७ बैशाख २०८१, शुक्रबार

सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजना सहिद घोषणा



राजविराज । नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी दिए । एमालेको मेची(महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम भइरहँदा गत फागुन २३ गते उक्त क्षेत्रको आसपासमा भएको प्रहरीसितको झडपमा प्रहरीको गोली लागि पाँचजनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । उनीहरु सबैलाई सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको हो । सहिद परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहतस्वरुपको रकम समेत गृहमन्त्री निधिले बुधबार राजविराजमा हस्तान्तरण गरे ।
मन्त्री निधिले मलेठ घटनाको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन भएको र उक्त आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार