१३ बैशाख २०८१, बिहीबार

सरकारले आत्मनिर्भर औषधिलाई प्रबर्द्धन गर्न सकेको छैन



अघिल्लो वर्ष भारतको अघोषित नाकाबन्दी र लगातारको तराई बन्दका कारण देश लगभग ठप्पै जस्तो थियो । डिजेल, पेट्रोल, खाद्यन्न लगायतका अत्यावश्यक बस्तुहरुको निकै अभाव थियो । इन्धन नहुँदा उद्योग कलकारखाना ठप्प भएका थिए । बिरामीले अस्पताल जान यातायात पाइरहेका थिएनन् । जताततै अभावै अभाव थियो ।

सबैतिर अभावको सामना गरिरहेका नेपालीहरुलाई नेपाली औषधि कम्पनीहरुले औषधिको अभाव हुन दिएनन् । नेपाली कम्पनीले धेरै दुःख गरेर औषधि उत्पादन गर्दै धेरै नेपालीको ज्यान जोगाउन सफल भए । फ्याक्ट्री चलाउने विधुत पर्याप्त नभएको अवस्थामा डिजेल, पेट्रोल समेत नहुँदा उत्पादनमा निकै समस्या परिरहेको थियो । यस्तै, औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ भारत, चिन लगायतका बाहिर देशबाट ल्याउनु पर्ने थियो । तर ति सबै समस्या र बाध्यतालाई चिर्दै नेपाली उद्योगले औषधिको अभाव हुन दिएनन् ।

त्यतीबेला देशमा आइलागेको कठिन परिस्थितीमा साथ दिने भरपर्दो सहयोगीका रुपमा नेपाली औषधि उत्पादक कम्पनीहरु नै थिए । तर, सरकारले नेपाली कम्पनीहरुलाई भने अझै पनि प्राथमिकतामा पार्न सकिरहेको छैन । सरकारले अहिलेनै नीति तथा कानुनी रुपमा राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राख्ने व्यवस्था गर्ने हो भने हामी कुल औषधि बजारको ८० प्रतिशत हिस्सा ओगट्न सक्छौँ ।

सरकारको प्राथमिकता बढ्दै जाने हो भने कम्पनीले पनि ढुक्कसँग लागनी र उत्पादन बढाउँदै जानेछन् । बजारको सतप्रतिशत हिस्सा नेपाली कम्पनीको मात्र हुन्छ भन्ने त हुँदैन । किनभने विकासीत देशहरुले पनि केही औषधिहरु बाहरबाट नै आयात गर्छन् । तर सरकारको साथ र सहयोग हुने हो भने ९० प्रतिशतभन्दा बढी बजार हिस्सा नेपाली औषधिकै हुनेछन् ।

लामो समयदेखी नेपालमा कुल औषधिको बजारमा नेपाली उत्पादनको हिस्सा ४० देखी ४५ प्रतिशतको हाराहारीमा मात्र रहेको छ । विदेशी औषधिको हिस्सा बढी नै हुनुको पछाडी सरकारी नीतिकै कारण हो । हामी नेपाली कम्पनी हरेक कुरामा सक्षम छौँ । ७० प्रकारका औषधिमा हामी आत्मनिर्भर भैसकेका छौँ । तर सरकारले आत्मनिर्भर औषधिलाई प्रबर्द्धन गर्न सकेको छैन । आत्मनिर्भर औषधिलाई प्रोत्साहन गर्ने र सरकारले विदेशबाट आउने ति औषधिमाथि कडाई गर्ने हो भने मात्र पनि हामी धेरै माथि पुग्न सक्छौँ । यस्तै स्वास्थ्य मन्त्रालयले खरिद ऐनमा परिमार्जन गरेर नेपाली उत्पादन खरिद गर्नुपर्छ । जसरी अहिले नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । औषधिमा त्यस्तो हुनुहुन्न । हामी सक्षम छौँ । त्यसकारण यही समयलाई सदुपयोग गरेर नेपाली उद्योगलाई अगाडी बढाउने नीति लिएर औषधिमा आत्म निर्भर हुनुपर्छ ।

सामान्यदेखी जटिल रोग तथा समस्याका धेरै थरी औषधि नेपालमा नै उत्पादन हुन थालेका छन् । तर क्यान्सर, न्यूरो, मिर्गौला लगायतका केही जटिल समस्याका र खोपमार्फत लिनु पर्ने औषधिहरु विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । अहिलेको अवस्थामा हेर्ने हो भने करिब २० प्रतिशतजति औषधिहरु बाहिरबाट ल्याउनु पर्ने देखिन्छ । हामीलाई प्रोत्साहन गर्दै जाने हो भने यो दर पनि कम हुँदै जानेछ ।

गुणस्तरका हिसाबमा हामी विश्वका कुनै पनि कम्पनीको उत्पादनसँग कम छैनौँ । विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्ड पुरा गरेर औषधि उत्पादन गरिरहेका छौँ । गुणस्तरीय औषधि उत्पादनका लागि आवश्यक पर्ने सबै ‘लेबल मेन्टेन’ गरेका छौँ । त्यसकाररण औषधिको गुणस्तरमा कुनै संका गर्नुपर्दैन ।

उपभोक्ता, लगानीकर्ता र सरकारी निकायलाई नेपाली औषधि उद्योगको विकास तथा अनुसन्धानका बारेमा जानकारी दिने उद्धेश्यले आगामी फागुनमा नेपाल औषधि उत्पादक संघले फर्मा एक्स्पो पनि गर्दैछ । फागुन २० देखि २३ गतेसम्म भृकुटीमण्डपमा हुने उक्त एक्स्पोमा औषधि र यसको अवस्थाका बारेमा विस्तृत जानकारी पाइने छ । यसको सबै तयारी हामीले लगभग गरिसकेका छौँ । एक्स्पोमा फर्मा प्रोसेसिङ, उत्पादन मेसिन, उपकरण, प्याकेजिङ मेसिन, फाइन केमिकल, बल्क ड्रग, वातावरण नियन्त्रण उपकरण, प्रयोगशाला उपकरणलगायत विषयमा जानकारी पाइने छ ।

-(प्रधान नेपाल औषधि उत्पादन संघका महासचिव हुन भने पाण्डे कोषाध्यक्ष हुन् ।) 

स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार