८ बैशाख २०८१, शनिबार

कुष्ठरोग रोकथाम परियोजना लागू



धनगढी । कैलालीमा कुष्ठरोग निवारणका लागि परियोजना लागू भएको छ । कुष्ठरोग लाग्नबाट जोगाउन तथा कुष्ठरोगीको संख्या घटाउने उद्देश्यले परियोजना लागू गरिएको जनाइएको छ ।
बिहीबार धनगढीमा परियोजना सम्बन्धि छलफल गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईको अध्यक्षतामा भएको छलफल तथा बैठकमा एनएलआरका नेशनल कोअर्डीनेटर नन्दप्रसाद बास्तोलाले कुष्ठरोगको अहिलेको अवस्था र शुरु हुन गइरहेको परियोजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा एनएलआरका लभि शाक्यले कार्यक्रमका साथै कुष्ठरोगबारे जानकारी गराएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका कुष्ठरोग सम्बन्धि कार्यक्रमका फोकलपर्सन दीपेन्द्र जोशीले कैलालीको कुष्ठरोगको अवस्थाबारे जानकारी गराएका थिए ।
उनले ३/४ वर्ष पहिले वार्षिक एक सय १५ भन्दा बढी कुष्ठरोगी आउने गरेको भए पनि गत वर्ष ९३ नयाँ केस पत्ता लागेको बताए ।
त्यस्तै, चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ८६ जना नयाँ कुष्ठरोगी पत्ता लागेको जोशीले बताए । जोशीका अनुसार यो दर हेर्दा कैलालीमा अझै प्रति १० हजारमा एकभन्दा बढी कुष्ठरोगी भेटिने गरेका छन् ।
छलफल र परियोजना बारे जानकारीपछि कुष्ठरोग रोकथामका लागि जिल्ला स्तरको कार्यदल समेत गठन गरिएको छ । जनस्वास्थ्य प्रमुख संयोजक रहने गरी गठन गरिएको कार्यदलमा, जिल्ला प्रशासन, जिसस, महिला तथा बालबालिका कार्यालय, जिल्ला शिक्षा कार्यालय, पत्रकार लगायत सदस्य रहेका छन् । यस कार्यादलले परियोजनाको गतिबिधिबारे समय समयमा जानकारी लिने, अनुगमन गर्ने र देखिएका समस्या समाधानका लागि छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार