१३ बैशाख २०८१, बिहीबार

खप्तड गोल्डको तयारी पूरा



धनगढी  ।  कैलालीको धनगढी रंगशालामा पुस २१ गतेदेखि हुने प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गोल्डकप–२०७३ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
सुदूरपश्चिम–११ स्पोर्टस् क्लव धनगढीको आयोजनामा हुने प्रतियोगिताको विजेतालाई पाँच लाख तथा उपविजेतालाई दुई लाख ५१ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिने बताइएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारीअनुसार पुस २१ देखि माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक भागेश्वर ग्रुप रहेको छ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यामाहा सेलुटो मोटरसाइकल र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच/पाँच हजार पुरस्कार प्रदान गरिने क्लवका महासचिव प्रकाश शाहीले जानकारी दिए ।
प्रतियोगितामा नेपाल मनाङ मस्र्याङ्दी क्लव, संकटा क्लव, त्रिभुवन आर्मी क्लव, वेष्ट काठमाडौं एफसी, सहारा क्लव पोखरा, जगदम्ब लुम्बिनी–११, नेपालगंज–११, सुदूरपश्चिम–११, दिल्ली एफसी भारत, पञ्जाप एफसी भारतलगायतका १२ वटा ‘ए’ डिभिजन क्लवको सहभागिता रहने छ । साथै क्लवले प्रतियोगिताका लागि जर्सीसमेत सार्वजनिक गरेका छ ।
क्लवका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन भागेश्वर ग्रुपका सञ्चालक टंक बोगटीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार