१६ चैत्र २०८०, शुक्रबार

अढाई वर्षभित्रै मेडिकल कलेज सञ्चालन हुने छ– अध्यक्ष डाक्टर पन्त



डाक्टर चेतराज पन्त 
अध्यक्ष, गेटा मेडिकल कलेज प्रवद्र्धन विकास समिति

सुदूरपश्चिम (प्रदेश नम्बर ७) मा मेडिकल कलेज स्थापनाको चर्चा जोडतोडका साथ चल्न थालेको अठार वर्ष भइसकेको छ । हुनत सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाको चर्चा चल्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ, तर यसले व्यापकता पाएको भने २०५६ सालदेखि हो । भारत काञ्चिकामाकोटीपीठका शंकराचार्य जयन्द्र सरस्वतीले कैलालीमा आयुर्विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) खोल्ने घोषणासहित नेपाल भ्रमण गरेपछि त्यो चर्चा निकै चुलियो ।
बीचका वर्षहरूमा गेटा मेडिकल कलेज निर्माणको चर्चा कहिले उठ्ने र कहिले सेलाउने गरिरह्यो । अहिले बल्ल गेटा मेडिकल कजेल निर्माण कार्यले मूर्तरूप लिएको छ । भरखरै मेडिकल कलेजका लागि अस्पताल, प्रशासकीय भवन लगायतका भवनको शिलान्यास भएको छ । र, यसको नेतृत्व गरेका छन्, गेटा मेडिकल कलेज प्रवद्र्धन विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले ।
साढे तीन दशकदेखि स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत डाक्टर पन्तले अबको अढाई वर्षभित्र मेडिकल कलेज निर्माण कार्य पुरा हुने विश्वास व्यक्त गरेका छन् । २०२९ सालमा कञ्चनपुर स्वास्थ्य चौकी इञ्चार्जका रूपमा स्वास्थ्य सेवामा प्रवेश गरेका डाक्टर पन्तसंग अनुमोदन दैनिकका लागि संवाददाता शेरबहादुर ऐरले गेटा मेडिकल कलेज निर्माण, मेडिकल कलेज सञ्चालन लगायतका विषयमा गरेको कुराकानीको सारसंक्षेप :
– मेडिकल कलेज निर्माणको कार्य कस्तो भइरहेको छ ?
गेटा मेडिकल कलेज निर्माणको चर्चा गर्दा यसको इतिहासबारे स्मरण गर्नु आवश्यक हुन्छ । २०५६ सालमा स्वामी शंकराचार्यले ‘कैलालीमा मेडिकल कलेज निर्माण गर्ने’ घोषणा गरेपछि यसको चर्चा चलेको हो । त्यो समयमा गेटा मेडिकल कलेजका लागि जग्गा प्राप्त गरेका थियो । शिक्षा मन्त्रालयले स्वीकृति दिएको थियो । तर, मेडिकल कलेज सञ्चालनका लागि तीन सय शैय्याको अस्पताल बन्नुपर्ने काउन्सिलको नयाँ नियम आएपछि उनीहरू हच्किए र त्यो बन्न सकेन । त्यसपछि सरकारले मेडिकल कलेजका लागि प्रदान गरेको जग्गा वन मन्त्रालयलाई फिर्ता गर्‍यो । २०६६ सालमा प्रेम कुँवर र म राष्ट्रिय योजना आयोगका सदस्य नियुक्त भयौं । हामीले त्यतिबेला सुदूरपश्चिम विश्वविद्यालय र मेडिकल कलेजका लागि दश/दश करोड रुपैयाँ विनियोजन गर्‍यौं । त्यसपछि मेडिकल कलेज समिति बन्यो । शिक्षा मन्त्रालय अन्तर्गत छ महिनाका लागि बनेको समितिले वन मन्त्रालयबाट जग्गा भने फिर्ता गर्न सकेन र समितिको कार्यकाल सकियो ।

निर्माणाधिन गेटा मेडिकल कलेज

त्यसपछि २०६८ सालमा मेडिकल कलेज प्रवद्र्धन विकास समितिका नामबाट काम शुरु भयो । त्यसको अध्यक्ष म र कार्यकारी निर्देशक डा. भीमसिंह तिंकरी थिए । हामीले सरकारबाट जग्गा फिर्ता गर्न पहल गरिरह्यौं । सात/आठ महिनापछि मेडिकल कलेजलाई जग्गा दिने स्वीकृति प्राप्त भयो, तर त्यहाँ रहेका रुखहरूका बारेमा के गर्ने भनेर मन्त्री परिषद्ले निर्णय गरेन ।
हामीले मेडिकल कलेजका लागि दुई वटा काम अघि बढायौं । गुरुयोजना बन्यो । मेडिकल कलेज, अस्पताल, होस्टेल, प्ले ग्राउण्ड, डाक्टरको आवास गृह लगायतको गुरुयोजना बन्यो । यो डिजाइन गर्न एउटा संस्थालाई जिम्मेवारी दिइएको थियो । अहिले मेडिकल कलेजका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसअघिको २० करोड रुपैयाँ खर्च हुन बाँकी नै थियो । अहिले मेडिकल कलेजको अस्पताल, कलेज भवनको ठेक्कापट्टा भएर काम अघि बढेको छ । दुई वर्षअघि ठेक्कापट्टा भएर पनि रुखका कारण अघि बढ्न नसकेको प्रशासनिक भवन निर्माण कार्य पनि अहिले अघि बढेको छ ।

– के–के योजना छन् ?
देशभरीका छ वटा प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्, तर हाम्रो प्रदेशमा अझैं स्वास्थ्य विज्ञान प्रतिष्ठान छैन । प्रतिष्ठानको आफ्नै विधान हुन्छ, र यसले मेडिकल कलेजका लागि आवश्यक सबै विभाग खोल्ने अनुमति प्राप्त हुन्छ । शिक्षा मन्त्रालयले शुरु देखिनै मेडिकल कलेजको लागि पहल गरिरहेको छ र समिति बनाएर गेटा मेडिकल कलेजको नामले काम अघि बढिरहेको छ । अहिले गेटा मेडिकल कलेजका नामले काम अघि बढे पनि यहाँका जनताका आकांक्षा भनेको स्वास्थ्य विज्ञान प्रतिष्ठान नै बनाउने भन्ने छ । दुई पटकको बजेट वक्तव्यमा पनि यसलाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भने उल्लेख भइसकेको छ । यसलाई मूर्तरूप दिन राजनीतिक नेतृत्वको ठूलो भूमिका रहन्छ ।

– यो मेडिकल कलेजमा कहिलेदेखि विद्यार्थीले पढ्न पाउँछन् ?
मेडिकल काउन्सिलको मापदण्डअनुसार तीन सय बेडको अस्पताल सञ्चालन भएको हुनुपर्छ । अहिले भवन निर्माण कार्य अघि बढेको छ । ३० महिनाभित्र निर्माण कार्य सकिएपछि मेडिकल कलेज सञ्चालनमा आउने छ । हामीले ३० महिनाभन्दा अघिनै काम पुरा गर्ने प्रयास गरिरहेका छौं । सरकारले हामीलाई बजेटको चिन्ता नगर्न भनेको छ । मेडिकल कलेजको आठ वर्षीय योजना स्विकृति गरिसकेको छ । हामीले काम गरेर देखाउनुपर्ने छ । हामीले यो मेडिकल कलेजको निर्माणका लागि चार वर्षअघि चार अर्ब रुपैयाँको बजेटको अनुमान गरेका थियौ । अहिले एक अर्ब रुपैयाँ लागत बृद्धि हुने सम्भावना छ । यो दश वर्षीय योजना हो ।

– मेडिकल कलेजमा के–के सुविधा हुनेछन् ?
हामीले पहिला तीन सय बेडको अस्पताल बनाउने छौं र विस्तारै त्यसलाई स्तरोन्नती गर्दै छ सयदेखि नौ सय बेडको अस्पतालका रूपमा सञ्चालन गर्ने छौं । त्यसका साथै न्यूरोसर्जरी, कार्डेकको सेन्टर, डाईवेटिक सेन्टर र महिला तथा बालबालिकाको लागि उच्चतम सेन्टर बनाउने योजना बनाएका छौं । मेडिकल कलेजको सञ्चालन हुन साथ यी विधा पनि एकएक गरी बढाउँदै क्यान्सर सेन्टरको स्थापना गर्ने पनि योजना रहेको छ ।
– कस्तो मेडिकल कलेज बनाउने ?
मेडिकल कलेजमा विभिन्न २१ विधा हुन्छन् । हामी अहिले सबै विधाको विस्तृत अध्ययन गरिरहेका छौं । यो मेडिकल कलेज गेटामा स्थापना भए पनि यो प्रदेशका सबै नौ जिल्लाका विद्यार्थीले अध्ययन गर्न पाउने छन् । नौ वटै जिल्लाको मेडिकल कलेजको अनुभूति गराउन पहाडका सात जिल्ला र कञ्चनपुरमा यो मेडिकल कलेजका विद्यार्थीले त्यहाँका जिल्ला अस्पतालसंग सहकार्य गरेर काम गर्ने, हाम्रो कलेजका विद्यार्थीहरू पनि ईन्टरर्नसीपमा ती जिल्लामा गएर काम गर्ने योजनाको कल्पना गरेका छौं । ती जिल्लाका अस्पतालले त्यहाँका स्वास्थ्य चौकीको सेवामा सुधारका लागि काम गर्ने छन् । प्रत्येक स्वास्थ्य चौकीमा कम्तिमा दुई वटा एम्बुलेन्सको व्यवस्ता गर्ने र गेटा मेडिकल कलेजबाट विरामीलाई विशेषज्ञ सेवा प्रदान गर्ने परिकल्पना छ ।
सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्यकर्मीको कमी छ । एमबिबिएस डाक्टरका साथै दक्ष स्वास्थ्यकर्मीको उत्पादन गर्ने लक्ष्य हो । विज्ञान विषयमा प्लस टु अध्ययन गरेका विद्यार्थीलाई एक्सरे, फिजियोथेरापी सम्बन्धी तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरी जिल्ला तथा अञ्चल अस्पताल र स्वास्थ्य चौकीमा पठाउने योजना रहेको छ । साथै, मेडिकल कलेजमा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर पनि स्थापना गर्ने पनि योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार