११ बैशाख २०८१, मंगलवार

भागेश्वर खप्तड गोल्डकप फुटबल सुरु



धनगढी  ।  धनगढीमा बिहीबारदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
धनगढी क्षेत्रीय रङ्गशालामा सुरु भएको प्रतियोगिताको एक समारोहबीच सांसद पुष्करनाथ ओझाले उद्घाटन गरे ।
उद्घाटन समारोह आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको थियो । सो अवसरमा एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आगामी माघ १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन, नेपाल आर्मीका गरी १० टिम तथा भारत तथा भुटानको एक/एक टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
गोल्डकप विजेताले पाँच लाख र उपविजेता दुई लाख ५० हजार रुपैयासहित ट्रफी प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा खेलका विभिन्न पक्षमा उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै, प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको मुख्य प्रायोजक भागेश्वर गु्रप रहेको छ । आयोजक क्लबका अनुसार सहप्रायोजकमा नेपाल टेलिकम र सहउपप्रयोजक सेवा नर्सिङ होम अत्तरिया रहेका छन् ।
त्यसै गरी, प्रायोजकमा यामाहा, सोना सिमेन्ट, मानाङक सहकारी, थेगिस कन्स्ट्रक्सन, नेविको विष्कुट, सुदूरपश्चिम यातायात, कैलाली अस्पताल र महेन्द्रा रहेका छन् ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनमा ७० लाख रुपैयाँ बढी खर्च हुनेछ । प्रत्येक खेलको टेलिभिजनमार्फत प्रसारणको पनि व्यवस्था मिलाइएको जनाइएको छ ।
प्रतियोगिताको बिहीबार भएको उद्घाटन खेल भारतको पञ्जाव फुटबल क्लबले जितेको छ ।
पञ्जाब फुटबल क्लबले नेपालगञ्ज–११ लाई ३–२ ले हरायो । पञ्जाबका लक्कीले दुई र रिमीले एक गोल गरे ।
नेपालगञ्ज–११ का बिक्रमसिंह ठकुरीले एक गोल गरेका थिए । नेपालगञ्जले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको म्यान अफ द म्याच पञ्जावका गोलरक्षक गुरजित सिंह भए ।
प्रतियोगिता अन्तर्गत आज (शुक्रवार) वेष्ट काठमाडौँ र डुक स्टार भुटानबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार