१३ बैशाख २०८१, बिहीबार

डीपीएलका लागि छ टीम, अनर र कप्तान घोषणा



धनगढी  ।  सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) का लागि बिहीबार टिम, अनर र कप्तान घोषणा भएका छन् । बिहीबार काठमाडौँमा डिपिएलका लागि छनोट भएका टिम, अनर (मालिक) र कप्तानको घोषणा गरियो ।
डिपिएलमा देशभरिका विभिन्न छ सहरबाट टिम छनोट गरिएका छन् । सबै टिमका कप्तान नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तान वा सदस्य रहेका खेलाडी छन् ।
बिहीबार काठमाडौँमा भएको घोषणा अनुसार सृजनशील युवा क्लब (सीआइवी) अत्तरियाका अनर नरबहादुर राई रहेका छन् भने यो टिमका कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।
त्यस्तै, गोल्डेनगेट इन्टरनेशनल कलेज, काठमाडौँका अनर रमेश सिलवाल र कप्तान वसन्त रेग्मी रहेका छन् । विराटनगर किङ्गस महालक्ष्मी केवलका अनर पारस लुनिया, कोअनर प्रफुल्ल वैद्य र कप्तान शरद भेषवाकर छन् ।
त्यस्तै, रुपन्देही च्यालेन्जर्स एसआर गु्रपका अनर सुरज उप्रेती, कोअनर रोमित बज्राचार्य र कप्तान शक्ति गौचन रहेका छन् । कञ्चनपुर आइकोनिकका अनर पिताम्वर जोशी, कोअनरहरु अशोक पाण्डे, धिरज बोहरा, डाक्टर नेत्रराज चटौत र लक्ष्मी पाण्डे तथा कप्तान विनोद भण्डारी रहेका छन् ।
यस्तै टिम चौराहा, धनगढीका अनर राजकुमार श्रेष्ठ, कोअनरहरु सूर्य गुरुङ, शाहनवाज आलम, गगन केसी, तथा पुष्कर ओझा र कप्तान पारस खड्का रहेका छन् ।
सबै कप्तानहरुले समान एक लाख पचास हजार रुपैयाँ पारिश्रमिक पाउने जनाइएको छ । धनगढी क्रिकेट एकेडेमीले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रतियोगितामा भाग लिन दुई सय सत्र खेलाडीले नाम लेखाएका छन् । उनीहरू पुस २३ गते अक्सन (लिलामी) प्रक्रियाबाट छानिने जनाइएको छ । छनोट भएका खेलाडीहरुको आधार मूल्य २० हजारदेखि ५० हजारसम्म हुनेछ ।
प्रतियोगिताको विजेतालाई १५ लाख र उपविजेतालाई सात लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै, प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटिआर २०० अपाचे मोटरसाइकल पाउने छन् । प्रतियोगितामा कूल पुरस्कार राशि २८ लाख ५० हजार रुपैयाँ रहेको छ ।
एकेडेमीका अध्यक्ष सुवास शाहीका अनुसार प्रतियोगिताको अनुमानित लागत करिब एक करोड ६० लाख रुपैयाँ रहने छ ।
प्रतियोगितामा दर्शकहरुका लागि टिकट दर ५० रहने र विद्यार्थीहरूलाई ४० प्रतिशत छुटको व्यवस्था गरिने जनाइएको छ । टिकटबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका पूर्व प्रशिक्षक स्वर्गीय अर्जुन खड्काका छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइने छ । त्यस्तै, १५ प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणका लागि छुट्याइने र १५ प्रतिशत रकम सहभागी टिमहरुलाई दिइने उनले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको छ । त्यस्तै, सहप्रायोजकमा होटेल डिभोटी, बेल्स क्याफे, ओम प्यालेस, रैका टुर्स एन्ड ट्राभल्स, दक्षिणकाली इन्कर्पोरेटेड, होटेल जलसा र चौधरी बुक डिपो छन् ।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, कैलाली जिल्ला विकास समिति, धनगढी उपमहानगरपालिका, नेपाल क्रिकेट प्लेयर्स एसोसिएसन, होटेल व्यवसायी सङ्घ कैलाली, कैलाली उद्योग वाणिज्य सङ्घ, सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ प्रतियोगिताको प्रवद्र्धकका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार