७ बैशाख २०८१, शुक्रबार

बझाङमा खोरेत रोगको महामारी



बझाङ । बझाङका विभिन्न गाउँमा केही समययता बाख्रामा खोरेत रोगको महामारी फैलिएको छ । बाख्रामा खोरेत रोग फैलिए पनि आवश्यक औषधि नपाइएको पशुपालक किसानले गुनासो गरेका छन् ।

फाइल तस्बिर

खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६, बयानागाउँका बाख्रापालक किसान लोकेन्द्रबहादुर थापाका अनुसार उनले पालेका सबै ६५ बाख्रामा खोरेत रोग देखापरेको छ । ‘यीमध्ये २७ बाख्रा त थला परेका छन्, न घाँस खान्छन्, न हिडडुल नै गर्छन्’ उनले बाख्राको उपचारका लागि छान्नास्थित पशुसेवा कार्यालयबाट औषधि नपाइएको बताए ।
उनले औषधि लिन एक दिन पैदल हिँडेर जिल्ला पशुसेवा कार्यालयमा पुगे पनि त्यहाँबाट पनि रित्तै हात फर्किनु परेको गुनासो गरे ।
खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ का भेडापालक नवराज सिहंले पनि साउनको दोस्रो सातादेखि भेडामा खोरेत रोग लागेको बताए । उनले करिब दुई सय भेडा पालेका छन् । छान्ना पशुसेवा कार्यालयमा औषधि नहुँदा अहिलेसम्म आफ्ना १५ भेडा मरेको बताए । उनले जिल्ला पशुसेवा कार्यालयमा पनि औषधि नपाइएको गुनासो गरे ।
जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिकाका केही स्थानमा पनि पशु चौपायामा खोरेत रोग लागेको पशुपालक किसानले बताए । पशु चौपायामा मुख पाक्ने, घाँस नखाने, खुट्टा सुन्निने र पाक्ने तथा ज्वरो आउने लक्षण देखा पर्ने गरेका छन् ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नवराज कोइरालाले खोरेत रोगका कारण तीन दिनदेखि पाँच छ बाख्रा तथा गाई मरेको बताए ।
जिल्ला पशुसेवा कार्यालय प्राविधिक कर्णबहादुर खड्काले जिल्लाको मस्टा गाउँपालिकामा पहिलो पल्ट बाख्रामा खोरेत रोग देखापरेको बताए । उनले विस्तारै अन्य गाउँमा पनि यो रोग फैलिएको बताए ।
पशु प्राविधिक खड्काले खोरेत रोगको रोकथामका लागि सबै पशुमा खोरेत रोग विरद्ध भ्याक्सिन लगाउनु पर्ने बताए ।
बरिष्ठ पशुरोग चिकित्सक जीतेन्दमान श्रेष्ठले पशु चौपायाको उपचारका लागि औषधि खरिद गर्न वार्षिक तीन लाख रुपैयाँ बजेट मात्रै आउने गरेको बताए ।
बझाङमा जिल्ला पशुसेवा कार्यालय र १२ वटा पशुसेवा केन्द्र रहेका छन् । जिल्ला पशुसेवा कार्यालयबाट पशु चौपायाको उपचारका लागि सात प्रकारका औषधि नि:शुल्क रूपमा वितरण गरिनु पर्नेमा हाल दुई प्रकारका औषधि मात्रै रहेको पशुपालक किसानको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार