८ बैशाख २०८१, शनिबार

एक महिनादेखि इलाका प्रशासन प्रमुखबिहीन



पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्रमा त्रिभूवनवस्ती ईलाका प्रशासन कार्यालय एक महिनादेखि कार्यालय प्रमुखबिहीन रहेको छ ।
स्थानीय तह निर्वाचनअघिदेखि नै कार्यालय प्रमुख बिहीन भएको सो इलाका प्रशासन कार्यालयमा सेवा लिन जाने नागरिकहरू मर्कामा पर्ने गरेका छन् । स्थानीयले दिनहुँ नागरिकता बनाउन आउनेहरूको भीड लाग्ने गरे पनि कार्यालय प्रमुख नभएका कारण खालीहात फर्किनु परिरहेको छ ।
नागरिकता बनाएर मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने नागरिकहरूले बढी दु:ख पाइरहेको छन् । नागरिकता बनाउन आएका बेलौरी नगरपालिका वडा नम्बर ७, शान्तिपुरका खडक चौधरी र बाइसेविचुवाका सेवा रानाले रित्तो हात फर्किनु परेको बताए ।
कार्यालयका नायव सुब्बा पुष्करसिंह कठायतले अहिले दैनिक सरदर एकसय जना नागरिकता बनाउन धाइरहेका छन् । तर, कार्यालय प्रमुख नभएका कारण उनीहरूले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । नायबसुब्बा कठायतले कार्यालय प्रमुखको पदपूर्ति कहिले हुन्छ भन्नेबारे कुनै सूचना प्राप्त नभएको बताए ।
ईलाका प्रशासन कार्यालयमा प्रमुख नभएका कारण नागरिकता तथा अन्य सेवाका लागि जिल्ला प्रशासन कार्यालय पठाउने गरेको उनले बताए ।
सो इलाका प्रशासन कार्यालयमा एक महिनाअघिसम्म नगेन्द्रप्रसाद जोशी कार्यालय प्रमुख थिए । छ महिना सो पदमा कार्य गरेको जोशी त्यसपछि महाकाली अञ्चल अस्पतालमा सरुवा भएर गएका छन् ।
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले ईलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीमा कर्मचारी खटाउनका लागि गृह मन्त्रालयमा पत्राचार भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार