७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाद्वारा दुई परिवारलाई राहत प्रदान



धनगढी । दक्षिण कोरियामा रोजगार तथा अन्य कामको शिलशिलामा रहेका सुदूरपश्चिमका नेपालीहरूको संस्थाले कैलाली र कञ्चनपुरका दुई परिवारलाई राहत प्रदान गरेको छ ।
सुदूरपश्चिम गु्रप दक्षिण कोरियाले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका धनगढी उपमहानगरपालिकाका छविलाल चौधरीका परिवारलाई राहत स्वरूप ४० हजार रुपैयाँ राहत रकम प्रदान गरेको छ ।
त्यस्तै, केही महिनाअघि भारतीय सुरक्षा निकाय एसएसबीको गोली प्रहारबाट ज्यान गुमाएका कञ्चनपुर, पुनर्बासका गोविन्द गौतमका परिवारलाई ३१ हजार रुपैयाँ सहयोग प्रदान गरेको संस्थाका संयोजक केशव बमले जानकारी दिए ।
आइतबार एक संक्षिप्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले दक्षिण कोरियामा रोजगारका क्रममा केही महिनाअघि ज्यान गुमाएका छविलालका बुबा जीतबहादुर चौधरीलाई सो राहत रकम हस्तान्तरण गरे ।
छविलालको गत मे २१ का दिन कोरियाको औद्योगिक दुर्घटनामा मृत्यु भएको थियो । उनी काम गर्ने एक कम्पनीले उनलाई सुरक्षा सामग्री बिना नै ट्ंयाकीमा पठाएकोमा उनको निस्सासिर मृत्यु भएको संयोजक बमले बताए ।
राहत रकम हस्तान्तरण कार्यक्रममा पीडित चौधरी परिवारले नगर प्रमुख वड समक्ष उचित क्षतिपूर्तिका लागि पहल गरिदिन आग्रह गरे । छविलालको बुबा जीतबहादुरले राज्यबाट पाउनुपर्ने सेवासुविधा अझै नपाएको गुनासो गरे ।
सो अवसरमा नगर प्रमुख वडले पीडित परिवारले राज्यबाट पाउनुपर्ने सेवासुविधा र क्षतिपूर्तिका लागि यथासिघ्र पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाका तर्फबाट प्रदान गरिएको रकम पुनर्वास नगरपालिका प्रमुख जीवनराज थापाले शहीद गौतमकापरिवारलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार