१३ बैशाख २०८१, बिहीबार

खप्तड गोल्डकप: भुटानको डकस्टार विजयी



धनगढी  ।  क्यान्चो तोवगेको ह्याट्रिकसंगै भुटानको डकस्टार फुटबल क्लबले वेष्ट काठमाडौँलाई ४–१ ले पराजित गरेको छ । जीतसंगै डकस्टार धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर गु्रप सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
धनगढी क्षेत्रीय रङ्गशालामा शुक्रवार भएको खेलमा डकस्टारले खेलको अन्त्यतिर नाटकीय ढङ्गले खेल आफ्नो पक्षमा पारेको थियो । क्यान्चोले ७१ औँ, ८४ औँ र ८९ औँ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक मात्रै गरेनन्, आफ्नो टिमलाई ४–१ ले विजयी समेत गराए । क्यान्चोले खेलको ५९ औँ मिनेटमा पहेलो कार्ड पनि पाएका थिए ।
खेलको पूर्वाद्धमा भने वेष्ट काठमाडौँ हाबी भएको थियो । वेष्ट काठमाडौँका कप्तान समीरजंग कार्कीले गोल गर्दै खेलको पहिलो हापसम्म एक गोलको अग्रता दिलाएका थिए । तर, खेलका दोस्रो हाफमा भने वेष्ट काठमाडौँले गतिलो खेल प्रदर्शन गर्न सकेन । ५६ औँ मिनेटमा डकस्टारका पेम्बा राईले गोल गरेर स्कोर बराबरीमा ल्याए ।
त्यसपछि डकस्टारले लगातार आक्रामक खेल प्रदर्शन गर्‍यो । र, भुटानको राष्ट्रिय टोलीका सदस्य समेत रहेका क्यान्चोले लगातार गोल गर्दै विजय दिलाए ।
माघ १ गतेसम्म सञ्चालन हुने सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत आज (शनिवार) भारतको दिल्ली युनाईटेड र काठमाडांैको ब्वाईज युनियन क्लवबीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम–११ क्लबले जनाएको छ ।
प्रतियोगितामा नेपालका ‘ए‘ डिभिजन र नेपाल आर्मीका गरी १० तथा भुटान र भारतका एक/एक टिमको सहभागिता रहेको छ । गोल्डकप विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले घोषणा गरेको छ ।

 

सम्बन्धित समाचार

भागेश्वर खप्तड गोल्डकप फुटबल सुरु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार