७ बैशाख २०८१, शुक्रबार

मानसिक तनाव घटाउने ७ तरिका



१‍‍.  काम गर्ने राम्रो वातावरण
राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर चल्दैन । त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ । टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण बनाउन सहयोग गर्नुपर्छ अरुले वा कार्यालय प्रमुखले ध्यान दिनुपर्छ भन्ने र आफू पन्छिने भन्दा, आफैं अघि सरेर काम गर्ने वातावरण बनाउने प्रयास गर्नु उत्तम मानिन्छ ।
२. राम्रो सम्बन्ध
अफिसमा काम गर्ने स्टाफसंग राम्रो सम्वन्ध र विश्वासको वातावरण बनाउनुपर्छ । एक अर्कामा विश्वास, प्रेम, सदभाव भएन भने अफिसको वातावरण राम्रो हुन सक्दैन । एक आपसमा विश्वासको वातावरण भयो भने यसले टिमवर्कका लागि धेरै फाइदा पुग्छ ।
३. गफ गरेर समय खेर नफाल्ने
राम्रो काम गर्न समय चाहिन्छ, काममा ध्यान दिनुपर्ने हुन्छ । यस्तो बेलामा फोनमा अनावश्यक रुपले, जरुरी नभएका कुरामा वा अनावश्यक गफ गरेर समय बिताउनु पर्‍यो भने राम्रो काम गर्न सकिदैन र काम पूरा हुँदैन । आफूले सुरु गरेको काम पूरा भैसकेपछि भने केही फोनकल लिन र छोटो गफ पनि गर्न सकिन्छ । त्यसका लागि केही समय पछि कुरा गर्न सकिन्छ ।
४. सधैं सकारात्मक कुरामा बढी जोड दिने
अरुको विचार आफूसंग नमिल्न सक्छ तर त्यसो भन्दैमा त्यो विचार नै ठिक होइन भन्ने निस्कर्ष निकाल्नु हुँदैन । त्यस्तै गरेर अरुसंग कुरा गर्दा केही मानिसले आफ्ना कुरा मात्र बढी गर्ने गर्छन् र अरुको कुरा सुन्न चाहँदैनन् । अरुको कुरा राम्रोसंग नसुनिदिनु भनेको उनको अनादर गर्नु हो त्यसैले अरुको कुरा ध्यान दिएर सुन्ने बानी बसालौ ।
केही मानिस अरुको नराम्रो कुरा मात्र कोट्याउन चाहन्छन् त्यस्तो गर्दा संबन्ध चिसो हुन्छ । नराम्रो कुरालाई वास्ता नगरेर राम्रो कुरा वा सकारात्मक कुरामा छलफल अघि बढाउनु राम्रो हुन्छ ।
५. राम्रो कामको जस आफूले मात्र नलिने
हामीहरु सबैको प्रयासले यो काम सफल हुन सकेको हो भनेर आफ्नो टिमलाई नै जस दिने बानी बसाल्नुपर्छ । सम्पन्न गरेको काममा कसैको बढी र कसैको घटी मेहनत परेको हु सक्छ तै पनि जस टिमले लिनु राम्रो हुन्छ ।
६.  बिग्रेको कामको दोष अरुमाथि नथोपार्ने
राम्रो कामको जस आफूले लिने र बिग्रेको कामको दोष अरुमाथि थोपर्ने बानी कसै–कसैको हुन्छ । यस्तो कहिल्यै पनि गर्नु हुँदैन । नराम्रो कामको दोष आफूले लिन सक्नु धेरै ठूलो कुरा हो । त्यसो गर्दा आफ्नो टिमले तपाईलाई झन् आदर भावले हेर्नेछ ।
७. साथीहरुको काममा सहयोग गर्ने
प्राविधिक कठिनाईले, ज्ञानको कमी, नयाँ कर्मचारी भएकालेजस्ता विभिन्न कारण कार्यालयका कर्मचारीलाई काम पूरा गर्न कठिनाई हुनसक्छ, त्यस्तो बेलामा चाहिएको छ भने सहयोग दिनु राम्रो हुन्छ । आफ्ना सहकर्मीहरुले राम्रो काम गर्नु भनेको पनि टिमको काम नराम्रो हुनु भनेको हो ।

साभार : स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार