१३ बैशाख २०८१, बिहीबार

भेडापालक जुटे मौसमी होटल व्यावसायमा



बझाङ । परम्परागत रूपमा भेडापालन पेसा गर्दै आएका बझाङको दुर्गम हिमाली गाउँपालिका काँडाका अधिकांस बासिन्दा अहिले मौसमी होटल व्यावसायमा जुटेका छन् ।
कुनैबेला भेडा च्याङग्राबाट खाद्यान्न, नून र अन्य सामान गाँउगाँउमा ढुवानी गरेर गुजारा गर्दै आएका काँडाबासी अहिले बझाङदेखि चीनको तिब्बतमा समेत अस्थायी होटल चलाइरहेका छन् ।
‘भेडा पालेर धेरै दु:ख पाइयो’ काँडा गाउँपालिका–६, धुलीका महिमान तामाङले भने– ‘जंगल, जंगल चहार्दै हिड्नु पर्ने, घरमा कोही मान्छे मरेको छ भने पनि भेडा छोडेर जान नपाइने, त्यत्रो सम्पत्ती चट्क्कै छोडनु पनि कसरी ?’
उनी अहिले परिवार सहित वर्षायाममा तिब्बतको बैंस भन्ने ठाँउमा होटल चलाउँछन् । र, असोज मध्यतिर त्यहाँ भएको सामान ओडारमा लुकाएर छ महिनाका लागि बझाङको सदरमुकाम चैनपुरमा होटल खोल्छन् ।
काँडा गाउँपालिकाका १५ परिवार बढी भेडापालकले तिब्बत जाने बाटोको विभिन्न ठाँउमा अस्थायी होटल सञ्चालन गरेका छन् । त्यस्तै, १९ जनाले तिब्बत जाने बाटोको नेपाली भुभागको विभिन्न ठाँउमा होटल खोलेका छन् । काँडा कै आसपासका गाउँका ६० जना जतिले भेडापालन पेसा छोडेर नयाँ भन्ने ठाउँमा होटल खोलेर बसेका पूर्व भेडापालक डोल्मा तामाङले बताइन् ।
डोल्माको अनुभवमा भेडा पाल्नुभन्दा होटल सञ्चालन गर्दा कम दु:ख बेहोर्नु परेको छ । ‘यो सिजनमा ममेरो होटलमा करिब दुई हजार ग्राहक बसे होलान्’ उनले छ महिनासम्म होटल चलाउँदा चारदेखि पाँच लाख रुपैयाँ शुद्ध नाफा हुने गरेको बताइन् ।
उनी पनि हिउँदको समयमा चैनपुरमा होटल सञ्चालन गर्छिन् । बझाङको बाटो भएर ताक्लाकोट तिब्बत जानेको संख्या बढ्न थाले पछि बाटोमा होटल थाप्नेको संख्या पनि प्रत्येक वर्ष बढी रहेको छ ।
केही वर्ष अघिसम्म काँडाका प्राय: परिवारले भेडापालन पेसा अँगालेकोमा अहिले धेरैले यो पेसा त्यागेर मौसमी होटल, जडिबुटी र अन्य व्यापारमा लागेको काँडा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी बताउँछन् ।
अझै पनि काँडामा दुई सय बढी परिवार भेडापालनमा नै संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार