११ बैशाख २०८१, मंगलवार

कैलाली भन्सारको राजश्व संकलनमा बृद्धि



धनगढी । कैलाली भन्सार कार्यालय कैलालीको राजश्व संकलनमा बृद्धि भएको छ । कार्यालयले आर्थिक वर्ष २०७३/०७४ को दुई अर्ब सात करोड ४० लाख आठ हजार लक्ष्य लिएकोमा चैत मसान्तसम्ममा एक अर्ब ८३ करोड ८२ लाख ८८ हजार राजश्व संकलन भैसकेको छ ।
कार्यालयले यस आर्थिक वर्षमा लिएको लक्ष्य वैशाख मसान्तमै पूरा गर्ने देखिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । कार्यालयले यस आर्थिक वर्षको लक्ष्य बैशाखसम्मै प्राप्त गर्न २३ करोड ५७ लाख २० हजार संकलन गर्नुपर्ने छ ।
कार्यालयले गत वर्ष नाकाबन्दी लगायतको समस्या भएका बेला पनि राजश्व संकलनमा लक्ष्यभन्दा बढी प्राप्त गरेको थियो ।
कैलाली भन्सार कार्यालय कैलालीले आर्थिक वर्ष ०७२/७३ मा दुई अर्ब ९७ करोड तीन लाख ६४ हजार लक्ष्य लिएकोमा तीन अर्ब ११ करोड ४४ लाख ३३ हजार राजश्व संकलन गरेको थियो । यो कुल लक्ष्यको एक सय चार दशमलब नौ प्रतिशत रहेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नारायणदत्त जोशीले बताए ।
उनका अनुसार कार्यालयले सबैभन्दा बढी राजश्व संकलन चैत महिनामा हुने गरेको छ । कार्यालयले चैतमा १८ करोड ७६ लाख ८६ हजार लक्ष्य लिएकोमा २६ करोड ५२ लाख राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा एक सय २० प्रतिशत हो ।
उनले भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, निर्माण सामग्री, यातायातका सवारी साधन, खाद्यान्न, हार्डवेयरका सामग्री लगायतका सामान आयात हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार