८ बैशाख २०८१, शनिबार

बर्दगोरियामा माघी मेला



कुम्भिया (कैलाली)  ।  माघीका अवसरमा कैलालीको दोदोधरा—२, कुम्भिया, बर्दगोरियामा आज (सोमबार) देखि माघी मेलाको आयोजना गरिएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चले हरेक वर्षझै यस वर्ष पनि माघी मेला आयोजना गरेको छ ।
मेला आगामी माघ १ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
मेलाको कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव लक्ष्मीप्रसाद जैशीले बताए ।
बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् । यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ ।
बर्दगोरीयामा माघमा लाग्ने माघी मेलाबाहेक कात्तिक, मङ्सिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ ।

सेती लोकमार्ग

करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा
शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् ।
बर्दगोरिया परिसरभित्र देवीदेउताले पानी पिउन प्रयोग गर्ने कुवा समेत रहेको विश्वास गरिन्छ ।
यो ठाउँमा पुरानो राजाको दरबार रहेको समेत अनुमान गरिएको छ । पुरानो राजाको दरबार रहेको र पछि राजाले सो दरबार छोडेर गएपछि दरबार भत्कीएर रहेका ईटाहरूबाट अहिलेका मन्दिरहरू निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको नैनसिंह बुढाले बताए ।
बजार व्यवस्थापन समितिले २०६७ सालमा पहिलो पटक यस क्षेत्रलाई चिनाउँन बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार