१५ चैत्र २०८०, बिहीबार

बढुवाको लोभमा धेरै काम गर्दा जागिर नै चट् !



कार्यालयमा कर्मचारीले जति धेरै काम गर्यो हाकिम तथा शाहुजीको उत्ति नै धेरै प्यारो बन्छ । धेरै परिश्रम गर्ने कर्मचारीको तलब बढ्ने तथा जागिरमा बढुवा हुने सम्भावना पनि उत्तिकै धेरै हुन्छ । तर यो दुनियाँमा यस्ता अभागी पनि हुँदा रहेछन् जसले जागिरमा मरिमेटेर धेरैभन्दा धेरै काम गर्दा बढुवा होइन, उल्टै जागिरबाटै हात धुनुपरेको छ ।
आफ्नो कार्यालय समयभन्दा धेरै काम गर्नुपर्दा थप भत्ता वा प्रोत्साहनको अपेक्षा सबैले गर्दछ । तर एकजना कर्मचारीलाई भने बढुवाको लोभमा आफ्नो समयभन्दा धेरै काम गर्नु महंगो परेको छ ।
घटना स्पेनको बार्सिलोनाको हो । त्यहाँ एक कर्मचारीलाई धेरै काम गरेका कारण जागिरबाट हटाइयो । सायद कम्पनीमा धेरै काम गरेको कारण आफूलाई योपटक सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार मिल्छ वा जागिरमा बढुवा हुन्छ होला भन्ने उनको अपेक्षा थियो, तर भयो उल्टो ।
लिडल नामक सुपरमार्केटमा काम गर्ने जिन पी नामका कर्मचारीको कथा हो, यो । जिन पीलाई आफ्नो निर्धारित समयभन्दा अगाडि नै काममा आउने र आफ्नो निश्चित कार्यघन्टा सकिएपछि पनि धेरै बेरसम्म काम गरिरहने भन्दै लिडलले जागिरबाट बर्खास्त गरेको हो । आफूलाई धेरै काम गरेको आरोपमा जागिरबाट निकालिएपछि जिन पी ले लिडलका मालिकविरुद्ध मुद्दा हाल्ने निधो गरेका छन् ।
लिडलले भने कम्पनीको अवैतनिक ओभरटाइम सम्बन्धी नियमको उल्लंघन गरेको र एक्लै स्टोरमा बसेको भन्दै जिन पी लाई जागिरबाट निकालेको जनाएको छ । यी दुबै काम कम्पनीको नियमविपरित हुन् ।
जिन पी पछिल्लो १२ वर्षदेखि लिडलमा कार्यरत थिए । उनलाई लिडल व्यवस्थापकले यसअघि कहिल्यै पनि स्टोरमा समयभन्दा धेरै काम गर्नुहुँदैन भनेर जानकारी गराएका थिएनन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार