१२ बैशाख २०८१, बुधबार

‘हामीले धेरै काम गरेका छौं, त्यसैले जित्छौं’



चुडामणि भट्ट, स्ववियू अध्यक्षका उम्मेदवार अनेरास्ववियू, कैलाली बहुमुखी क्याम्पस

कैलाली बहुमुखी क्याम्पसमा गत फागुन २२ स्थगित भएको निर्वाचन यही जेठ ९ गते हुने भएको छ । कैलाली क्याम्पस सुदूरपश्चिमकै एक प्रमुख क्याम्पस हो । सामुदायिक क्याम्पसमा मुलुकमै सबैभन्दा बढी विद्यार्थी भएको क्याम्पसका रूपमा पनि कैलाली क्याम्पसलाई लिइन्छ । त्रिभुवन विश्व विद्यालयका परीक्षामा कैलाली क्याम्पसका विद्यार्थी पटकपटक प्रथम भएकाले पनि यो क्याम्पसको स्थान देशभर उच्च छ ।
देशभर ख्याती कमाएको कैलाली क्याम्पसमा चुनाव कसरी हुँदैछ फेरि चुनाव स्थगित हुँदैन भन्ने ग्यारेन्टी के छ ? अनि विद्यार्थी संगठनले चुनाव जित्ने आधार के बनाएका छन्, यस्तै केही प्रश्नको जवाफ हामीले अनेरास्ववियूबाट स्ववियू अध्यक्षका उम्मेदवार चुडामणि भट्टसँग खोज्ने प्रयास गरेका छौं । २७ वर्षिय भट्ट आफूलाई प्रत्यासीहरू भन्दा उमेर, पढाई र राजनीतिका हिसाबले मात्र होइन् विद्यार्थीका समस्या बुझ्ने र समाधान गर्नेमा पनि अब्बल ठान्छन् । उनी अनेरास्ववियू कैलालीका अध्यक्ष समेत भइसेकेका छन् । कैलाली क्याम्पसबाटै अर्थशास्त्रमा स्नातोकोत्तर गरेर फेरि पनि राजनीतिशास्त्र पढिरहेका भट्टसँग गरिएको कुराकानीको सारसंक्षेप:

यस पाली स्ववियू चुनाव हुने नै भएको हो त ?
गत फागुन १८ गतेको चुनाव २२ गते सारियो । २२ गते पनि निर्वाचन समितिका संयोजक श्यामराज जोशी र सदस्य दमन चलाउने अपहरणमा पर्नुभयो र चुनाव स्थगित भएको थियो । त्यसपछि क्याम्पस प्रशासन झन्झटमा पर्न चाहन्न थियो त्रिविविले तोकिएका मितिमा चुनाव नभएका क्याम्पसमा चुनाव नगर्ने छाँट देखायो । अनि मेरो नेतृत्वमा उच्च अदालत डोटी पुग्यौं । बैशाख २४ को अदालतको फैसला अनुसार जेठ ९ गते चुनाप हुन थालेको हो ।

चुनाव हुन्छ भन्ने ग्यारेन्टी के छ र ?
ग्यारेन्टी जस्तै छ । त्यति बेला चुनावको विरुद्धमा लागेकाहरू पनि सक्रियता पूर्वक चुनावमा होमिएका छन् । अर्कोतिर अदालतको आदेश क्याम्पसले मान्नैपर्छ । अदालतको आदेशपछि काठमाडौंका नेपाल मानविकी र पिपुल्स क्याम्पसमा चुनाव भइसकेका छन. ।

फेरि मतदान अधिकृतहरू अपहरण नहुन दिन कुनै प्रयास भएको छ ?
अहिले सबै पक्ष चुनावका पक्षमा छन् । प्रहरी, प्रशासन र क्याम्पस प्रशासन पनि फेरि अपहरणको घटना नहोस् भनेर निक्कै सचेत भएको संकेत हामीले पाएका छौं ।

अनेरास्ववियू र तपाई जित्ने आधार के हुन् ?
यसअघि हामीले लगातार दुई पटक जित्यौं । त्यति बेला हामीले छात्रवास बनायौं । मुक्तकमैया, रिक्सा चालक, दलित, जनजातिलाई छात्रवृत्ति व्यवस्थित तरिकाले वितरण गर्‍यौं । नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गरेका छौं । पत्रकारिता र एमएड कार्यक्रम ल्यायौं । स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट सडक बनायौं । तत्कालीन शिक्षामन्त्री प्रदीप नेपाललाई दवाव दिएर विश्वविद्यालय अनुदान आयोगको सहयोग आउने बनायौं । अहिले राम्रो बजेट आएको छ । त्यसैले गर्दा क्याम्पसको शैक्षिक गुणस्तर मापन हुन थालेको छ ।
हामीले धेरै राम्रा काम गरेका छौं, ती कुरा विद्यार्थीले बुझेका छन् । हामी पहिलो, व्यवस्थित संगठन पनि हौं । समावेशी र भुगोल मिलाएर उम्मेदवार उठाएका छौं । भ्रष्टाचार र अपराधमा हाम्रा कोही पनि उम्मेदवार जोडिएका छैनन् । म आफै पनि १० वर्षदेखि कैलाली क्याम्पसका विद्यार्थीका माझमा छु ।

तपाईको मुख्य प्रतिस्पर्धी कुन संगठन हो ?
संगठनका हिसाबले नेपाल विद्यार्थी संघ हाम्रो प्रतिस्पर्धी हो । तर गतिशिल, उर्जावान, रचनात्मक सोचका समावेशी उम्मेदवार हामीसँग भएकोले हाम्रो प्रतिस्पर्धी कोही छैन भन्दा हुन्छ । हरेक हिसाबले हामी निक्कै अगाडि छौं ।

चुनाव जितेपछि तपाईले गर्ने कामको योजना बनाउनु भएको छ ?
कैलाली क्याम्पसलाई ७ नम्बर प्रदेशको शैक्षिक केन्द्र बनाउँछौं । सूचना मैत्री बनाउन एफएमलाई व्यवस्थित गर्नेछौं । क्याम्पस हातामा उच्चस्तरको इन्टरनेट सेवा शुरु गर्ने योजना छ । १००/१०० जना रहन सक्ने छात्रावास बनाउँछौं । ज्ञान, सीप आदानप्रदान गर्न विश्वविद्यालयमा विद्यार्थी आदानप्रदान अर्थात् भ्रमण कार्यक्रम लागू गराउँछौं ।
क्याम्पसमा राज्यको लगानी ल्याउँछौं । मुक्तकमैया, रानाथारू, राष्ट्रिय खेलाडी र गरिब परिवारका विद्यार्थीलाई नि:शुल्क पढाउने वातावरण बनाउँछौं । अतिरिक्त कक्षा सञ्चालन गराउँछौं । लोकसेवा आयोगमा उत्तीर्ण गराउनका लागि तयारी कक्षा शुरु गर्नेछौं । अहिलेसम्म सामान्य शिक्षा मात्र छ अब प्राविधिक शिक्षा कार्यक्रम पनि ल्याउँछौं । विद्यार्थी उपचार केन्द्र खोल्छौं । विद्यार्थी भ्रमण कार्यक्रम, पुस्तकालय र ल्यावहरू अझ व्यवस्थित र प्रभावकारीरूपमा सञ्चालन गर्नेछौं । इपुस्तकालय बनाउँदै विद्यार्थी पुस्तकालय कार्डबाट तीनवटा पुस्तक दिने वातावरण बनाउँछौं । स्ववियूको छुट्टै कार्यालय, मेघा हल निर्माण, स्वच्छ खानेपानी, बैंक काउन्टर, क्याम्पसदेखि क्याम्पसचोकसम्म फराकिलो सडक निर्माणका लागि पहल गर्ने योजना पनि मेरो छ । यस्तै प्रमाणपत्र धितो राखेर बिना व्याजमा ऋण दिने व्यवस्थाका लागि संघर्ष गर्ने र अनेरास्ववियूको आन्दोलनबाट स्थापित ४५ प्रतिशत यातायात सहुलियतलाई पूर्ण कार्यान्यन गर्न पहल गर्नेछौं ।

खास गरेर निम्न आयस्रोत भएका विद्यार्थी अध्ययन गर्ने कैलाली बहुमुखी क्याम्पसमा सामुदायिक भएर पनि शुल्क बढी भयो भन्ने गुनासो छ शुल्क कसरी गर्नु हुन्छ ?
मुख्य चुनौति नै यही हो । त्यसैले यो क्याम्पसलाई सरकारीकरण गराएर विद्यार्थीहरू नि:शुल्क पढ्ने वातावरण बनाउन हामी लाग्ने छौं । त्यो हुन सकेन भने शुल्क कसरी कम गर्न सकिन्छ त्यतातिर हामीले ध्यान दिनेछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार