७ बैशाख २०८१, शुक्रबार

रानी जमरा कुलरिया सिंचाईंं आयोजना : कमिशनको खेलका कारण समस्या



टीकापुर । पूर्वी कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाईं आयोजनामा कमिशनको खेलका कारण निर्माण कार्य प्रभावित भइरहेको आरोप ठेकदारहरूले लगाएका छन् ।

आयोजनाका कर्मचारीहरूले सो आयोजना निर्माणको ठेक्कपट्टा पाएका कम्पनीहरूसंग ठूलो रकम कमिशन माग्ने गरेका कारण काममा बाधा भइरहेको उनीहरूको आरोप छ ।
गत आर्थिक वर्ष २०७३/०७४ सो सिंचाईं आयोजनाको नहर तथा नदी तटबन्ध निर्माणका लागि एक अर्ब ३८ करोड रुपैयाँ निकासा भएको थियो । आयोजना अन्तर्गत पथरैया नदीमा तटबन्ध निर्माणको ठेक्कापट्टा पाएको राजेन्द्र एमके रोयल जेभी कन्स्ट्रक्सनसंग आयोजनाका कर्मचारीले १५ प्रतिशत रकम कमिशन मागेका छन् ।
राजेन्द्र एमके कन्स्ट्रक्सनका चक्रबहादुर शाहले सम्झौता गर्दाको बेलाको तीन प्रतिशत, कार्यालयका लागि १० प्रतिशत र फिल्ड कर्मचारीका लागि दुई प्रतिशत गरी १५ प्रतिशत रकम कमिशन माग्ने गरेको बताए । सो कन्स्ट्रक्सन कम्पनीले पथरैया नदी तटबन्ध निर्माणका लागि चार करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको छ ।
ठकेदार शाहले कर्मचारीले मागेको कमिशन दिन नमानेका कारण बिल रोक्ने, भइसकेको कामको कम मूल्यांकन गरेर दु:ख दिने गरेको आरोप लगाए । काम सम्पन्न गरी एक करोड ३५ लाख रुपैयाँ भुक्तानीका लागि बिल पेस गरे पनि ९२ लाख रुपैयाँको बिल मात्र स्वीकृत भएको शाहले बताए ।
त्यो मध्येको एउटा विल ८२ लाखको थियो, तर काटकुट गरेर ४५ लाख मात्र दिन खोजियो शाहले भने हामीले त्यो रकम लिन मानेनौं । आयोजनाका प्रमुख सुशीलचन्द्र आचार्यलाई विल घटाउनुको कारण सोध्दा अनविज्ञता देखाएको पनि शाहले बताए ।
उनले आगामी भदौ महिनासम्म ठेक्का सम्झौता रहेको बताए । ‘कमिशनका कारण हिउदमा काममा ढिलाई भयो, अहिले वर्षायाममा ढुंगा, गिट्टी, बालुवा निकासी बन्द हुने भएकाले कम बन्द छ’, उनले भने– ‘कमिशनको खेलका कारण आयोजनाको काममा नै बाधा परिरहेको छ ।’
अर्को निर्माण कम्पनी राजेन्द्र एण्ड स्वाँर जेभी कन्स्ट्रक्सनका लक्ष्मण स्वाँरले पनि कर्मचारीहरूले मागेको कमिशन रकम नदिएका कारण बिल भुक्तानीमा ढिलाईका साथै कामको मूल्यांकन पनि कम गर्ने गरेको आरोप लगाए ।
सो कन्स्ट्रक्सन कम्पनीले पथरैया नदी तटबन्ध निर्माणका लागि दुई करोड ७६ लाख ५८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । ‘गत माघमा ठेक्का स्वीकृत भएको थियो’ उनले भने– ‘कमिशनको खेलका कारण बैशाखमा आएर मात्रै सम्झौतामा हस्ताक्षर भयो ।’ उनले कमिशन नदिएका कारण तीन मिटरको जालीलाई दुइ मटिर ९० सेन्टिमिटरको मात्रै बनाइएर भुक्तानी दिन खोजेको पनि बताए ।
अर्कोतिर, निर्माण कार्यमा संलग्न मजदूरहरूले ज्याला नपाएको गुनासो गरेका छन् । तटबन्ध निर्माणमा काम गर्ने भजनी नगरपालिका–८ का देवीसरा न्यौपानेले अझैसम्म पनि आफूले ज्याला नपाएको बताइन् । अर्की मजदूर देवीकला ढुंगानाले पनि ठेकदारसंग पटकपटक ज्याला माग्दा पनि नपाएको बताइन् ।
रानी जमरा कुलरिया सिंचाईं आयोजनाका विभिन्न निर्माण कार्यका लागि आर्थिक वर्ष २०७३/०७४ मा अम्मर कन्स्ट्रक्सन, केएस कन्स्ट्रक्सन, कुमार कन्स्ट्रक्सन, ईन्द्रधनुष जागृति कन्स्ट्रक्सन, राजेन्द्र एण्ड स्वाँर जेभी कन्स्ट्रक्सन र राजेन्द्र एण्ड रोयल जेभी कन्स्ट्रक्सनले ठेक्का पाएका छन् । सो आयोजनामा काम गर्ने सबै निर्माण कम्पनीहरूले पनि कर्मचारीहरूले कमिशन माग्ने गरेको आरोप लगाए । कतिपयले बाध्य भएर कमिशन दिएरै भए पनि विल भुक्तानी लिएको बताएका छन् ।
सिंचाईं आयोजनाका प्रमुख सुशीलचन्द्र आचार्यले कोहीकसैसंग कुनै कमिशन नमागिएको दाबी गरे । आयोजना प्रमुख आचार्यले कोही कर्मचारीले कमिशन माग गरेको पाइएमा कारबाही गर्ने पनि बताए ।
रानी जमरा कुलरिया सिंचाईं आयोजना निर्माणका लागि नेपाल सरकारको छ अर्ब र विश्व बैंकको छ अर्ब गरी १२ अर्ब रुपैयाँको लगानी रहेको छ । २०६९ सालमा निर्माण कार्य शुरु भएको आयोजना आर्थिक वर्ष २०७६/०७७ मा निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको छ ।
रानी जमरा कुलरिया सिंचाईं आयोजनाबाट कैलालीका पथरैया, मुनुवा, टीकापुर, नारायणपुर, धनसिंहपुर लगायतका क्षेत्रमा २५ हजार हेक्टर बढी जमिनमा बाह्रैमहिना सिंचाईं सुविधा उपलब्ध हुने छ । त्यस्तै, आयोजनाबाट चार दशमलव आठ मेगावाट विद्युत उत्पादन हुने आयोजना प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार