१६ चैत्र २०८०, शुक्रबार

हात्तीपाइले विरुद्धको खोप अभियानको पाँच वर्ष



जिल्लामा अझैं अढाई लाख बढी वञ्चित


धनगढी । सरकारले कैलालीमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान थालेको पाँच वर्ष पुग्दै छ । तर, अझैं पनि जिल्लामा अढाई लाखभन्दा बढी व्यक्ति यो औषधी खानबाट छुटेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले कैलालीका ग्रामीण क्षेत्रमा यो अभियान प्रभावकारी रूपमा सञ्चालन भए पनि उपमहानगरपालिका र नगरपालिकाहरू भने प्रभावकारी बन्न नसकेको जनाएको छ । कैलालीमा गत वर्षसम्म आठ लाख ४० हजार चार सय जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य निर्धारण गरिएकोमा पाँच लाख ८५ हजार जनाले मात्रै औषधी खाएको कार्यालयको तथ्याङ्कमा रहेको छ ।
कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा अझैं दुई लाख ५५ हजार चार सय जनाले औषधी खान बाँकी छ । शहरी क्षेत्रमा बसोबास गर्ने र प्राय: शिक्षित परिवारले नै सो रोग विरुद्धको औषधी खान हेल्चक्राई गरिरहेको स्वास्थ्यकर्मीहरूको अनुभव छ ।
नेपालमा अझै ३६ वटा जिल्लामा हात्तीपाइले रोग उन्मुलन भएको छैन । नेपाललाई सन् २०१८ सम्ममा हात्तीपाइलेको जोखिमबाट एक प्रतिशत भन्दा कममा झार्ने लक्ष्य राखिएको र सन् २०२० सम्म मुलुकबाट हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरि भट्टका अनुसार हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा विभिन्न साइड असर हुने, यो रोग विरुद्धको औषधी नेपालमा परीक्षण गर्न पठाएको जस्ता गलत प्रचारका कारण यो अभियान प्रभावकारी बन्न सकेको छैन ।
उनने भने— कतिपयले ‘बिरामी नै नभई किन औषधी सेवन गर्ने’ भन्ने जस्ता प्रतिक्रिया दिने गरेका छन् ।
हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा ६ वर्ष सम्म प्रत्येक वर्ष कम्तीमा ६५ प्रतिशत जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खाने अभियानमा सहभागी गराउनुर्निे लक्ष्य राखिएको छ । कैलालीमा आर्थिक वर्ष २०६९/७० मा ६३ प्रतिशत, ०७०/७१ मा ६१ प्रतिशत, ७१/७२ मा ६८ प्रतिशत र आर्थिक वर्ष ०७२/७३ मा ६४ प्रतिशत जनसङ्ख्यालाई मात्रै समेट्न सकिएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार साडेपानी, पथरैया, टीकापुर, बेलादेवीपुर र दुुर्गौलीमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवनको प्रतिशत कम छ भने मुुनुुवा, बसौटी र उर्मामा कार्यक्रम बढी सफल भएको थियो ।

पाँचौ चरण अन्तर्गत औषधी खुवार्इँदै
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले यस वर्षको फागुन महिनामा जिल्लामा हात्तीपाइलेको रोग विरुद्धको औषधी निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
हात्तीपाइले रोगको संक्रमण हुनबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले आगामी फागुन २१, २२ र २३ गते जिल्लाभरी नै सो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधी वर्षको एक/एक पटक गरी चारदेखि छ वर्षसम्म खुवाउनु पर्ने प्रावधान अनुसार सरकारले यस वर्ष कैलाली लगायत देशका ३६ जिल्लामा कार्यक्रमलाई निरन्तरता दिएको जनाइएको छ ।
भेक्टर कन्ट्रोल सुपरभाइजर भट्टले गत वर्ष छोटो समयका लागि कार्यक्रम सञ्चालन गर्नुुुपर्दा विभिन्न समस्या देखिएकाले यस वर्ष छिट्टै तयारी सुुरु भएको बताए ।
उनले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी आमा, सिकिस्त बिरामी (जसले दैनिक क्रियाकलाप गर्न सक्दैनन्, ओछ्यानमा परेको, कडा रोग जस्तै, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, मृगी (छारे रोग) का रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालवालिकाहरुले यो औषधीको सेवन गर्न नहुने सुझाव दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा आर्थिक वर्ष ०७२/०७३ मा एक सय ८३ जना हात्तीपाइले रोगको संक्रमणबाट हातखुुट्टा सुुनिने, नौ सय ८४ जना हाइड्रोसिल भएका र ४० जना स्तन तथा अन्य क्षेत्रमा संक्रमण प्रभावित भएका व्यक्ति फेला परेका थिए ।
तीमध्ये पाँच सय ९७ जना हात्तीपाइलेको संक्रमणबाट हाइड्रोसिल भएका बिरामीलाई टीकापुर र सेती अञ्चल अस्पतालमा उपचार गरिएको थियो ।
हात्तीपाइले रोग ७० भन्दा बढी मुलुकहरूमा पाइएपछि विश्व स्वास्थ्य सङ्गठनले यो रोगको निवारणका लागि जोखिम भएका क्षेत्रमा औषधी खुवाउने, नि:शुल्क उपचार गर्ने लगायतका कार्यक्रम अघि सारेको हो ।
विश्वमा एक अरब भन्दा बढी मानिसहरू यो रोगको जोखिममा छन् भने १२ करोड मानिसहरू यो रोगबाट संक्रमित छन् ।
कुल संक्रमितमध्ये एक दशमलव पाँच करोड हात्तीपाईले, दुई दशमलव पाँच करोड अण्डकोष तथा यौनांग सुन्निएको र आठ करोड साधारण खाले लक्षणहरू वा लक्षण बिहिन अवस्थामा रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार