१३ बैशाख २०८१, बिहीबार

कोइलाहा तालमा पर्यटकहरूको घुइचो (फाेटाे फिचर)



धनगढी । कैलालीको कैलारी गाउँपालिका ९ मा रहेको कोइलाहा ताल व्यवस्थित भएको छोटो समयमै आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको छ ।
नेपाली सेनाको नम्बर २ राष्ट्रिय विकास गण बडैपुरले दुई दर्जन बढी भौतिक संरचना निर्माणगरी स्थानीयलाई हस्तान्तरण गरेको तीन महिना नबित्दै सो क्षेत्र अवलोकनका लागि स्थानीय तथा वाह्य पर्यटकहरूको घुइचो लाग्ने गरेको छ ।
कोइलाहा ठूलो ताल व्यवस्थापन तथा परिचालन समितिका कर्मचारी पहलबहादुर सलामीमगरले तीन महिनाको अवधिमा ३० हजार बढी पर्यटकहरूले अवलोकन गरेको बताए । दैनिक पाँच सय बढीले अवलोकन गर्दै आएको सो क्षेत्र अवलोकनको संख्या बढ्दै आएको बताए ।
कोइलही ताल अवलोकनका लागि आउँने पर्यटकहरूमध्ये धेरैले डुंगा अवलोकन समेत गर्ने गरेको पहलबहादुर सलामीमगरले बताए । उनको अनुसार बितेको दुई महिनामा तीन हजार नौ सय ४४ जनाले डुंगाको सयर गरेको छन् । आउँने धेरैजसोले डुंगाको सयर गर्ने ईच्छ्या गरे पनि डुंगा अभावमा सबैलाई डुंगाको सयर गराउँन नसकेको उनको भनाई छ । तालमा बोटिङ गरेबाफत प्रतिव्यक्ति एक घण्टाको लागि २५ रुपैयाँ लिने गरिएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको तालतलैया विकास कार्यक्रम अन्तर्गत सेनाले पहिलो चरण अन्तर्गत ९७ लाख ७४ हजार रुपैयाँ बराबरको लागतमा संरचना निर्माण गरेको स्थानीय रामस्वरूप चौधरीले बताए । ताल क्षेत्रमा पर्यटकहरूको सुविधाका लागि दुई वटा पिकनिक घर, खाना पकाउँने तथा मासु पोल्ने भाडा, शौचालय, ताल वरिपरि ग्राभिल बाटो समेत निर्माण गरिएको चौधरीको भनाई छ ।
तालमा सयरका लागि चार ओटा डुंगाको व्यवस्था गरिएको छ भने तालको बिचमा शिव मन्दिर र दृश्यावलोकनका लागि ३० फिट अग्लो भ्यू टावर निर्माण, तालको वरिपरि गरी ११ वटा प्रतिक्षालय प्रतिक्षालय, काठे पुल निर्माण, सौन्दर्यवद्र्धक बोटविरुवा समेत लगाइको उनको भनाई छ ।
बोटिङको व्यवस्था, चिल्ड्रेन पार्क तथा पिक्निक स्पोट व्यवस्था गरेसंगै आकर्षक गन्तव्य बन्न सफल भएको कोइलाही ताल क्षेत्र छोटो समयमै आन्तरिक तथा वाह्य पर्यटकहरूको गन्तव्य बन्न सफल भएको कैलालीको धनगढी उपमहानगरपालिका फुलवारीबाट सो क्षेत्रमा पुगेका रामचन्द्र कुश्मीले बताए ।
कैलारी गाउँपालिकाको स्वामित्वमा रहेको ७२ हेक्टर क्षेत्रफलमा फैलिएको कोइलाही तालमा माछा पालनका लागि पाँच वर्षका लागि एक करोड ४० लाख रुपैयाँमा ठेक्का दिइएको छ ।
सदरमुकाम धनगढीबाट ४० किलोमिटर र पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजीपुर बजारबाट नौ किलोमिटर दक्षिणमा ताल अवस्थित रहेको छ ।


कात्तिक ०७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार