६ बैशाख २०८१, बिहीबार

वादी समुदाय वस्तीमा भोट माग्न आउनेको ताँती



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३, बल्चौरमा रहेको वादी समुदायको वस्तीमा अहिले दिनहुँ मत माग्न आउने उम्मेदवारहरूको ताँती लाग्ने गरेको छ । हरेक दिनजसो नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलमध्ये कुनै न कुनै दलका उम्मेदवार मत माग्न घरदैलोमा पुग्ने गरेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरू आकर्षक नारा र आश्वासनसहित घरआँगनमा आउने गरेको उनीहरूले बताए । विगतका चुनावमा पनि राजनीतिक दलहरू यसैगरी मत माग्न आएका थिए होलान्, आश्वासन दिए होलान्, अब के गर्नुहुन्छ त ? अनुमोदन दैनिकको जिज्ञासामा वादीहरूले एक स्वरमा भने– ‘अब आश्वासन दिएर मात्र पुग्दैन, गाँस, बास र कपासको ग्यारेण्टी गरेमात्र भोट दिनेछौं ।

वादी समुदाय वस्ती बलचौर, कैलाली

१२ वर्षदेखि सो वस्तीको एक झुपडीमा बस्दै आएकी राधिका वादीले भनिन्– ‘हामी यो पार्टी वा ऊ पार्टीलाई होइन्, जसले गाँस, बास र कपासको व्यवस्था गर्छु भनेर लिखित प्रतिवद्धता दिन्छ उसैलाई भोट दिनेछौं ।’
अहिले उनको घरमा दैनिकजसो उम्मेदवार आउने र आश्वासन दिने गरेको उनले बताइन् । ‘सबैले मलाई चुनाव जिताउनु होस् म तपाईहरूको माग पुरा गर्छु भन्ने गरेका छन्’ उनी भन्छिन् ।
२०७० सालको संविधान सभाको निर्वाचनमा पनि राजनीतिक दलहरूले यस्तै आश्वासन दिएको स्मरण गर्दै उनले भनिन्– ‘विजयी भएपछि त हाम्रो वस्तीमा पाइला नै टेकेनन् । फेरि पनि यस्तै गर्ने हुन कि भनेर हामी अहिले लिखित प्रतिवद्धता मागिरहेका छौं ।’
उनी जस्तै दीपा वादीले पनि चुनावको समयमा उम्मेदवारहरूले वादीको समस्या समाधान गर्छु भनेर आश्वासन बाड्ने तर, पुरा नगर्ने गरेको गुनासो गरिन् । ‘अन्य समयमा हाम्रो पीडा बुझ्न कोही आउँदैन्न’ उनले भनिन्– ‘निर्वाचन आयो कि हाम्रो घरदैलोमै धाएर विभिन्न आश्वासन सहित विभिन्न सामग्री दिनेको पनि भीड लाग्ने गर्दछ ।’
बल्चौरमा हाल वादी समुदायको दुई सय ९२ घरधुरी रहेको छ । उनीहरूको आफ्नो न बस्ने घर न छाक टार्ने खेतीयोग्य जमिन नै रहेको बताए । सरकारले जनता आवास कार्यक्रम अन्तर्गत जिल्लाभित्र बादी समुदायको घर निर्माण गरिरहेको छ ।
‘सरकारले वादी समुदायको ५० घर निर्माण गर्ने भन्यो तर, बल्चौर क्षेत्रमा भने एउटा पनि घर निर्माण भएको छैन’ मनिषा वादीले गुनासो गरिन्– ‘हाम्रो समुदायमा विद्युत, खानेपानीको पहुँच छ, तर वनक्षेत्र भनेर सरकारले घर निर्माण नगर्ने भनेको छ ।’
उनले विद्युत र खानेपानीको पहुँच भएको क्षेत्रमा घर निर्माण गर्न सकिने उल्लेख गरेको भए पनि राजनीतिक दलहरूले ईच्छा नदेखाउँदा आफूहरू सो कार्यक्रमबाट वञ्चित हुनुपरेको बताइन् । २०७१ सालतिर सो वादी वस्तीमा विद्युत जडान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार