७ बैशाख २०८१, शुक्रबार

धनगढीमा शैक्षिक मेलाको तयारी पूरा



धनगढी । विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउन्टेन टेलिभिजन र भक्तिदर्शनको सह–आयोजनामा नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति वहस कार्यक्रमको तयारी पूरा भएको छ ।
शुक्रबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा पद्मा मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले धनगढीको ओम प्यालेसमा असार ३१ र साउन १ गते हुने नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति वहस कार्यक्रमको तयारी पूरा भएको बताए ।
केन्द्र स्तरमा शैक्षिक जानकारी दिने उद्देश्यले विभिन्न काम भए पनि अन्य स्थानमा उनले शैक्षिक जानकारीका लागि कुनै कार्यक्रम नभएकोले धनगढीमा शैक्षिक मेलाको आयोजना गर्न लागेका बताए ।
पद्मा मिडिया गु्रपका सुदूरपश्चिम क्षेत्रीय प्रसारण केन्द्रका प्रमुख श्रवण देउवाले शैक्षिक प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागिएको बताए । उनले सबैलाई मेलाको अवलोकन गर्न आग्रह गरे ।
मेला असार २३ र २४ गते विराटनगरको होटल एसियाटिकमा र २७ र २८ गते विरगंजको जैन धर्मशालामा सम्पन्न भइसकेको छ । मेला क्रमश: नेपालगंज र धनगढीमा सञ्चालन हुने तयारी अनुरूप असार ३१ र साउन १ गते धनगढीको ओम प्यालेस र साउन ४ र ५ गते नेपालगंजको सिद्धार्थ कट्टेजमा मेला सम्पन्न गरिने छ ।
मेलामा विभिन्न विश्वविद्यालय र कलेजका गरी जम्मा ३० भन्दा बढी स्टलहरू रहनेछन् भने करिब पाँच हजार बढी विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
शैक्षिक मेला संगसंगै उच्चस्तरीय शिक्षा नीति बहस कार्यक्रम पनि हुनेछ, जसमा नेपाल सरकार, शिक्षामन्त्रालय, शिक्षा विभागका प्रतिनिधी, विज्ञ, शिक्षा क्षेत्रका नीतिनिर्माताहरू बिचमा बहस हुने आयोजकले जनाएको छ ।
बहसलाई माउन्टेन टेलिभिजन र बिजनेस प्लस टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । मेलातोकिएको दिनविहान ९:३० बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।
मेलाको पूर्व सन्ध्यामा धनगढीको पार्कमोडदेखि चौराह हुँदै ओम प्यालेस सम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्टलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार