१५ चैत्र २०८०, बिहीबार

मतगणना टोली थप्न निर्देशन



काठमाडौं । मतदाता परिणाम जान्न आतुर भए पनि स्थानीय तह पहिलो चरणको मतदानको तेस्रो दिनसम्म मतगणनाको गति ज्यादै सुस्त देखिएको छ । कम मतदाता रहेका केही स्थानको मात्र अन्तिम परिणाम आएको छ । चारैवटा महानगरपालिकालगायत अधिकांश ठूला सहर र बजार क्षेत्रको मतगणना सुस्त छ ।
पहिलो चरणमा निर्वाचन भएको २ सय ८३ गाउँपालिका र नगरपालिकामध्ये मंगलबार साँझसम्म ३० स्थानको मात्रै परिणाम आएको छ । धेरै मतदाता रहेका काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगर तथा हेटौंडा उपमहानगरको परिणाम आउन कति दिन लाग्ने हो, निश्चित हुन सकेको छैन । ९२ नगरपलिकामध्ये ३ वटाको मात्रै परिणाम आएको छ ।
मतगणना ढिलाइप्रति निर्वाचन आयोगले चासो राख्दै सुधारका लागि निर्वाचन अधिकृतहरूलाई निर्देश गरेको छ । आयुक्त नरेन्द्र दाहालले मतगणनाको गति बढाउन गणक टोलीहरूको संख्या थप्न निर्देशन दिइएको बताए । ‘एउटै मतपत्रमा सातवटा पदका लागि मतदान भएको छ, मतपत्र पनि ठूलो छ । हातैले गन्नुपर्‍यो, उम्मेदवारहरूलाई मतपत्र देखाएर चित्त बुझाउनैपर्‍यो । त्यसको विकल्प छैन,’ ढिलाइबारे स्पष्ट पार्दै दाहालले भने, ‘गति दिने उपाय भनेको गणक टोली बढाउने नै हो । त्यसका लागि निर्वाचन अधिकृतहरूलाई निर्देशन गरिएको छ ।’ उनले कर्मचारी नपुग भए बढाउन र जतिवटा टोली बनाउन सकिन्छ, त्यति थपेर गणनालाई सुधार गर्न भनिएको जनाए ।
‘गणनास्थलमा उपलब्ध ठाउँ, कति कन्ट्रोल गर्न सकिन्छ भन्ने विषय र सुरक्षा व्यवस्थासमेत हेरेर निर्वाचन अधिकृतले गणक टोली थप्न सक्नेछन्,’ आयुक्त दाहालले भने, ‘अब गणनाले गति लिने अपेक्षा गरेका छौं ।’ आयोगले मतगणनाका क्रममा राजनीतिक दलहरूले झिक्ने साना–साना विवादले पनि ढिलाइ भइरहेको जनाएको छ । मतगणना छिटो गर्न राजनीतिक दल तथा उम्मेदवारलाई समेत सघाउन आग्रह गरिएको उनले बताए ।
आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दल तथा उम्मेदवारका तर्फबाट स–साना र आधारहीन विषयमा समेत अनावश्यक समस्या झिक्दा मतगणना समय लम्बिने गरेको बताए । ‘जनताले छिटो परिणाम चाहेका छन्, त्यसका लागि राजनीतिक दल र उम्मेदवारको पनि सहयोग चाहियो,’ उनले भने, ‘मिलिसकेको विषयमा पनि विवाद झिक्ने काम भइरहेको छ । त्यस्तो हुनुभएन ।’ निर्वाचन अधिकृतले राजनीतिक दल र उम्मेदवारको सहमतिमा अहिले छनोट गरिएका गणनास्थलमा ठाउँ कम भए नजिकैको अर्को ठाउँ पनि उपयोग गर्न सक्ने गरी निर्देशन पठाइएको छ ।
‘मतदातालाई आफूले दिएको मतपरिणाम यथाशीघ्र जान्ने चाहना हुनेप्रति निर्वाचन आयोग सचेत छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एउटै मतपत्रमा ७ जना पदाधिकारीका लागि भएको मतदानले गणना कार्यमा केही बढी समय लाग्नु स्वाभाविक नै हो । मतगणना कार्यलाई छिटो गरी परिणाम घोषणा गराउन आयोगले आवश्यक व्यवस्था मिलाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार