१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम खप्तड गोल्डकप : सुदूरपश्चिम–११ सेमिफाइनलमा



धनगढी  ।  म्यान अफ दि म्याच मणिराम चौधरीको ह्याट्रिकसहित सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगितामा सेमिफइनलमा प्रवेश गरेको छ ।
धनगढी क्षेत्रीय रंगशालामा स्थानीय दर्शकहरूको भारी समर्थनसहितको हुटिङबीच जबरजस्त खेल प्रदर्शन गर्दै सुदूरपश्चिम–११ ले भारतको पञ्जाब–११ क्लवलाई ५–० ले पाखा लगाएको छ । सुदूरपश्चिम–११ क्लव प्रतियोगिताको आयोजक पनि हो ।
अरू दिनको तुलनामा बढी संख्यामा आएका दर्शकको अपेक्षामा खरो उत्रिँदै सुदूरपश्चिम–११ ले खेलभरी आक्रामक खेल प्रदर्शन गर्‍यो ।
खेलको १४ औं मिनेटमा सुदूरपश्चिम–११ का जर्सी नम्बर १७ का मणिरामले पहिलो गोल गरे । उनले पहिलो हाफको ४३ औं मिनेट र दोस्रो हाफको ५९ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।
सुदूरपश्चिम–११ का सुमित देवे र प्रयण्य अञ्जानले एक/एक गोल गर्दै आफ्नो टिमलाई ५–० ले विजयी गराए ।
प्रतियोगिताको आज (सोमबार)को पहिलो खेल संकटा क्लव र जगदम्वा लुम्बिनी तथा दोस्रो खेल दिल्ली युनाईटेड र सहारा क्लव काठमाडौंबीच आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
पुस २१ गतेदेखि शुरु भएको सुदूरपश्चिम गोल्डकप आगामी माघ १ गतेसम्म सञ्चालन हुने छ । गोल्डकप विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतका दुई, भुटानका एक र नेपालका ‘ए’ डिभिजनका नौ टिम सहित १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार