१५ चैत्र २०८०, बिहीबार

नवजीवनको मोवाइल बैंकिङ सेवा शुरु



धनगढी । नवजीवन सहकारी संस्थाले आज (सोमबार) देखि मोवाईल बैंकिङ्ग सेवा शुभारम्भ गर्ने भएको छ । प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न एवं नयाँ सहकारी आयामहरूलाई अंगिकार गर्नका लागि संस्थाले सो सेवाको शुभारम्भ गर्न लागेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
संस्थाका उपाध्यक्ष गोविन्दराज जोशीले सदस्यहरूको चाहना, आवश्यकतालाई मध्यनजर गर्दै यो सेवाको शभारम्भ गर्न लागेको बताए । उनले मोबाईल बैकिङको कारोवार धनगढीमा कर्मसियल बैंकहरूले विगत पाँच वर्षदेखि गर्दै आएको भए पनि सहकारीमा नवजीवनले यो सेवा पहिलो पटक सुचारु गर्न लागेको बताए । उनले सेवा शुभारम्भ भएपछि संस्थाका सदस्यहरूले कार्यालयमा धाउनुपर्ने झन्झट हट्ने बताए ।
संस्थाका सदस्यहरूले यो सेवा अन्तर्गत खातामा रहेको मौज्दातको जानकारी लिन सक्ने, कार्यालयमा नगई खाताको रकम अर्को खातामा पठाउन सक्ने, मोबाईल, टेलिफोन, ईन्टरनेट विल भुक्तानी गर्न सक्ने, रकम झिक्दा तथा जम्मा गर्दा मोबाईलमा जानकारी पाउने, नवजीवन शाखाका बारेमा जानकारी प्राप्त गर्ने लगायत धेरै सुविधाहरू यो सेवामा रहेको संस्थाका उपाध्यक्ष जोशीले बताए । संस्थाका सदस्यहरूले यो सेवा सुचारु गर्नका लागि दुई सय ७५ शुल्क तोकिएको छ ।
साथै उनले सहकारीले आगामी आर्थिक वर्ष भित्र लघुवित्त कार्यक्रम तथा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए ।
पत्रकार सम्मेलनमा सहकारीले आर्थिक वर्ष २०७३/७४ मा निक्षेप दुई अर्व ४२ करोड ९१ लाख ९१ हजार, कर्जा लगानी दुई अर्ब १८ करोड ४७ लाख ८५ हजार रहेको जानकारी दिए । त्यस्तै, सहकारीले ९ करोड ५९ लाख ६६ हजार मुनाफा, १३ करोड ९४ लाख ५६ हजार शेयर पुँजी, १५ करोड ३७ लाख जगेडा कोष रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार