८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम दूध उत्पादनमा अझैं आत्मनिर्भर बन्न सकेन



धनगढी । पछिल्ला केही वर्षयता गाईभैंसी पालन तथा दूध उत्पादनमा बृद्धि आए पनि सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ अझैं दूध उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । सुदूरपश्चिममा अझैं पनि दैनिक २० हजार लिटर दूधको अभाव हुने गरेको छ ।
नेपाल डेरी एसोसिएसनका अनुसार सुदूरपश्चिममा दैनिक ७५ हजार लिटर दूधको माग हुने गरेको छ । तर, यस क्षेत्रमा दैनिक सरदर ५५ हजार लिटर दूध मात्रै उत्पादन हुने गरेको छ ।
‘सरकारले देशलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ’ आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले भने– राट्रिय तथ्यांक हेर्ने हो भने अहिले दैनिक दुई लाख लिटर दूध अपुग हुने गरेको छ । उनले अपुग भइरहेको दूधको परिपुर्ती आयातित दूध तथा दुग्ध पदार्थबाट भइरहेको बताए ।
अध्यक्ष केडियाका अनुसार नेपालमा दैनिक सरदर ४८ लाख लिटर दूध उत्पादन हुन्छ । त्यसमध्य आधा उत्पादनकर्ता स्वयंले उपभोग गर्छन् । ३५ प्रतिशत अनौपचारिक रूपमा प्रयोग हुन्छ भने १५ प्रतिशत दूध औपचारिक रूपमा लेवलिङ तथा प्याकेजिङ गरेर बजारमा विक्रि वितरण हुने गरेको छ ।
उनले नेपाल कृषिप्रधान देश भए पनि अझैं व्यावसायिक पशुपालनतर्फ किसानलाई आकर्षण गर्न नसक्नु प्रमुख समस्या रहेको बताए । अध्यक्ष केडियाले पशुपालनलाई व्यावसायिकरण गरेर दुग्ध उत्पादन बृद्धिमा टेवा पुर्‍याउनुपर्ने बताए । ‘दुग्ध विकासका लागि उन्नत जातका गाईभैंसीपालन जरुरी छ’ उनले भने– स्थानीय जातमा भर परिराख्ने हो भने आशातित उत्पादन सम्भव छैन ।
कार्यक्रममा नेपाल दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाश कुमार ढुङ्गेलले भने ‘सरकार ‘कृषकलाई प्रोत्साहन गरी दुग्ध विकासमा योगदान गर्न बोर्डले पहल गरिरहेको छ’ नेपाल दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाशकुमार ढुंगलले सरकार उन्नत जातका गाईंभैंसी पालनका लागि किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे ।
उनले अब पनि परम्परागत ढाँचाबाट पशुपालन भइरहेको बताए । ‘अहिले अधिकांस किसानले पशुपालन त गर्छन्, तर गाईलाई घाँस होईन बजारबाट दाना ल्याएर खुवाउँछन्’ उनले भने– यसले किसानलाई नाफ भन्दा पनि घाटामा पुर्‍याइरहेको छ । उनले पशुलाई घाँस खुवाउने बानीको विकास गर्न किसानहरूलाई आग्रह गरे ।
कार्यक्रममा एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले तीन वर्षदेखि दूधको मुल्य बृद्धि नहुँदा किसान र व्यावसायी मर्कामा परिरहेको चर्चा गरे । ‘अहिले व्यावसायीहरूले प्रतिलिटर ६० र किसानहरूले ५० रूपैयामा दूध विक्री वितरण गरिरहेका छन्’ उनले भने– यसले किसानहरूले घाटा त बेहोरिरहेका छन्, व्यावसायीहरूले पनि दैनिक दुई रूपैया घाटा बेहारिरहेका छन् ।
नेपालम अहिले दुग्ध उत्पादन व्यावसायमा चार लाख ५० हजार कृषक व्यावसायिक रूपमा आवद्ध छन् । करिब २० हजार जनाले प्रत्येक्ष रूपमा उद्योग तहमा रोजगारी पाएको एशोसिएसनले जनाएको छ । एशोसिएसनका अनुसार दुग्ध क्षेत्रमा करिव १५ अर्व रूपैयाको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार