७ बैशाख २०८१, शुक्रबार

अतिक्रमण हटाउँदै नाला सरसफाइमा जुटे स्थानीय



धनगढी । विभिन्न व्यक्तिबाट अनेक नाममा खोलानाला अतिक्रमणका कारण प्रत्येक वर्षायाममा डुबानको चर्को समस्याबाट पीडित धनगढी उपमहानगरपालिका वडा नम्बर १, लक्ष्मीनगर र परिश्रम टोलका बासिन्दा नाला सरसफाइमा जुटेका छन् ।
साहित्य समाज पूर्वको कल्भर्टदेखि जिप्रका पुलसम्मको करिब आधा किलोमिटर नाला सरसफाइका लागि बिहीबारदेखि नै डोजर लगाएर काम भइरहेको छ ।
सो नालाको दुवै किनारका थुपै्र ठाउँमा बाँस, केरासहितका रुखविरुवा, झारपात रहनुका साथै केही ठाउँमा अतिक्रमण गरी पर्खाल समेत निर्माण गरिएका कारण वर्षायाममा लक्ष्मीनगर टोल डुबानको चर्को समस्याबाट पीडित रहेकाले नाली चौडा गर्नुका साथै सरसफाई अभियान अघि बढाइएको स्थानीयले बताएका छन् ।
दुवै टोलबासीले नाला सरसफाई उपभोक्ता समिति गठन गरी नाला चौडा बनाउने, अतिक्रमण हटाउने र बृहत सरसफाई अभियान अघि बढाएका छन् । लक्ष्मीनगरटोलमा बजार साइडको पुरानो नाला धेरै अघि विभिन्न ठाउँमा अतिक्रमणमा परेर ढल निकास अवरुद्ध हुनका साथै भवनहरू निर्माणसंगै पानी (ढल) निकासका वैकल्पिक मार्ग पनि विस्तारै अवरुद्ध हुँदै गएकाले डुबानको चर्को समस्याबाट ग्रस्त हुँदै आएको छ ।
लक्ष्मीनगर, परिश्रम नाली निर्माण तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुवास चन्दले भने– ‘ठाउँठाउँमा नाला अतिक्रमणका कारण पानी निकास बन्द हुँदा प्रत्येक वर्षायाममा टोलबासीले चर्को डुबानको समस्या भोग्नु परिराखेको छ ।’
पछिल्ला केही वर्षदेखि उपहानगरपालिकामा लक्ष्मीनगरटोल डुबानग्रस्त क्षेत्र बन्दै आएको छ । सो नालाको केही भाग अतिक्रमणका कारण निकै साँघुरो भएका कारण डुबानको समस्या बढ्दै गएको छ । कभर्डहल, नैनादेवी, शिवनगरसहितका क्षेत्रको पानी निकास सोही नाला भएर हुने गरेको छ ।
बर्सेनि डुबानको समस्या दोहोरिन थालेपछि नाला व्यवस्थापनका लागि पटक–पटक उपमहानगरपालिकालाई अनुरोध गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्दले बताए । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७३/७४ को योजनामा नाला व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । अध्यक्ष चन्दका अनुसार उपमहानगरपालिकाले नाला व्यवस्थापनका लागि एक लाख रुपैयाँ अनुदान दिएको छ भने ३६ हजार रुपैयाँ बराबरको जनश्रमदान रहेको छ ।
अहिले सो नालाको करिब पाँच सय मिटर लामो भागमा अतिक्रमण हटाउने र सरसफाई कार्य अघि बढाइएको छ । उपभोक्ता समिति अध्यक्ष चन्दका अनुसार सो नालाको चौडाई कम्तिमा ३० र बढीमा ६० फिट हुने छ ।
उनले नाला व्यवस्थापनका क्रममा ६/७ जनाको घरको केही भाग र पर्खाल समेत भत्काउनु पर्ने अवस्था रहेको बताए । ‘नापी सर्भेका क्रममा नालाको केही ठाउँमा अतिक्रमण भएको पाइएको छ’ उनले भने– ‘अतिक्रमण गरेका वा नाला मिचेर पर्खाल, संरचना बनाएका व्यक्ति तथा संस्थाले आफैंले पनि हटाउने प्रतिवद्धता व्यक्त गरेको बताए ।
स्थानीयले नाला सरसफाईको काम सराहनीय भएको बताए । तर, उनले स्थानीयको उठिबास नै हुने गरी नाला चौडा नगर्न अनुरोध गरे । नाला व्यवस्थापनका क्रममा ६/७ जनाको घरपर्खाल नै भत्काउनुपर्ने देखिएकाले त्यस्तो नगर्न उनीहरूले आग्रह गरे । स्थानीय भागिराम चौधरीले भने– ‘नाला चौडा गर्दा मेरो आधा घरनै भत्किने अवस्थामा छ, मेरो त उठिबास नै हुने भयो ।’ उनले आफ्नो जग्गा गए पनि घरबास नै उठिबास हुने गरी काम नगर्न आग्रह गरे ।
अर्का स्थानीय धनीराम चौधरीले नाला चौडा गर्दा उठिबास हुने गरी नगर्न अनुरोध गरे । ‘नाला व्यवस्थित नहुँदा सधै डुबान र कटानको त्रासमा बस्नु परिरहेको थियो, अब यो समस्या भोग्नु नपर्ला’ उनले भने– ‘तर नाला किनारका व्यक्तिको उठिबास नै हुने गरी काम गर्नु उचि हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार