८ बैशाख २०८१, शनिबार

सामुदायिक वनले थाल्यो दुना टपरी व्यापार



टीकापुर । जंगलको पात बर्सेनि झर्छ । कुहिएर जान्छ । पात सडेर मल बन्नु बाहेक यसको उपयोग केही पनि थिएन् । अब भने कैलालीको वनदेवी सामुदायिक वनका उपभोक्ताले वनमा झरेको पातबाट दुना टपरी बनाएर यसबाट आम्दानी गर्न सुरु गरेका छन् ।
सामुदयिक वनले करिब डेढ लाख रुपैयाँ लगानीमा दुना टपरी बनाउने मेशीन राखिदिएपछि उपभोक्ताले खेर जाने पातको दुना टपरी बनाएर विक्री गरी आम्दानी गर्न थालेका हुन् ।
सामुदायिक वनका अध्यक्ष सीताराम चौधरीले भने( ‘हामीले पातको दुना टपरी भारतका विभिन्न सीमा बजारबाट किनेर ल्याएका देख्यौं । जबकि हामी कहाँ फालाफाल पात छ । त्यसै खेर जान्छ । यसबाट हामी आफैले दुना टपरी किन नबनाउने भन्ने सोचेर दुना टपरी बनाउन सुरु गरेका छौं ।’
गरिबीको रेखामुनि रहेका नागरिकको आर्थिक अवस्थामा सुधार पनि आओस् खेर जाने पात पनि काम लागोस भनेर यसको व्यापार सुरु गरिएको अध्यक्ष चौधरीले बताए ।
उनका अनुसार एक सय वटा दुना ७५ रुपैयाँमा विक्री हुने गरेको छ । दुनाका लागि वरिपरिको बजारबाट मान्छेहरू आफै सामुदायिक वनमा किन्न आउने गरेका छन् । पूजापाठ वा भोजभतेर हुँदा गाउँका मान्छे पनि यहीबाट दुना टपरी किन्ने गरेका छन् ।
विभिन्न कार्यका लागि पात पवित्र पनि मानिने र स्वास्थ्यका दृष्टिले पनि राम्रो हुने भएकोले यसको माग अहिले निकै रहेको सामुदायिक वनका सल्लाहकार संयोजक गंगाराम चौधरीले बताए । उनले भने( ‘माग अनुसार पुर्‍याउन नसकिने अवस्था छ ।’
दुना टपरी उत्पादन र विक्री वितरणका लागि सामुदायिक वन उपभोक्ता समूहले दुना टपरी उपभोक्ता समूह गठन गरी यसको छुट्टै कोष बनाउने गरेको छ । यसको व्यवस्थापन गरिबीको रेखामुनि रहेका महिलाको समूहले गर्ने गरेको छ ।
जंगलमा झरेका पात महिला आफैले पनि ल्याउन सक्ने र गोठालाले पनि ल्याउन सक्छन् । अहिले तत्काल पात कसरी कति पैसामा किन्ने भन्ने नीति बनाई नसकेको सल्लाहकार संयोजक गंगारामले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार