७ बैशाख २०८१, शुक्रबार

सञ्चयकोषमा निजी क्षेत्रको सहभागिता बढ्न सकेन



धनगढी । सञ्चय कोषको नवौं संशोधनले गरेको कानूनी व्यवस्थाबारे जानकारी नहुँदा नीजि क्षेत्रको सञ्चयकोषमा सहभागिता बृद्धि हुन सकेको छैन ।
२०७३ भदौ १६ गते भएको संशोधनले निजी संघसंथाको एक जनाले मात्रै भए पनि सहभागिता जनाउन सकिने व्यवस्था गरेकोमा जानकारी अभावले सहभागिता हुन सकेको छैन ।
‘संशोधन अगाडि कोषमा सहभागिता जनाउन १० जना कर्मचारी अनिवार्य समावेस गराउनु पर्ने बाध्यता थियो’ कमचारी सञ्चय कोषले सोमबार धनगढीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नीजि क्षेत्रका कर्मचारीहरूले भने– ‘अहिले एकदुई जनालाई पनि सहभागिता गराउने व्यवस्था गरिएको छ भन्ने थाह नै छैन ।’
कार्यक्रममा सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय महिला सहकारी संस्थाकी रूपा जोशीले ‘पहिले देखिनै सञ्चय कोषमा सहभागिता जनाउन खोजे पनि कानुनले सुविधा नदिएको’ बताइन् ।
उनले सञ्चय कोषले प्रचारप्रसार नगर्दा नीजि क्षेत्रको सहभागिता हुन
नसकेको बताइन् ।
उनले जिल्लामा छ सय भन्दा बढी सहकारी रहेको र सहकारीका कर्मचारीहरूले सञ्चय कोषमा सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरिन् ।
हालसम्म ७ नम्बर प्रदेशबाट ४२ वटा निजी संघसंस्था कोषमा आवद्ध भएको कर्मचारी सञ्चय कोष धनगढीका सूचना अधिकृत जीतेन्द्र श्रेष्ठले जानकारी दिए ।
कोषमा आबद्ध भएका व्यक्तिहरू विरामी पर्दा सामान्य उपचार खर्च वापत २५ हजार तथा जटिल बिरामी उपचार खर्च वापत ५० हजार रुपैयाँसम्म कोषले सहयोग प्रदान गर्दै आएको उनले बताए ।
हाल सञ्चय कोषमा आवद्ध भएकाहरूलाई बैंक तथा वित्तीय संस्थाभन्दा सुलभ व्याजदरमा घरकर्जा, शैक्षिक कर्जा, घर मर्मत कर्जा लगायतका सेवासुविधा प्रवाह गर्दै आएको उनले बताए ।
कार्यक्रममा कोषका धनगढी प्रमुख रामकाजी केसीले सञ्चयकोष नाफामुखी संस्था नभएकोले निजी संघसंस्थाले कोषमा सहभागिता जनाउन र त्यसबाट फाइदा लिन आग्रह गरे ।
उनले कोष कार्यालयले दिने सेवासुविधा सवै धनगढीबाटनै उपलब्ध भइरहेको जानकारी दिए । कोष कार्यालय प्रमुख सहायक बिष्णु जोशीले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा सूचना अधिकारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यालय प्रमुख केसीले कोषको अवधारण पत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार