१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम खप्तड गोल्डकप:  मनाङमस्र्याङ्दीको उत्कृष्ट खेल प्रदर्शन



धनगढी  ।  ‘ए’ डिभिजन क्लब मनाङमस्र्याङ्दीले पुन: उत्कृष्ट खेल प्रदर्शन गर्दै धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको मङ्गलवारको खेल जितेको छ । यससंगै मनाङमस्र्याङ्दी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी क्षेत्रीय रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा भुटानको डुकस्टार फुटबल क्लबलाई २–० ले हराउँदै मनाङमस्र्याङ्दीले अन्तिम चारमा स्थान पक्का गरेको छ ।
मनाङमस्र्याङ्दी बाइ पाएर क्वाटरफाइनलमा पुगेको थियो । मङ्गलवारको खेलमा मनाङमस्र्याङ्दीले दुवै गोल दोस्रो हाफको खेलमा गरेको थियो ।
दोस्रो हाफमा मनाङमस्र्याङ्दीका ओलावा ओफिजले गोल गर्दै टिमलाई १—० ले अग्रता दिलाए । डिबक्सवाट उनले गरेको कडा प्रहार डुकस्टारका गोलरक्षकलाई छल्दै जालीमा ठोक्किएको थियो ।
खेलको ८९ औँ मिनेटमा मनाङमस्र्याङ्दीका सुशील लामाले गोल गर्दै टिमलाई २—० ले विजयी गराए ।
भागेश्वर गु्रपको मुख्य प्रायोजन रहेको सुदूरपश्चिम खप्तड गोल्डकपको आज (बुधवार) अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । आज नेपाल आर्मी क्लब र संकटा क्लवबीच प्रतिस्पर्धा हुने छ ।
मनाङमस्र्याङ्दीसंगै भारतको दिल्ली युनाईटेड र आयोजक सुदूरपश्चिम—११ क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
सेमीफाईनलमा मनाङमस्र्याङ्दीले दिल्ली युनाईटेडसंग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदूरपश्चिम ११ ले आज (बुधवार) को क्वार्टरफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिता पुस २१ गतेदेखि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार