८ बैशाख २०८१, शनिबार

स्थानीय तह निर्वाचन : एमाले १७, कांग्रेस १४, माओवादी केन्द्र १२ स्थानमा विजयी



काठमाडौं । बैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार मंगलबार रातिसम्म नेकपा (एमाले)ले अग्रता लिएको छ ।
मंगलबार राति ११ बजेसम्मको मतगणना परिणामअनुसार एमाले १७ स्थानमा विजयी भएको भने ९० स्थानमा अगाडि रहेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसले १४ स्थानमा विजय प्राप्त गरेको छ भने ८२ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले १२ स्थानमा विजयी भएको भने ३४ स्थानमा अगाडि छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छ । अन्य दलहरू दुई स्थानमा विजयी भएका छन् भने चार स्थानमा अगाडि छन् ।
महानगरपालिकामा पनि एमाले अग्र स्थानमा रहेको छ । चारवटै महानगरपालिकाको मेयर पदमा अगाडि रहेको एमाले उपमेयरमा पोखरामा अग्र स्थानमा भए पनि अन्य महानगरपालिकामा नेपाली कांग्रेसको वर्चस्व रहेको छ ।
काठमाडौं महानगरपालिका स्थानीय तहको निर्वाचनमा मेयरको मंगलबारको परिणामअनुसार एमालेका विद्या सुन्दर शाक्य ७५७, नेपाली कांग्रेकाका राजुराज जोशीले ६२५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसमा हरिप्रभा जोशी खड्गी ६८५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ ३८७ मत पाएका छन् ।
त्यस्तै, ललितपुर महानगरपालिकाको मेयर एमालेका हरिकृष्ण व्यञ्जनकार ४८११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चिरीबाबु महर्जन ४७८९ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका गीता सत्याल ३७१० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधान २१११ प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा मेयर एमालेकै देवी ज्ञवाली १५१३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका रेणु दाहाल ११३५ मत पाएकि छन् । उपमेयरमा कांग्रेसका पार्वती शाहले १४०१ मत र एमालेकै दिव्य आचार्य ११८८ मत पाएका छन् ।
पोखरा महानगरपालिकामा मेयरमा एमालेका मानबहादुर जिसी ४६०३ मत प्राप्त गरेका छन् भने नेपालीका कांग्रेसका रामजी कुँवर ३४७२ मत पाएका छन् । उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुङ ४४७२ मत र कांग्रेसका सरस्वती गुरुङ ३३२२ मत पाएका छन् ।
दैलेखको नारायण नगरपालिकाको मेयर तथा उपमेयरमा दुवै पदमा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । एमाले उम्मेदवार रत्नबहादुर खड्का ४ हजार ७ सय २५ मत र सावित्री मल्ल ४ हजार ८ सय ६६ मत ल्याएर विजयी भएकी हुन् ।
त्यस्तै, कास्कीको मादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका बेदबहादुर गुरुङ र बिष्णु पौडेल बिजयी भएका छन् ।
गुरुङले ४ हजार ६ सय ३७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवीजंग गुरुङले ३ हजार ६ सय ५३ मत पाए । यसैगरी, उपाध्यक्षमा एमालेकी बिष्णुमाया आचार्य पौडेल ४ हजार ५ सय २३ मत ल्याएर विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रभाश्री गुरुङले ३ हजार १ सय ३१ मत पाएकी छिन् । १२ वडा रहेको मादीमा एमालेले ६, कांग्रेस र माओवादी केन्द्रले ३/३ वटा वडामा जीतेका छन् ।
कास्कीकै रूपा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
त्यहाँका निर्वाचन अधिकृत लेखनाथ शर्माका अनुसार प्रमुखमा एमालेका नवराज ओझा र उपप्रमुखमा एमालेकै लालसुवा गुरुङ विजयी भएका छन् ।
पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल विजयी भएका छन् । पौडेलले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उज्वल गुरुङलाई ४४३ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।
उपप्रमुखमा एमालेकै हिरा राना २४८३ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना हमालले १९५१ मत प्राप्त गरिन् ।
जुम्लाको सिंजा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका देवलसिंह रावत विजयी भएका छन् । उनले एक हजार ४ सय ३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पाटीका पूर्णप्रसाद धिताल रहेका थिए ।
त्यस्तै, उपप्रमुखमा भने नेकपा एमालेकी जन्मकन्या खत्री विजयी भएकी छन् ।
त्यसैगरी, गोर्खाको चुमनुब्री गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले भन्दा ६८ मत बढी ल्याएर विजयी भएका छन् ।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा भने माओवादी केन्द्रकी कुमारी गुरुङले विजयी भएकी छिन् ।
उता, सिन्धुलीको गाउँपालिका अन्तर्गत मरिनमा सबै पदमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् ।
७ वटा वडा रहेको सो गाउँपालिकाको ३७ पदमै माओवादी केन्द्रले विजय हासिल गरेको छ । गाउँपालिका प्रमुखमा पानीराज वम्जनले निकटतम प्रतिद्वन्द्वी भन्दा भण्डै तेब्बर मत ल्याएर विजय भएका छन् । प्रमुख वम्जनले ४७९९ मत ल्याए ।
त्यस्तै, उपप्रमुखमा संगिता माझी ४५३५ विजयी भएकी छिन् ।
त्यस्तै, रुकुमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवैमा जित हासिल गरेको छ ।
माओवादी केन्द्रका देवीलाल गौतमले ४३५० मत ल्याइ जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् ।
यसैगरी, उपप्रमुखमा केन्द्रकै प्रेमकुमारी सुनार केसीले ४४७९ मत ल्याइ विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी बालकुमारी गिरीले ४१५८ मत ल्याइन् ।

 

गोलाप्रथाबाट वडाध्यक्ष चयन
स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् ।
डोल्पाको मुड्केचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले छिनो मत अन्तरले चुनाव जितेको छ भने सल्यानको ढोरचौर गाउँपालिका ४ को वडाध्यक्ष गोलाप्रथाबाट छानिएको छ । यी तीन वटै घटनामा एमाले उम्मेदवारहरूले हार ब्यहोर्नुपरेको छ ।
डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादी केन्द्रका दत्तबहादुर शाहीले निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायभन्दा २ मत बढी ९ सय ३३ ल्याएर अध्यक्षमा विजयी भए । रोकायाले ९ सय ३१ मत प्राप्त गरेका थिए । झिनो मतले पछाडि परेपछि उनले आफूलाई आशंका लागेकोभन्दै पुन: मतगणनाका लागि निर्वाचन कार्यालयमा निवेदन दिएका छन् ।
त्यस्तै, जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाहीले एमालेका प्रत्यासी भैबहादुर रोकायाभन्दा तीन मतले धेरै ल्याएर अध्यक्ष जितेका छन् । उनले एक हजार ३ सय १७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका रोकायाले एक हजार ३ सय १४ मत मा चित्त बुझाउनुपरेको छ । उता, सल्यानको ढोरचौर गाउँपालिका वडा नं. ४ का कांग्रेस र एमालेका वडाध्यक्ष उम्मेदवारहरूले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंग्याइएको छ । कांग्रेसका दिनेश विएम र एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेका थिए । वडाध्यक्ष चयनका लागि गरिएको गोलाप्रथामा कांग्रेसका दिनेश विएमले बाजी मारेका छन् । गाउँपालिका नेतृत्वमा भने एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार