारपसारमा ह्वात्तै वृद्धि भइरहेको छ ।
अधिकांश युवा संलग्न
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार लागू औषध कारोबारमा अधिकांश युवाको संलग्नता रहेको छ । कैलालीका प्रमुख अर्जुन चन्दले भने— प्राय: युवा बेरोजगार हुन्छन्, त्यसैमा साथीभाईको लहलहीमा सुरुमा लागू पर्दाथ सेवन गर्नेर पछि ओसारपसार गर्ने कार्यमा पनि संलग्न हुने गरेको पाइएको छ ।
पुस १० गते पाँच ग्राम ब्राउन सुगरसहित २२ वर्षीय विमल राना, १९ वर्षीय मनिष राना र २२ वर्षका रामजी रानालाई पक्राउ गरिएको थियो ।
त्यस्तै लम्कीचुहा नगरपालिकाबाट पक्राउ परेका पनि सबै युवा नै थिए । प्रहरीले २५ वर्षका नरेश श्रेष्ठ, ३१ वर्षीय जनक मिजारलाई सात ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । त्यस्तै, चिसापानीबाट पक्राउ परेकामा २५ वर्षीय हिमाल शाही, २३ वर्षीय मनोज महतो, २६ वर्षका टेकबहादुर राना र १९ वर्षका सुशील थापा थिए ।
छ महिनामा लागू औषधका २४ मुद्दा
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार चालू आर्थिक वर्षमा लागु औषधको मुद्दामा निकै वृद्धि भएको छ ।
प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २३ वटा लागु औषधको मुद्दा दर्ता भएकोमा यस आर्थिक वर्षको छ महिनाको अवधिमा नै २४ वटा मुद्दा दर्ता भइसकेका छन् । प्रहरीले लागू औषध मुद्दामा संलग्न रहेको आरोपमा ३७ जनामाथि मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षको पुस महिनासम्म नाईट्रोभेट तीन सय चार ट्यावलेट, ब्राउन सुगर १४ ग्राम र चरेश ७१ किलोग्राम बरामद गरिसकेको जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार गौरिफण्टा र तिकुनियाबाट कैलालीमा बढी मात्रामा लागू औषध भित्रिन थालेको छ । खुला सीमा र बोर्डर नजिकै लागु औषध सजिलै किनबेच हुने गरेकोले कैलाली र कञ्चनपुरसम्मको क्षेत्र लागु औषधको ट्रान्जिट बन्दै गएको प्रहरी अधिकारीहरूको अनुमान छ ।
नेपालको सरकारी तथ्याङ्क अनुसार सन् १९७० को दशकमा हिप्पीको प्रवेशसँग नेपालमा लागु औषध सेवन गर्नेको सङ्ख्या वृद्धि भएको पाइन्छ । नेपालमा अहिले दुई लाखभन्दा बढी लागू औषधको कुलतमा फसेका छन् । ती मध्ये ८० प्रतिशत सात कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोरकिशोरी रहेको तथ्याङ्क छ । लागू औषध सेवन गर्ने युवतीहरूको सङ्ख्या करिब ४० हजार रहेको छ । चुरोट, खैनीसुर्ती, रक्सी, गाँजा खानेबाट सुरु गर्दै डेनलाईट सुघ्ने र लागु पदार्थ दुव्र्यसनमा फस्ने गरेको स्थितिमा विशेष गरी लागु औषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सुरक्षा अधिकारीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार