१३ बैशाख २०८१, बिहीबार

टिकट वितरणमा भजनी नगर काँग्रेसमा व्यापक असन्तुष्टि



भजनी । उम्मेदवारी छनोटमामा एकलौटी गरिएको भन्दै क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर सभापति लगायत कैलालीको भजनी नगरपालिकाका ४५ जना बढी काँग्रेसले पदबाट राजिनामा दिएका छन् ।
भजनी नगरपालिकामा मेयर, उपमेयर तथा अधिकांस वडामा अध्यक्ष तथा सदस्यको उम्मेदवारी चयनमा एकलौटी गरिएको भन्दै उनीहरूले आइतबार आ–आफ्नो पदबाट सामुहिक रूपमा राजिनामा दिएका छन् ।
राजिनामा दिनेमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जीवनप्रसाद श्रेष्ठ, महासमिति सदस्य सरिता उप्रेती, महाधिवेशन प्रतिनिधि रामनाथ उपाध्याय, पूर्व क्षेत्रीय सभापति तेजराम चौधरी, नगर सभापति रुद्रप्रसाद जोशी, नगर सचिव टेकराज न्यौपाने, साविक थापापुर गाउँशाखा सभापति गंगा चौधरी, भजनी गाउँशाखा सभापति जंगलीप्रसाद चौधरी, पूर्व क्षेत्रीय सभापति गणेश ओझा, पूर्व जिल्ला कार्यसमिति सदस्य प्रमोद उप्रेती, क्षेत्रीय प्रतिनिधि, नगर समन्वय समितिका सदस्य र क्रियाशील सदस्य गरी ४५ जनाले पदबाट राजिनामा दिएको जनाइएको छ ।
काँग्रेसले भजनी नगरपालिकाको मेयरमा वीरबहादुर हमाल तथा उपमेयरमा भारती चौधरीलाई उम्मेदवार दिएको छ । ‘टिकट वितरणमा अधिनायकवादी शैली अपनाइयो’ आइतबार रामनाथ उपाध्यायले टेलिफोनमा अनुमोदनसंग भने– ‘पार्टी संगठनमा लामो समयदेखि काम गरेका साथीहरूलाई पाखा लगाइयो, अरु पार्टीबाट आएकाहरूलाई महत्त्व दिइयो ।’
उनले टिकट वितरणमा गरिएको मनोमानी सहन गर्न नसकेर बाध्य भएर पदबाट राजिनामा दिनु परेको बताए । ‘भजनीमा टिकट वितरणमा शुरुदेखि नै केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, र महासमिति सदस्य लक्ष्मण न्यौपाने अधिनायकवादी शैली अपनाए’ उनले भने– ‘पहिलेको संस्थापन पक्षलाई एकोहोरो पेल्ने काम भयो ।’
नगर प्रमुख पदमा दावेदार गंगा चौधरीले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताए । ‘६६ प्रतिशत थारू मतदाता भएको क्षेत्रमा हामीलाई पत्याइएन’ उनले भने– ‘म लगायतका साथीहरू स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारीमा छौं ।’
भजनीमा काँग्रेस नेताहरूले पदबाट सामुहिक राजिनामा दिएको लिखितपत्र भोली (सोमबार) जिल्ला सभापतिलाई बुझाउने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार