७ बैशाख २०८१, शुक्रबार

खप्तड गोल्डकप : दिल्ली युनाईटेड पुग्यो सेमिफाईनलमा



धनगढी  ।  निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा पोखराको सहारा क्लबलाई हराउँदै भारतको दिल्ली युनाइटेड सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनमा पुगेको छ ।
धनगढी क्षेत्रीय रङ्गशालामा सोमबार भएको पहिलो खेलमा सहारालाई दुईका विरुद्ध तीन गोलले पराजित गरेपछि दिल्ली युनाइटेडको सेमिफाइनलको यात्रा तय भएको हो ।
सोमबार नै भएको अर्को खेलमा काठमाडौँको संकटा क्लबले जगदम्बा लुम्बिनीलाई २–१ ले हरायो । यो जीतसंगै संकटा क्लब क्वाटर फाइनलमा पुगेको छ ।
क्षेत्रीय रङ्गशालामा ठुलो सङ्ख्यामा रहेका दर्शकमाझ मैदानमा उत्रिएका दिल्ली युनाइटेड र सहाराबीचको खेलको पहिलो गोल युनाइटेडका सन्दीपले गरेका थिए । खेलको पहिलो हाफको १० औँ मिनेटमा सन्दीपले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता चार मिनेट मात्रै रह्यो । सहाराका उत्तम गुरुङले १४ औ मिनेटमा गोल गरेपछि स्कोर १–१ को बराबरीमा पुग्यो ।
दोस्रो हाफमा युनाइटेड आक्रामक रूपमा प्रस्तुत भयो । दोस्रो हाफको ४६ औँ मिनेटमा दिल्ली युनाइटेडका थोपे र ५० औँ मिनेटमा लागोले गोल गर्दै आफ्नो टिमलाई ३—१ को अग्रता दिलाए । प्रतिआक्रमण गरिरहेको सहाराले एक गोल थपे पनि हारबाट जोगाउन पर्याप्त भएन । सहाराका सामसोनले ७१ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच दिल्ली युनाइटेडका थोपे भए ।
सोमबार भएको अर्को खेलमा काठमाडौँको संकटा क्लबले जगदम्वा लुम्बिनीलाई हराएर क्वार्टरफाइनलमा स्थान बनायो ।
स्तरीय खेल प्रदर्शन गर्दै सुरुवातमै बनाएको अग्रतालाई जोगाउन नसकेपछि जगदम्बाले हार बेहोर्नु पर्‍यो ।
पहिलो हाफको अतिरिक्त समयको एक मिनेटमा जगदम्वाका रितेश मल्लले गोल गरेर टिमलाई अग्रता लिए । तर, दोस्रो हाफको ६४ औ मिनेटमा जगदम्बाका तर्फबाट भएको आत्मघाती गोल उसका लागि पराजयको मूल कारण बन्यो । जगदम्वाका पूर्ण गुरुङले हेड गरेको बल आफ्नै पोस्टमा छिरेको थियो ।
आत्मघाती गोलका कारण स्कोर बराबरीमा आएपछि हौसिएका संकटा क्लबका खेलाडीहरूले आक्रमण बढाउदै गर्दा ७८ औँ मिनेटमा सुमीत केसीले गोल गरेका थिए ।
सुदूरपश्चिम–११ स्पोटर््स क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, भुटान र भारतका गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार