१६ चैत्र २०८०, शुक्रबार

उपमहानगरपालिकाकै सपिङ कम्पलेक्सको निर्माण कार्य सुस्त



धनगढी । धनगढी उपमहानगरपालिकामा परिसरमा निर्माण भइरहेको सपिङ कम्पलेक्सको निर्माण कार्य सुस्त गतिमा छ । निर्माण गरिसक्ने भनी सम्झौता गरिएको समय करीब दुई महिना मात्रै बाँकी रहँदा दुई तल्ले सपिङ कम्पलेक्सको हालसम्म एक तल्ला पनि सम्पन्न भएको छैन् । सम्झौता अनुसार ठेकेदार कम्पनीले यही असारमसान्तभित्र निर्माण कार्य पूरा गरिसक्नु पर्नेछ ।
निर्माणका लागि तीन करोड २९ लाख ८५ हजारमा केएस साउँद जेबीले ठेक्का पाएको थियो
। उससँग आर्थिक वर्ष २०७२/७३ को चैतमै सम्झौता भए पनि आठ महिनापछि मात्रै काम शुरु गरेको थियो ।
स्थानीय विकास मन्त्रालय जगेडा कोषको ६० प्रतिशत र उपमहानगरपालिकाले ४० प्रतिशत बजेटबाट सपिङ कम्पलेक्स बन्न लागेको हो । १४ कोठे सपिङ कम्पलेक्सको काम कार्यतालिका अनुसार नभए स्थानीय विकास मन्त्रालयले बजेट कटौती पनि गर्न सक्ने सम्भावना हुन्छ । अहिलेसम्मको कामको अवस्था हेर्दा तोकिएको समयमा भवन निर्माण सम्पन्न हुनेमा शंका छ ।
केएस साउँद जेबीका ठेकेदार धीरेन्द्र साउँदले ठेक्का स्वीकृत भएका बेला सरियाको अभाव भएका कारण काममा ढिलाई भएको बताए । ‘वैशाख जेठमा सरिया नै पाइएन । निर्माण सामाग्री पाइएको बेला वर्षाले जग निर्माण हुने स्थिति थिएन्’ उनले भने ।
धनगढी उपमहानगरपालिकाका योजना अधिकृत एवं इञ्जीनियर द्विजराज भट्टले भने–‘मंसिरबाट काम शुरु अघि बढाएकोले यही आर्थिक वर्षमा काम सम्पन्न हुन सक्ने देखिएको छैन् ।’ ‘चालु आर्थिक वर्षभित्र गर्ने भनिएको काम सम्पन्न नभएपछि आगामी आर्थिक वर्षमा केन्द्रले बजेट काट्न पनि सक्छ,’ वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार